गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेरिटोनाइटिस्ट भएको थियो। महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० दिनसम्म राखेर उनको उपचार भएको थियो। प्रधानमन्त्री ओली यो समस्याबाट पूर्णरूपमा मुक्त भइसकेका छन्।
पेरिटोनाइटिस्टको खतरा र यसको उपचारमा केन्द्रित रहेर हामीले त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन तथा ग्यास्ट्रोइन्टेसटाइनल प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीसँग कुराकानी गरेका छौं। डा भण्डारीले प्रधानमन्त्री ओलीको उपचारको नेतृत्व समेत गरेका थिए।
पेरिटोनाइटिस्ट के हो?
पेटको सबैभन्दा भित्रको तहलाई पेरिटोनियम भनिन्छ। जसले हाम्रा सबै आन्द्रा तथा पाचन प्रणालीसँग सम्बन्धित कलेज, प्यान्क्रियाज सबैलाई बेलुनले जस्तै घेरेर राखेको हुन्छ।
पेरिटोनियममा कुनै पनि कारणले संक्रमण भयो भने यसलाई पेरिटोनाइटिस भनिन्छ। पेरिटोनाइटिस्ट जुनसुकै कारणले पनि हुनसक्छ।
पेरिटोनाइटिस्ट के कारणले हुन्छ?
धेरैलाई पेरिटोनाइटिस्टको एपेन्डिक्स बिग्रिएर, फुटेर वा कुहिएर हुन्छ। सबैतिर फैलिएर पेरिटोनियममा छोएर पिरिटोनाइटिस्ट हुन्छ। त्यसबाहेक पेप्टिक अल्सर, ग्याष्ट्रिक अल्सरहरू बिग्रिएर आन्द्रा फुट्ने भयो भने पनि पेरिटोनाइटिस्ट हुन्छ। आन्द्राको कुनै पनि भागमा संक्रमणले अथवा ट्युमरले आन्द्रा फुट्न सक्छ।
आन्द्रा नफुटी पनि संक्रमण हुनसक्छ। कहिलेकाहीँ कलेजो बिग्रिएर तथा किड्नीका बिरामीमा पेरोटोनियमभित्र पानी जम्ने हुन्छ। पानी जम्यो भने पनि संक्रमण हुनसक्छ। त्यसलाई पनि हामी पेरिटोनाइटिस्ट भन्छौं।
यो किन खतरनाक छ?
यो एकदमै 'सर्जिकल इमर्जेन्सी' हो। हृदयघातजस्तै आकस्मिक हो। आकस्मिक किन हो भने समयमै यसलाई नियन्त्रण गर्न सकिएन भने संक्रमण चाँडै रगतमा फैलिन्छ। रगतमा फैलिएपछि त्यसको असर अरू अंगमा पनि छुन्छ। मुटु, छाती, श्वासप्रश्वास र मिर्गौला सबैतिर छुन्छ।
त्यसपछि ती अंगको काममा असरमात्र पर्दैन, कामै गर्न पनि छोड्छन्। समयमै उपचार गरेन भने २४ देखि ४८ घन्टामा बिरामीको अरू अगंले काम गर्न छोडेर ज्यानसम्म जाने खतरा हुन्छ।
लक्षण के-के हुन्छन्?
यो आफैंमा आकस्मिक अवस्था हो। यस्तो अवस्था आउनुअगाडि एपेन्डिक्स फुटेर भएको छ भने एपेन्डिक्सका लक्षण आउँछन्। बिरामीको पूरै पेट बेस्सरी दुख्ने, बान्ता हुने अनि बिरामीलाई ज्वरो आउने श्वासप्रश्वास चाँडो-चाँडो हुनेलगायत समस्या देखिन थाल्छन्। पेट दुख्नेमात्रै होइन हल्लिँदा, खोक्दा पनि दुख्ने हुन्छ।
लामो समय ग्याष्ट्रिक अल्सर भएका बिरामीलाई पनि यस्तो लक्षण देखिन्छ। ६-८ घन्टामा पेट बेसरी दुख्ने, बिरामीको श्वासप्रश्वास बढ्ने तथा हल्लिँदा छुँदा दुखाइ बढ्छ भने बिरामी एकदमै सिकिस्त देखिने हुन्छ। यति भइसकेपछि बिरामीलाई कुनै चिकित्सकले हेर्यो भने पेरिटाइटिस्ट भएको भन्न गाह्रो पर्दैन।
उपचार कसरी गरिन्छ?
