अहिले नोभेल कोराेना भाइरसबारे जताततै चर्चा चुलिएको छ। नोभेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो। जुन चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो।
चीनबाट फैलिएको कोराेना भाइरसले अहिले विश्वलाई त्रसित बनाएको छ। यसबारे आममानिसमा विभिन्न किसिमका प्रश्नहरू समेत उब्जिएका छन्ः कोराेना भाइरस कस्तो भाइरस हो? यसबाट कसरी बच्ने र कोरोना भाइरसको हालको स्थिति कस्तो छ? आदि।
कोराेना भाइरसका बारेमा नेपालमा पर्ने असर, यसबारे आम मानिसलाई कसरी सुसूचित गर्ने लगायतका विषयमा छलफल गर्न आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसख्यामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायतको बैठक बसेको थियो।
चीनको कोरोना भाइरस संक्रमित क्षेत्रमा रहेका नेपाली नागरिक एवं विद्यार्थीहरूले यस्ता विषयबारे बुझ्न चाहे चीनस्थित नजिकमा रहेको नेपालको कूटनीतिक नियोगमा सम्पर्क राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
नेपाली दूतावास बेइजिङ, नेपाली महावाणिज्य दूतावासहरू ग्वान्जाओ, हङकङ, ल्हासामा रहेका नेपाली नियोगहरूमा २४सै घण्टा सम्पर्क गरी कोरोना भाइरसबारेमा आवश्यक सूचना लिन सकिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। साथै साङ्घाईस्थित महावाणिज्यदूतसँग समेत सम्पर्क राख्न सकिने बताइएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासले वुहानमा रहेका नेपाली विद्यार्थीहरूसँग ‘वि च्याट’ समूह खडा गरी निरन्तर सम्पर्कमा रहेर उनीहरूको अवस्थाबारे बुझेको मन्त्रालयको भनाइ छ।
यसमा समावेश हुन नसकेका व्यक्तिहरूले नेपाली राजदूतावाससँग सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सूचित गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा विदेशबाट आउने सबै यात्रुहरूको निगरानीका लागि उपकरण र चिकित्सक सहितको हेल्थ डेक्स २४ सै घण्टा सञ्चालनमा ल्याइएको प्रवक्ता श्रेष्ठले बताए।
यससँगै मंगलबार पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले कोराेना भाइरसबारे कुनै पनि जानकारी वा सूचना आवश्यक परेमा नेपाल पर्यटन बोर्डमा सम्पर्क गर्न सक्ने निर्णय गरेको छ।
कोरोना भाइरसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतनाबारे मन्त्रालय अन्तर्गतका निकायबाट भएका काम कारबाहीको समीक्षा गर्न बसेको बैठकले त्यस्तो निर्णय गरेको हो।
साथै, मुलुकको अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ चेक डेस्कका लागि आवश्यक स्थान उपलब्ध गराउने, विशेषगरी चीनबाट आएका पर्यटकमा यस भाइरसको संक्रमणको अनुमान गर्न सकिने कुनै पनि लक्षण देखिएमा होटल, ट्राभल/ट्रेकिङ एजेन्सी लगायतका सरोकारवालाबाट यथाशिघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था मिलाउने निर्णय गरिएको छ।
त्यस बैठकले नेपाल आउने हवाई जहाजहरू अवतरण गर्नुपूर्व यात्रुलाई ‘डेडिकेटेट हेल्थ चेक डेक्स’मा गई आधारभूत जाँच गराउन घोषणा गर्ने व्यवस्था तथा विश्व स्वास्थ्य संगठनले तोकिएको मापदण्ड बमोजिमको समयमा एयरक्राफ्ट डिसइन्फेक्सन गर्ने व्यवस्था त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले तत्काल मिलाउने निर्णय पनि गरेको छ।
नेपालमा स्थलमार्गबाट पर्यटक प्रवेश गर्ने स्थानहरू खासगरी रसुवा, यारीनाका लगायत उत्तरी सीमा नाकाहरू समेतमा उल्लेखित सतर्कता र पूर्वसावधानी अपनाउने, भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल आइसोलेसमा राख्नुपर्ने भएकाले त्यस सम्बन्धमा पूर्व सावधानीसाथ कार्य गराउने लगायतका १३ वटा निर्णय उक्त बैठकले गरेको हो।
सीमा क्षेत्रमा आवत/जावत गर्दा यस रोगबाट सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ।
यस अवस्थामा कोरोना भाइरस प्रसारणको जोखिमबाट जोगिन स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको सुरक्षाका उपाय अवलम्बन गर्न सर्वसाधारणमा आग्रह गरिएको छ।
स्वास्थ्य मन्त्रालयकाअनुसार हाल त्रिभुवन विमानस्थलमा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ।
चीन तथा कोरोनाका संक्रमित बिरामी भेटिएका देशबाट नेपाल आउने यात्रुसँगै भाइरस भित्रिन सक्ने खतरा बढेपछि विमानस्थलमा शंकास्पद बिरामीलाई सिधै अस्पताल पुर्याउन एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
विमानस्थलमा थर्मल स्क्यानर पनि सञ्चालनमा ल्याइएको छ।
स्क्यानरले विमानस्थलमा यात्रुको अटोमेटिक ज्वरो परीक्षण गर्छ। विश्व स्वास्थ्य संगठनको समन्वयमा ल्याइएको त्यस स्क्यानरबाट गत शुक्रबारदेखि यात्रुको ज्वरो नाप्न थालिएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विमानस्थलमा यस्तो निगरानी बढाइएको हो।