कतिपय व्यक्तिलाई घुर्ने समस्या हुन्छ। यो समस्या विश्वभर नै साझा समस्याको रुपमा रहेको पाइन्छ। ५ प्रतिशत महिला र १५ प्रतिशत पुरुषमा घुर्ने समस्या हुने विश्व स्वास्थ्य संगठनको तथ्याङकले देखाउँछ।
विशेषगरी घुर्ने समस्या महिला भन्दा पुरुषमा २ देखि ३ गुणा बढी देखिने डा.मिश्र बताउँछन्। ‘तर, महिलाको महिनावारी रोकिएपछि वा ५० वर्षभन्दा माथिका महिला र पुरुषमा भने यो समस्या समान रुपमा देखापर्छ।’ उनले भने।
यस्तो समस्या मानसिको विभिन्न क्रियाकलापसँग सम्बन्धित हुन्छ। उनकाअनुसार घुर्ने समस्यालाई केहीले आदतका रुपमा लिने गरेको पाइन्छ। याे समस्या बानीको रुपमा विकास हुनु एक प्रकारको जटिल रोग हुनसक्छ। त्यसैले, व्यक्तिको सुताइसँग सम्बन्धित यो समस्यालाई सामान्य रुपमा लिनु नहुने डा. मिश्रले सुझाए
लक्षणहरु
राति निस्सासिएर उठ्नु
थकान महसुस हुनु
छिन—छिनमा पिसाब लाग्नु
बिहान फ्रेस नहुनु टाउको दुख्नु
कारण के?
मोटोपन (पुरुषको हकमा १७ इन्च र महिलाको हकमा १६ इन्चभन्दामाथि)
सुगर/प्रेसर रोग
असहज सुताईं
धुम्रपान तथा मद्यपान सेवन
टन्सिल ठूलो हुनु आदी।
रोकथामका उपाय तथा उपचार
विशेषगरी घुर्ने समस्या उमेर ५० नाघेको, घाँटीको चौडाइ ठूलो भएको र पुलिंग ब्यक्तिहरुमा बढी देखापर्छ।
यी कारणहरुमध्ये कुनै ३ कारण मात्रै साझा रुपमा देखिएमा ती व्यक्तिले फोक्सो रोग विशेषज्ञसंग परामर्श लिनुपर्छ।
उल्लेखित लक्षण देखापरेको छ वा छैन भन्ने विषयमा ‘स्लिप स्टडी’ गर्नुपर्ने डा. मिश्रको सुझाव छ।व्यक्तिमा घुर्ने समस्या के कारण देखापरेको हो त्यस विषयमा अध्ययन गर्नु ‘स्लिप स्टडी’ हो।
यसैगरी घुर्नबाट बच्न ‘सर्जिकल थेरापी’ गर्न सकिने डा. मिश्रले जानकारी दिए। यदि घुर्ने समस्या शरीरको कुनै पनि अंगको असहजताको कारण देखा परेको छ भने शल्यक्रियामार्फत निराकरण गर्न सकिन्छ।
यो समस्याबाट छुटकारा पाउन आफ्ना बानि सुधार्नु अर्को उपाय हो। यसअन्तर्गत घुर्ने व्यक्तिले आफ्नो तौल घटाउने, लागू औषध तथा नशायुक्त औषधिको सेवन नगर्ने, धुम्रपान र मद्यपानबाट टाढा रहने, सुत्दा दाहिने वा देब्रे कोल्टो परेर सुत्ने।
यी उपाय अपनाउँदा पनि घुर्ने समस्या देखिएमा तुरुन्त चिकित्ससँग परामर्श लिनुपर्ने डा. मिश्रले सुझाए।
'सिप्याप मेसिनको प्रयोग गर्न पनि सकिन्छ। विशेषगरी घुर्ने समस्याका व्यक्तिलाई लक्षित मेसिन नै ‘सिप्याप मेसिन’हो।'
उक्त मेसिनले व्यक्तिको श्वास फेर्ने नलीलाई खुल्ला राखी खुम्चिनबाट बचाउँछ। अक्सिजनको कमी भएको बखत यस्ता समस्या देखा पर्नसक्ने भएकाले यो मेसिन सुत्ने बेलामा नाकमा राखेर सुतिन्छ। यसले व्यक्तिलाई आवश्यक अक्सिजनको प्रवाह गरी घुर्न समस्या रोक्छ।