एपेन्डिक्स ‘वेस्टिजियल’ (शरीरलाई काम नलाग्ने) अंग हो। यो ठूलो आन्द्राको पुछारमा हुन्छ। यही अनावश्यक अंगले कतिपयलाई दुख दिइरहेको हुन्छ।
७ देखि १० सेन्टिमिटरसम्मको लम्बाई हुने एपेन्डिक्स विशेषगरी १० देखि ३० वर्षको उमेर समूहकालाई बढी हुने गर्छ।
दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ। यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो।
इन्फेक्सन भएमा वा एपेन्डिक्समा केही अड्किनाले एपेन्डिक्स सुनिन्छ। डाइटमा फाइबरयुक्त पदार्थको कमीले समेत एपेन्डिक्स सुनिन्छ।
आंतको क्यान्सर पनि एपेन्डिसाइटिसको एक कारण हो।
लक्षण
एपेन्डिसाइटिसको प्रमुख लक्षण पेटको दाहिने भागमुनि पटक–पटक दुख्नु हो। यो दुखाई सुरुवातामा नाइटोको वरपरबाट शुरु भइ पेटको दाइने भागसम्म पुग्छ।
एपेन्डिसाइटिस भएका व्यक्तिको दुखाइ सामान्यदेखि असह्य पीड़ादायिक हुन्छ। यस्ता बिरामीले खोक्दा र हाँस्दा बढी दुख्छ।
गर्भवती भएकालाई एपेन्डिक्स भएमा माथिल्लो पेटमा बढी दुखाइको महशुश हुन्छ।
यससँगै पेट दुख्ने बाहेक पेट फुल्ने, वान्ता हुने, अपच, छट्पट हुने, भोक नलाग्ने, कब्जियत भइ रगत देखापर्ने, पिसाब पोल्ने हिंड्नलाई समस्या हुने लगायतका लक्षण देखापर्छ।
लक्षण देखिए के गर्ने?
एपेन्डिक्सलाई लापर्वाही गरेमा विभिन्न जटिलता निम्तिनसक्छ। त्यसैगले एपेन्डिसाइटिसको संकेत देखिने बित्तिकै तुरुन्त परीक्षण गराउनुपर्छ।
एपेन्डिसाइटिस हो/होइन रगत परीक्षण, यूरिन टेस्ट र सोनोग्राफी गराउन आवश्यक हुन्छ। जरुरी परेमा सीटी स्क्यान र एमआरआई समेत गर्नुपर्छ।
स्थाई रुपमा एपेन्डिक्सबाट छुटकारा पाउन अप्रेशन नै गर्नुपर्छ। अप्रेशन गरेर एपेन्डिक्स निकालिन्छ।
अप्रेसन दुई तरिकाको हुन्छःओपन सर्जरी र लेप्रोस्कोपिक दूरबीन पद्धति। यी दुई पद्दतिमा जुन तरिका पनि अपनाउन सकिन्छ।
पछिल्लो समय लेप्रोस्कोपिक विधि बढी चलनमा छ। यसबाट सानो–सानो चिरा पारेर अप्रेसन गरिन्छ।
यो पद्धतिबाट अप्रेशन गर्दा दुखाई कम हुन्छ भने औषधिको प्रयोग पनि कम लाग्छ। यससँगै चाडै निको समेत हुन्छ।
कुन पद्धतिबाट उपचार गर्ने चिकित्सकले विरामीको स्वास्थ्य अवस्था र उमेरअनुसार सुझाव दिने गर्छन्।
अप्रेशन नगरिए एपेन्डिक्स पटक–पटक सुन्निने खतरा हुन्छ। साथै फुट्ने सम्भावना समेत हुन्छ।
एपेन्डिक्स फुट्दा इन्फेक्सन पुरै पेटमा फैलिन्छ जसले ज्यान समेत जानसक्छ। त्यसकारण एपेन्डिक्सका लक्षणबाट सचेत हुन जरुरी छ।
एजेन्सी