पिनास एक किसिमको संक्रमण हो। अनुहारको हड्डीमा सानो खाली भाग हुन्छ त्यसको ‘कनेक्सन’ नाकको हड्डीमा हुन्छ, उक्त हड्डीमा संक्रमण भएपछि पिनास हुन्छ। विशेषगरी नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोगलाइ पिनास भनिन्छ।
यो दुई किसिमको हुन्छः एक्युट पिनास र क्रोनिक पिनास। तीन हप्तादेखि ६ हप्तासम्म हुने पिनासलाई एक्युट भनिन्छ भने तीन महिनासम्म हुने पिनासलाई क्रोनिक भनिन्छ।
पिनासका कारण
एलर्जी र इन्फेक्सनको समायोजनले पिनास हुन्छ। नाकको हड्डी बाङ्गो भएमा (एनाटोमिक एबनर्मालिटिज) भएपनि पिनास हुनसक्छ। तर हड्डी बाङ्गो हुँदैमा पिनास नै हुन्छ भन्ने होइन। जहाँबाट सिगान बग्छ त्यहाँबाट बग्न सकेन भने पिनास हुने हो। यस्तो अवस्थामा अपरेसन गर्नुपर्ने हुनसक्छ। धरैजसो पिनास धूलो र चिसोको सक्रमणले हुन्छ।
पिनास भएपछि कस्तो समस्या देखिन्छ?
पिनासको सुरुआत रुघाबाट हुन्छ। एक्युट पिनासमा सुरुमा रुघा लाग्छ, त्यसको १० दिनपछि नाक बन्द हुने, पहेंलो सिगान बग्ने, ज्वरो आउने हुन्छ। पहेंलो सिगान देखापरेपछि रुघा पाक्यो भनिन्छ तर त्यो पिनासको लक्षण हुनसक्छ। पिनासले आल्स्यता बढाउँछ र बिरामी भएजस्तो महशुस हुन्छ।
क्रोनिकमा तीन महिनासम्म लगातार रुघा लाग्ने, सिगान पाक्ने, बास्ना थाहा नहुने हुन्छ। यस्तो पिनासमा ज्वरो आउन पनि सक्छ नआउन पनि सक्छ। यससँगै निरन्तर टाउको दुखेर काम गर्न गाह्रो हुन्छ।
जटिलता
पिनासमा ध्यान दिएन भने ‘क्वालिटी अफ लाइफ’मा असर पर्छ। सधैं टाउको दुखिरहँदा, रुघा लागिरहेमा दैनिक जिवनमा नकारात्मक असर त पर्ने नै भयो। यससँगै नाकमा मासु पलाउने समस्या समेत देखापर्छ।
सिँगान जसरी बग्नुपर्ने त्यसरी बग्न पाएन भने त्यो जम्मा हुन्छ र घाऊ भएर नाकमा पिप जम्मा हुन्छ। वेस्सरी ज्वरो आउने, संक्रमण बढेर दिमागमा, आँखासम्म फैलिन सक्छ। यस्ता जटिलता देखा परेर मेनेन्जाइटिससम्म हुनसक्छ।
कसरी जोगिने?
पिनास धेरैजसो एलर्जीबाटै सुरु हुन्छ। एलर्जी धुँलोका र चिसोले बढी हुने हुँदा यसबाट जोगिनुपर्छ। एसी भएको कोठामा धेरै समयसम्म बस्नुहुँदैन। असिलो ठाउँबाट बच्नसके पिनासबाट सुरक्षित हुन सकिन्छ। र पिनासको सामान्य लक्षण देखिए परीक्षण गरिहाल्नुपर्छ।
उपचार कसरी?
रुघापछि पहेंलो सिँगान देखिएमा (एक्युट पिनास) एन्टिबाइटिक खानुपर्छ।
वाफ दुईपटकसम्म लिने, नाक सफा गर्नेः एक लिटर जति पानीमा एक चम्चा नुन आदि चम्चा सोडा हालेर र सिरिन्जमार्फत पनि दिनमा तीन-चारपटक नाक सफा गर्न सकिन्छ। यससँगै चिकित्सकको सल्लाहअनुसार औषधिको सेवन गर्नुपर्छ।
क्रोनिक पिनासका लागि नाक सफा गरे धेरै राम्रो हुन्छ। अपरेसन नै गरिहाल्नुपर्छ भन्ने हुँदैन। तर, तीनदेखि ६ हप्तासम्म एन्टिबायोटिक चलाउँदा पनि निको भएन भने चिकित्सकले सिटी स्क्यान गर्न सुझाव दिन्छन्।
सिटी स्क्यान गर्दा रोग धेरै देखियो, सिगान बग्ने ठाउँ बन्द भएको छ भने अपरेसन गर्नुपर्छ।
अपरेसनको मुख्य उद्देश्य पुरै निको पार्ने होइन। औषधि सम्बन्धित ठाउँसम्म पुगोस् भन्ने हो। त्यसकारण अपरेसन गरेपछि पनि औषधिको प्रयोग गर्नुपर्छ।
तर, पिनास भयो निकै हुँदैन भनेर तनावमा बस्नु पर्दैन। यो एउटा संक्रमण हो। सामान्य पिनास निको हुन्छ। क्रोनिक पिनास भने ठिक हुँदै फेरी हुनसक्छ। यसलाई पनि नियन्त्रण गर्न सकिन्छ। धेरैजसो पिनास भयो भनेर आत्तिएर आउनु हुन्छ। त्यसमा आत्तिहाल्नु पर्दैन तर समयमै सचेत भने हुनुपर्छ।