सरुवा रोगमध्ये एक हो, दाद। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दाद एकबाट अर्काे व्यक्तिमा सर्दछ। संक्रमित व्यक्तिसँग सम्पर्क राखेमा दाद प्रत्यक्ष रुपमा सर्छ भने संक्रमित व्यक्तिको साबुन, कपडा, तौलिया लगायतका वस्तुको प्रयोगबाट अप्रत्यक्ष रुपमा सर्छ।
माइक्रोस्पोरम, एपिडमोफाइटन र ट्राइकोफाइटन जस्ता सुक्ष्म जिवाणुको संक्रमणका कारण छालामा दाद देखापर्ने बताउँछिन्, डा. प्रमिसा खरेल।
दाद सबैभन्दा बढी काखी, अनुहार, खुट्टा, काँछ र शरीरका भागहरुमा देखापर्छ।
डा. प्रमिसा खरेलकाअनुसार शरीरका विभिन्न भागमा आउने दाद फरक–फरक प्रकारका हुन्छन्। ती हुन्ः ‘टिनिया क्यापिटिस’ (टाउकोमा आउने दाद), ‘टिनिया क्रिउरिस’ (काँछमा देखिने दाद), ‘टिनिया करपोरिस’ (जिउमा आउने दाद), ‘टिनिया पेडिस’ (खुट्टामा देखिने दाद) आदी।
दादका लक्षणहरु
दादको प्रमुख लक्षण शरीरको विभिन्न भागमा गोलो आकारको घाउ देखापर्नु हो। दाद आएपछि छाला बाक्लो हुने, कत्ला निस्किने, चिलाउने र फोका उठ्ने हुन्छ।
साथै, छाला निस्कने, फुस्रो हुने, कालो हुने र कन्याउँदा घाउ भई संक्रमण हुन्छ। कपालमा संक्रमण भएमा कपाल आफै झर्नुका साथै कपालमा चायाँ बढ्दै गई घाउ देखापर्छ।
दाद आउने कारणहरु
गर्मी मौसम वा सुख्खा मौसममा अत्याधिक पसिना आउनु, मोटोपना दादका कारण हुने डा. खरेलले बताइन्। साबुन, रुमाल, ओछ्यान र कपडाको साझा प्रयोग गर्नु पनि दादको कारण हुनसक्छन्।
विभिन्न पदार्थको सम्पर्कबाट दाद देखापर्छ। मानिसको जिनमा हुने समस्या तथा एलर्जिक अवस्थाका कारण छालामा दाद आउँछ। शरीरमा हुने रसायन परिवर्तन हुँदा पनि विभिन्न दाद देखापर्ने डा. खरेलले प्रष्टाइन्।
बाहिरी वातारणमा रहेका विभिन्न पदार्थ जस्तैः केही धातु, कपालमा लगाउने रङ, सिमेन्ट, फूलमा हुने रसायन आदीको सम्पर्कमा आउँदा समेत दादको समस्या हुन्छ।
तनावले पनि दाद देखापर्छ। अत्यधिक तनावले जिनमा प्रभाव पारी छालामा अनावश्यक फोका आउने डा. खरेलले बताइन्।
कसरी गर्ने उपचार?
दादका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गरिहाल्नुपर्ने डा. खरेलले सुझाव दिइन्। जसमा ‘केओएच’ परीक्षण गरिन्छ।
यसअन्र्तगत छालाको माथिल्लो तहमा खुर्केर माइक्रोस्कोपमार्फत संक्रमित छालाको अवलोकन गरिन्छ।
डा. खरेलकाअनुसार एन्टीफंगल औषधी, टरविनाफिन, इट्राकोनाजोल र ग्रिसिओफल्विन जस्ता विधिबाट उपचार गरिन्छ। यससँगै माइकोनाजोल र ब्युटीनाफिन नामक क्रिमको प्रयोग गरी उपचार गरिन्छ।
रोकथामका उपाय
दादलाई सामान्य रुपमा लिन नहुने डा. खरेलले सुझाइन्।
‘कतिपयले सामान्य दाद देखिदा चिकित्सकलाई नदेखाइ फार्मेसीका औषधि प्रयोग गर्छन्। फार्मेसीले ‘स्टेरोइड’ औषधि दिइएको पाइन्छ। जुन औषधि दादका लागि प्रयोग गर्नै नहुने औषधि हो’, उनले भनिन्।
‘उक्त औषधिले प्रयोग गरुन्जेल ठिक भएजस्तो हुन्छ, तर औषधि छोड्न साथै शरीरभरी दाद देखिने समस्या हुन्छ’, उनले थपिन्।
स्टेरोइडजस्ता औषधिले दादलाई बिगार्छ, जसलाई ‘टिनिया इन्कगनिटो’ भनिन्छ। सोहीकारण सामान्य दाद आउँदा पनि छालाको चिकित्सकलाई देखाउनुपर्ने डा. खरेलले सुझाव दिइन्।
दादको रोकथाम गर्न संक्रमित व्यक्तिले प्रयोग गरेका तौलिया, साबुन प्रयोग गर्न हुँदैन। मोस्चराइजरको प्रयोग गरी छाला सधैँ नरम राख्नुपर्छ।
उनकाअनुसार बन्द कोठामा बस्दा समेत दादको समस्या देखिने हुँदा कोठा खुला राख्नुपर्छ। त्यस्तै, कडा साबुन र मर्करीयुक्त वस्तुको प्रयोग गर्नु हुँदैन।
यससँगै शरीरको सबै भाग सफा गरिरहने, नुहाएपछि सुख्खा हुनेगरी पुछ्ने र सरसफाइमा ध्यान दिएमा दादलाई रोकथाम गर्न सकिने डा. खरेलले जानकारी गराइन्।