औषधि व्यवस्था विभागले मिर्गौलामा खराबी गरेको आशंकामा दुई वटा औषधि विक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ।
विभागले मंगलबार सूचना निकालेर ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस (मेट्रोनिडाजोल) र ब्याच नम्बर १ एच ८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सन नामको औषधि विक्री वितरण र प्रयोगमा रोक लगाएको हो।
यी दुई औषधिको गुणस्तरमा शंका लागेपछि अनुसन्धान थालिएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
‘ती औषधिको परीक्षण भइरहेको छ, अर्को सूचना जारी नभएसम्म विक्रीवितरण र प्रयोगमा रोक लगाइएको हो,' महानिर्देशक ढकालले भने।
फागुनको पहिलो साता जोरपाटीको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा प्रसूतिका लागि शल्यक्रिया गरिएका मध्ये तीनजनामा एकै किसिमको संक्रमण देखिएको थियो।
प्रयोग गरिएका औषधिका कारण नै संक्रमण भएको अस्पतालले बताएपछि विभागले ती औषधिको विक्री वितरणमा रोक लगाएको हो।
‘उक्त ब्याचका औषधिका करण तीन जना महिलाको मिर्गौला फेल भएको अस्पताल प्रशासनले प्रतिवेदन पेश गरेको छ, तर डिडिएले परीक्षण गरेर पुष्टि नगरेसम्म के हो भन्न मिल्दैन,’ ढकालले भने।
विक्री मा रोक लगाइएका दुवै औषधि भारतीय कम्पनीका हुन्।