हाड जोर्नीको समस्या (आर्थराइटिस) कुनै चोट—पटक, वाथ रोग तथा अन्य रोगको कारणले जोर्नी खिइदै गएर देखापर्ने समस्या हो।
कतिपयलाई यो समस्याले असह्यय पीडा भइरहेको हुन्छ। अझै जाडो मौसममा हाड जोर्नीको समस्याले बढी सताउँछ।
हाड जोर्नीको दुखाईबाट पहिले नै ग्रसित भएकाहरुलाई अन्य समयको तुलनामा चिसोको समयमा बढी दुखाइ महशुस हुने डा. विनोद शेरचन बताउँछन्।
‘चिसोकै कारणले यो समस्या निम्तिन्छ भन्ने होइन, तर दुखाइ भने बढ्छ’, उनले भने ‘जाडोको बेला हाड जोर्नी दुखाइको कारणले अस्पताल आउने वृद्ध बिरामीको संख्या ५० प्रतिशतले बढ्ने गरेको देखिन्छ।’
गर्मी मौसमको तुलनामा जाडोको समयमा चिसोको कारण दुखाइ महसुस गर्ने स्नायुहरू बढी सक्रिय तथा संवेदनशील हुँदा दुखाइ बढ्ने डा. शेरचनले बताए।
‘चिसोको बेला वायुमण्डलीय दबाव न्यून हुनाले जोर्नी तथा मांसपेशीमा सहजै सुजन हुने गर्दछ। यसकारण दुखाइ पनि वृद्धि भएर जान्छ। यससँगै यो समयमा मांसपेशी तथा जोर्नीहरूमा ऐठन बढी मात्रामा हुँदा दुखाइमा वृद्धि हुन्छ।’
जाडोयाममा हातगोडाहरूमा तुलनात्मक रूपमा रक्तसञ्चारमा कमी हुनाले पनि दुखाइ बढ्ने डा. शेरचनले जानकारी दिए।
‘जाडोको बेला दिन छोटो र रात लामो हुन्छ। जसकारण सुर्यको किरण पर्ने समय छोटिदा शरीरमा भिटामिन—डी को मात्रा कमी हुँदा हाड जोर्नीको दुखाइ बढ्छ’ उनले भने।
कसरी बच्ने?
हाड जोर्नीको दुखाइबाट बच्न सामान्य कुरामा ध्यान दिन जरुरी हुन्छ।
डा. शेरचनकाअनुसार शरीर न्यानो हुने कपडा लगाउने, तातो तथा झोलिलो खाना प्रशस्त मात्रामा खाने र शारीरिक रूपमा सक्रिय रहने क्रियाकलाप गरिरहेमा यस्तो समस्या दूर नै रहन्छ। साथै हाड जोर्नीको समस्याबाट बच्न पारिलो घाममा बस्ने, भिटामिन—डी तथा पोषणयुक्त खान आवश्यक छ।
यी उपाय अपनाउँदा पनि दुखाइ कम नभएमा चिकित्सकको सल्लाहअनुसार औषधीको सेवन गर्नुपर्ने डा. शेरचनले सुझाए।