‘म छु र हुनेछु’- क्यान्सरको प्रभाव न्यूनीकरणमा म प्रतिबद्ध छु र हुनेछु भन्ने नाराका साथ आज फ्रेबुअरी चार, विश्व क्यान्सर दिवस, संसारभरिका सबैजना ऐक्यवद्धरूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ।
सन् २०१९-२०२१ सम्मको लागि तय गरिएको यो नाराको आज हामी मध्य भागमा छौं। गंगटोले खुट्टा फैलाएजस्तै गरी सबैतिर आफ्नो तन्तु फैलाउने हुनाले यसलाई क्यान्सर भनिएको हो जसको अर्थ ग्रिक भाषामा गंगटो हुन्छ।
परापूर्वकालदेखि मानिसलाई सताउँदै आएको मानिए पनि विगत केही शताब्दीदेखि मात्र यसको पहिचान, रोकथाम र उपचारमा ज्ञान बढ्दै गएको छ। मानिसको औसत आयु बढेसँगै क्यान्सरको व्यापकता पनि बढ्दै गएको छ किनभने बढ्दो उमेरसँगै क्यान्सरको जोखिम बढ्दै जान्छ।
क्यान्सर रोग (अबुर्द रोग) लागेका धेरैजसो बिरामीमा निको हुँदैन भन्ने आमधारणा रहेको पाइएकाले जनचेतना, शिक्षा, समयमै उपचार जस्ता माध्यमबाट वर्षेनि लाखौं मृत्यु रोक्न सकिन्छ भन्ने उद्देश्यका साथ सन् २००० मा आजकै दिनमा पेरिसबाट विश्व क्यान्सर दिवसको सुरूआत गरिएको हो।
आफ्नो जीवनकालभरिमा ५ मध्ये १ पुरुष र ६ मध्ये १ महिलालाई क्यान्सर रोग लाग्ने विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ।
माथि उल्लेख गरेजस्तै कटिबद्ध भइ लागेको खण्डमा हरेक मानिसले क्यान्सरको न्यूनीकरणमा देन दिन सक्छ। धुम्रपान, मध्यपान, पान-सुर्तिको सेवनबाट टाढा रहेर फोक्सो, कलेजो र मुखको क्यान्सरबाट बच्न सकिन्छ।
यो बाहेक यी अम्मलले अन्य क्यान्सरको जोखिम पनि बढाउँछ। सरसफाइको कमीले हुने ब्याक्टेरिया (हेलिकोब्याक्टर पाइलोरि) को संक्रमण, खाँदेको बासी अचार, डढेको खानाले पेटको क्यान्सर हुने संभावना छ। अपर्याप्त व्यायाम, रातो मासुको अत्यधिक सेवनले आन्द्राको क्यान्सरको जोखिम बढाउँछ।
पाठेघरको मुखको क्यान्सर नेपाली महिलामा हुने प्रमुख क्यान्सर हो जुन एक किसिमको भाइरस (ह्युम्यान प्यापिलोमाभाइरस) को संक्रमणले हुन्छ तर किशोरी अवस्थामै ह्युम्यान प्यापिलोमाभाइरस खोप लगाएर यो क्यान्सरबाट बच्न सकिन्छ।
नेपालमा पाइलोट प्रोजेक्टका रूपमा केही जिल्लामा यो खोप सुरू भइसकेको छ र शिघ्र सबै जिल्लामा यो उपलब्ध हुने आशा छ।
हाललाई भने यो खोप किनेर लगाउन सकिन्छ। त्यस्तै बच्चाहरूको खोपमा समावेश गरिएको हेपाटाइटिस बि खोपले कलेजोको क्यान्सर न्यूनीकरणमा योगदान गर्छ।
विश्वको कुल क्यान्सरको करिब १०% हिस्सा रक्तक्यान्सर वा रगतको क्यान्सरले ओगट्छ। अन्य क्यान्सरको तुलनामा रक्तक्यान्सरको लक्षण, स्टेज, उपचार विधि र नतिजा फरक हुन्छ, त्यस्तै अन्य क्यान्सर र रक्तक्यान्सरको उपचार गर्ने चिकित्सक पनि फरक हुन्छन्।
