घामबाट आउने विकिरण (युभिए एन्ड युभिबी)ले छालामा प्रत्यक्ष असर पार्छ। यसले छाला डढाउनेदेखि (अर्लि एजिङ सनबर्न) छालाको क्यान्सर समेत गराउनसक्ने छाला तथा सौन्दर्य विशेषज्ञ डा. उमा क्याल बताउँछिन्।
घामको विकिरण कारण हुने समस्याबाट छालालाई सुरक्षित राख्न सन्सक्रिनको किन्न जान्नुपर्ने डा. क्यालको भनाइ छ।
युभिए नामक विकिरण हाम्रा घरको शिशाका झ्याल/ढोकाबाट सजिलै प्रवेश गर्नसक्छ। जसबाट छालालाई बँचाउन अनुहार, घाँटीलगायतका शरीरका खुल्ला भागमा सन्सक्रिन लगाउनुपर्छ’ उनले भनिन्।
अझै घर/अफिस/रेस्टुरेन्टभित्र हुने विभिन्न उपकरणहरुः टिभी, मोबाइल, कम्प्युटरको स्क्रिनले युभिए एन्ड युभिबी जस्ता विकिरणहरु फालिरहेका हुन्छन्। साथै ‘लाइट एन्ड ल्याम्प’बाट पनि यस्ता विकिरणहरु निस्किन्छ। यसकारण घरभित्र वा बाहिर यी विकिरणबाट बँच्न सन्सक्रिनको प्रयोग गर्नुपर्छ।
‘बादल लागेको वा पानी परेको दिन सन्सक्रिन लगाउनुपर्दैन भन्ने सोच गलत हो’ उनले भनिन् ‘यस्ता विकिरण बादलबाट पनि सजिलै हामीमाझ आइपुग्छ।’
बजारमा विभिन्न किसिमका सन्सक्रिन उपलब्ध छन्। एकै प्रकारका सन्सक्रिन सबैलाई उपयुक्त नहुनसक्छ। त्यसैले आफ्नो छालाको किसिम र आफू बसेको वातावरणअनुसार सन्सक्रिम प्रयोग गर्नुपर्ने डा. क्यालले सुझाइन्।
सन्सक्रिन किन्दा मुख्य ३ कुरामा ध्यान दिनुपर्छ।
१. एपिएफ (एसियन एडल्ट पपुलेसन) लाई एसपिएफ ३० देखि ५० उपयुक्त हुन्छ। आफनो छालामा चायाँ पोतो अथवा अरु कुनै दाग/धब्बा नरहेको खण्डमा एसपिएफ ३० र त्यस्ता समस्या छ भने एसपिएफ ५० को सन्सक्रिन किन्दा राम्रो हुने डा. क्यालले जानकारी दिइन्।
२. सन्सक्रिनको वट्टामा पिएप्लस, पिएप्लसप्लस र पिएप्लसप्लसपल्स लेखेको हुनुपर्छ। यी मध्ये पिएप्लसप्लसप्लस लिँदा उत्तम हुन्छ।
३. फर्मुलेसनः सन्सक्रिन मुख्य तीन प्रकारको फर्मुलेसनमा पाइन्छ। जेल, लोसन अथवा क्रिम। सुख्खा छालामा क्रिम, चिल्लोमा जेल र सामान्य छालामा लोसनको प्रयोग गर्न उपयुक्त हुन्छ।
‘छालाको प्रकृति मौसमअनुसार परिवर्तन हुनसक्छ। गर्मी महिनामा चिल्लो देखिने छाला जाडोमा सुख्खा हुनसक्छ। त्यसैले सन्सक्रिन किन्दा यी कुरामा ध्यान दिनुपर्छ’, उनले भनिन्।
एकपटक लगाएको सन्सक्रिनले बढीमा ३ देखि ४ घण्टासम्म मात्र काम गर्छ। त्यसैले सकेसम्म हरेक ३ देखि ४ घण्टामा दोहोर्याएर लगाउनु पर्दछ। यसरी घामबाट आउने चाँया पोतो कालोपन एवं बुढेसकालमा आउने कोठिबाट आफ्नो छालालाई जोगाउन सकिन्छ।