मधुमेह दीर्घरोग हो। शरीरको रगतमा चिनीको मात्रा बढी हुनुलाई मधुमेह भनिन्छ।
जुनसुकै उमेरसमूहकालाई मधुमेह देखापर्नसक्ने मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा. दीपेन्द्र कार्की बताउँछन्। ‘पहिला मधुमेह ४० वर्षमाथिकालाई मात्रै हुन्छ भन्थ्यौं तर अहिले बच्चादेखि वृद्धवृद्धासम्मलाई भएको पाइन्छ’, उनले भने।
मधुमेह दुई किसिमका हुन्छन्ः टाइप वान मधुमेह र टाइप टु मधुमेह। टाइप वान मधुमेह स–साना बच्चालाई हुन्छ भने टाइप टु मधुमेह वयष्कहरुलाई हुन्छ।
मधुमेहका कारण
अव्यवस्थित जीवनशैली र खानपानका कारण मधुमेह रोग लाग्छ।
अल्छिपना, मोटोपना, जंकफुड बढी खानाले, कार्बोहाइड्रेयुक्त खानाको बढी प्रयोग गर्नाले मधुमेह हुनसक्ने डा. कार्कीले बताए। वंशाणुगत कारणले पनि मधुमेह हुनसक्छ। उनकाअनुसार महिलामा गर्भवति भएको अवस्थामा एक किसिमको मधुमेह हुन्छ।
मधुमेहका लक्षण
मधुमेह भएमा सामान्यतया तिर्खा लाग्ने, मुख सुख्खा हुने, पटक–पटक पिसाब लागिरहने हुन्छ। साथै शरीरमा आएका घाउ खटिरा चाडै निको नहुने, हाटखुट्टा झमझमाइ रहने, अकस्मात तौल घट्ने जस्ता लक्षण देखापर्ने डा. कार्कीले जानकारी दिए।
मधुमेह भएका सबै मानिसमा लक्षण देखापर्छ भन्ने हुँदैन। मधुमेहका ५० प्रतिशत रोगमा लक्षण देखा नपर्ने विभिन्न अनुसन्धानले देखाएका छन्।
सोहीकारण ४० वर्ष नाघेका व्यक्तिले नियमित मधुमेहको परीक्षण गर्नपर्ने डा. कार्कीले सुझाए।
रोक्ने उपाय
रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो। सोहीकारण आफ्नो जीवनशैलीलाई सक्रिय बनाउनपर्ने सुझाव दिन्छन्, डा. कार्की।
‘हामीले कार्बोहाइड्रेडयुक्त खाना सकेसम्म कम गर्ने, घरबाहिरका खाना नखाने, सागसब्जी बढी खाने, दैनिक व्यायाम गरेमा मधुमेह रोग लाग्ने सम्भावना न्यून हुन्छ’
उनले मधुमेहको समस्या नेपालमा दिनानुदिन बढ्दो अवस्थामा रहेको बताए। ‘पहिला विकसित देशमा पाइने रोग भनिन्थ्यो। अहिले विकासोन्मुख देशमा पनि यो रोग बढ्दोक्रममा छ’ उनले भने।
उपचार
नेपालमा मधुमेहको उपचार सहज रहेको डा. कार्की बताउँछन्। जसको उपचार दुई किसिमले गर्न सकिन्छः औषधिको प्रयोग र इन्सुलिन लगाएर।
तर, अधिकांश मानिस इन्सुलिन लगाउन डराउने उनले बताए।
‘इन्सुलिनलाई अन्तिम विकल्प हो भन्ने भ्रममा परेर कम महत्व दिने गर्छन्, इन्सुलिन लगाउनुपर्ने अवस्थाका बिरामी समेत आफैं कन्ट्रोल गर्छु सोचेर रोगलाई झन्झन् बढाउने गर्छन्।’ ‘तर, इन्सुलिनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’डा. कार्कीले भने।
इन्सुलिनलाई विकसित देशमा पनि पहिलो प्राथमिकतामा राखिन्छ। यो लागाइसकेपछि निरन्तर लगाइरहनुपर्छ, छोड्न मिल्दैन भन्नु भ्रम रहेको उनले बताए।
‘इन्सुलिनले त मधुमेह नियन्त्रणमा राख्छ र त्यसपछि औषधि मात्रै खाए हुन्छ। कतिपय अवस्थामा औषधिले नियन्त्रणमा राख्न नसकिने हुँदा इन्सुलिन लाउनुपर्ने हुन्छ’ उनले स्पष्ट पारे।
समाजमा मधुमेहसम्बन्धी धेरै अन्धविश्वास छन्। जीवनभर औषधि खानुपर्ने सोचेर कतिपय मधुमेह रोगी डराएर उपचार नै गर्न आउँदैनन्। यस्तो भ्रममा नपरी तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्ने उनको सुझाव छ।
मधुमेहका बिरामीलाई खानेकुरामा पनि भ्रम छ।‘मधुमेहका बिरामीले सबै किसिमका खानेकुरा खान हुन्छ, तर सबैको मात्रा मिलाएर खानुपर्छ। एकपटक एउटै खानेकुरा धेरै नखाएर सबै किसिमका खानेकुरा मात्रा मिलाएर खाएमा समस्या आउँदैन।’
औषधि खाएपनि मधुमेहका बिरामीले खानपिन र व्यायाममा ध्यान दिनुपर्ने डा.कार्कीले सुझाव दिए।