यस आलेखमा रक्तक्यान्सरको बारेमा केही जानकारी बाँड्ने कोशिस गरेकी छु।
रगत बनाउने कोषहरूमा सुरू हुने क्यान्सरलाई रक्तक्यान्सर भनिन्छ। थकाइ लाग्ने, रातिमा पसिना आउने, हड्डी दुख्ने, जिउमा राता-निला धब्बा आउने, ज्वरो आइराख्ने, गाँठागुठी आउने जस्ता लक्षण रक्तक्यान्सरमा देखापर्छन्। रक्तक्यान्सर विभिन्न थरिका हुन्छन्, केहीको उपचार सरल छ भने केहीको उपचार जटिल हुन्छ, केही रक्तक्यान्सरलाई तत्काल उपचारको आवश्यकता नपर्न पनि सक्छ।
विज्ञानको उपलब्धिसँगै यसको उपचारमा द्रूत प्रगति भैरहेको छ, हिजो ज्यानै लैजाने केही रक्तक्यान्सर आज ट्याबलेटको माध्यमबाट सजिलै उपचार हुन्छन्।
यसको उपचारमा प्रभावकारी पद्दति र औषधि (टार्गेटेड थेरापी) उपलब्ध छन् र नयाँ नयाँ पद्दति र औषधिको आविष्कार हुने क्रम पनि जारी नै छ। टार्गेटेड थेरापीले क्यान्सरका कोषिकालाई टार्गेट गरेर काम गर्ने हुनाले यसको साइड इफेक्ट कम हुन्छ।
त्यस्तै बोन म्यारो प्रत्यारोपण उपचारको महत्वपूर्ण अंग हुनसक्छ। यसलाई रगत फेर्ने भनेर पनि बुझ्ने गरिएको छ। बोन म्यारो प्रत्यारोपण गर्दा बिरामीको रगत किमो वा विकिरणले नष्ट गरिन्छ र मुना रगत चढाइन्छ।
रोगको प्रकृति हेरेर बोन म्यारो स्वयं बिरामी वा खास किसिमको डिएन मिल्ने व्यक्ति (नातेदार वा अन्य कोही) को चढाइन्छ। बोन म्यारो दान गर्दा दातालाई कुनै किसिमको जोखिम हुँदैन- यो रगत दान जस्तै गरी दान गर्ने हो।
यो अंग दानमध्येकै सबभन्दा सरल दान हो। हामी जो कोही पनि बोन म्यारो रजिष्ट्रिजमा आफूलाई आबद्ध गरेर बोन म्यारो दान गरी कसैको ज्यान बचाउन सक्छौं।
नेपाल सरकारले क्यान्सरको बिरामीको उपचारमा १ लाख बराबरको सहयोग उपलब्ध गराउँदै आएको छ। त्यस्तै म्याक्स फाउण्डेसन नामक संस्थाले केही रक्तक्यान्सरको उपचारलाई सित्तैमा औषधि वितरण गर्दै आएको छ, जुन प्रभावकारी र सह्रानीय छ। ठूलो संख्यामा नेपाली बिरामी भारतको निजी अस्पतालमा उपचार गराइरहेका छन्। अपबाद बाहेक रक्तक्यान्सरको सबै उपचारको पद्दति (बोनम्यारो प्रत्यारोपण लगायत) नेपालमा नै उपलब्ध छन्। त्यसैले सकी/नसकी ठूलो धनराशी खर्चेर विदेश जानुपर्ने बाध्यता भने हामी माझ छैन।
तथापी रक्तक्यान्सरको बारेमा सबैलाई जानकारी गराउन,लक्षित वर्गसम्म सहयोग सहुलियत पुर्याउन र उपचार पद्दतिलाई अझ प्रभाकारी बनाउन सम्बन्धित सबैको ध्यान जान जरुरी छ।
आफ्नै काबुमा रहेको क्यान्सर निम्त्याउने तत्वबाट टाढा रहने, उपलब्ध खोप लगाउने, समय-समयमा जाँच गराउने, केही समस्या देखिएमा चिकित्सकको परामर्श लिने लिनुपर्छ।
सकारात्मक सोच र आत्मविश्वास उपचारका महत्वपूर्ण पक्ष हुन् र यो हामी सबैमा हुन जरुरी छ।