सबैभन्दा पहिला पेटमा भएको संक्रमण हटाउनु पर्छ। अनि कारण खोजेर उपचार गर्नुपर्छ। जब बिरामी इमर्जेन्सीमा आउँछन् जतिसक्दो चाँडो भर्ना गरेर हामीले एन्टिबायोटिक्स दिन्छौं र अपरेसन पनि सुरू गरिहाल्छौं। यस्तो बेलामा पेट खोलेर पानीले सफा गरेर भित्रको संक्रमण हटाउनु पर्छ।
त्यसबाहेक के कारणले यो भएको हो भनेरसमेत परीक्षण गर्नुपर्छ। एपेन्डिक्स फुटेर भएको हो भने यसलाई झिकेर फाल्नुपर्छ भने अल्सर बिग्रिएर भएको हो भने त्यसलाई टाल्नुपर्छ। आन्द्रामा क्यान्सरले गर्दा भएको छ भने त्यो भागलाई काटेर फाल्नुपर्छ। चोट लागेको हो भने चोट लागेको ठाउँमा सिलाउने अथवा त्यसलाई टाल्ने काम गर्नुपर्छ।
त्यसबाहेक संक्रमणबाट जोगाउन कडाभन्दा कडा एन्टिबायोटिक राखेरसमेत उपचार गरिन्छ। कुन अवस्थामा बिरामी आइपुगेको छ भन्ने कुराले पनि उपचार पद्धति निर्धारण गर्छ। जति चाँडो बिरामी आइपुग्यो त्यति चाँडो निको पार्न सकिन्छ। बिरामी एकदमै ढिला आयो अपरेसन गरिसकेपछि बिरामीको अवस्था कमजोर हुन सक्छ। त्यसको असर अरू अगंमा गएको हुन सक्छ।
त्यस्तो अवस्थामा अपरेसन गरिसकेपछि पनि ढिलो आएको कारणले गर्दा बिरामीलाई धेरै दिनसम्म आइसियूमा राख्नपर्ने हुन्छ भने कहिलेकाहीँ मेसिनमा राख्नु पर्ने अरू जटिल खालको उपचार पनि गर्नु पर्ने हुन्छ।
यो एकदमै 'आपतकालिन' भएकाले जतिसक्दो चाँडो उपचार गर्नुपर्छ। पहिलादेखि डाइविटिजलगायत दीर्घरोगका औषधी खाने किड्नी, लिभरको रोग भएका बिरामीमा यो भयो भने झन् सिकिस्त हुन्छन्। कहिलेकाहीँ बिरामी ढिलो आयो भने उपचारसमेत कठिन हुन्छ। यस्तो अवस्थामा उपचार गरेर पनि राम्रो हुन नसक्ने सम्भावना रहन्छ।
रोकथाम कसरी गर्न सकिन्छ?
यसको रोकथामै गर्न त गाह्रो हुन्छ। के कारणले गर्दा भएको हो भन्ने पत्ता लगाउनु पर्छ। एपेन्डिसाइटिस, पेप्टिक अल्सर बिग्रिएर भएको हो भने यस्ता खालका रोगलाई बेलैमा उपचार गर्नुपर्छ। अपरेसन गर्ने हो भने अपरेसन गर्ने तथा औषधीले हुन्छ भने समयमै औषधी खानुपर्छ। ग्याष्ट्रिक, अल्सर बिग्रिएको छ भने यसलाई समयमै उपचार गर्न सक्यो भने रोकिन्छ। तर पेरिटोनाइटिस्ट भइसकेको छ भने जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्छ। यसको उपचार आकस्मिक कक्षमै राखेर गर्नुपर्छ। समयमै उपचार भयो भने यसबाट हुने जोखिम पनि कम हुन्छ।