आज माघे सङ्क्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ। यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ।
यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो।
यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ। नेपाली उखानै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने।
तरुल खाने तरिका मानिसअनुसार फरक–फरक हुन्छ। कोही स्वादको लागि खान्छन् त कोही पेट भर्नको लागि।
कोही समय–समयमा खाइरहन्छन् भने कतिपय पर्व विशेष मानेर मात्रै खान्छन्। जसरी खाए पनि तरुल स्वास्थ्यका लागि फाइदाजनक हुने डा. शेरबहादुर पुन बताउँछन्।
जाडो मौसममा शरिरलाई अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा तरुल खानुपर्ने डा.पुन सुझाव दिन्छन्।
‘जाडोमा रोग प्रतिरक्षात्मक क्षमता कम हुन्छ। रोगसँग लड्ने तत्व तरुलमा पाइने हुनाले यो समयमा तरुल खानु आवश्यक छ,’ उनले सुझाए।
‘स्वासप्रश्वास तथा छालासम्बन्धी समस्याको लागि पनि तरुल उपयुक्त मानिन्छ। यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रियासम्बन्धि समस्याको लागि राम्रो हुन्छ।’
‘तरुलमा भिटामिन बी सिक्स प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ। यसमा पाइने एन्टीअक्सिडेन्टले क्यान्सर रोगसँग लड्न समेत सहयोग गर्छ’ उनले भने।
तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइन्छ। जसकारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा समेत लिइन्छ।
जाडोमा संक्रमण पनि बढी हुने बताउदै डा. पुनले भिटामिन, मिनरल्स तथा लवण बढी पाइने तरुलसँगै कन्दमूल तथा सखरखण्ड खानु स्वास्थ्यको लागि राम्रो हुने जानकारी दिए।