आँखाबाट बग्ने तरल पदार्थलाइ आँशु भन्ने बुझिन्छ। आँशु विभिन्न कारण बग्छः रुदा, धेरै खुशी हुँदा, हाँस्दा, हाइ गर्दा, रुघाखोकी लाग्दा, उल्टी हुँदा र चहकिला उज्यालोमा पनि आँसु आउने गर्छ।
यसरी बग्ने आँशु आँखाका लागि आवश्यक मानिदैन। यस्तो आँशु ‘ल्याक्रिमल ग्रन्थ्री’बाट उत्पादन हुने आँखा रोग विशेषज्ञ डा. भाइराजा श्रेष्ठ बताउँछन्।
आँखाको ढकनीमा हुने ग्रन्थीहरुले उत्पादन गर्ने आँशु भने आँखाका लागि आवश्यक हुन्छ। जसले आँखालाई सुक्खा हुनबाट बचाउँने डा. श्रेष्ठले बताए। यसरी राम्रो र नराम्रो गरी आँशु दुई प्रकारका हुन्छन्।
किन बगिरहन्छ आँशु?
कतिपयलाई प्रमुख कारणबाहेक पनि आँशु बगिरहने समस्या हुन्छ।
‘हाम्रो आँखामा सामान्य अवस्थामा पनि आँशुहरु बनिरहेको हुन्छ। यस्तो आँशु आँखामा रहेको सानो प्वाँलबाट ‘ल्याक्रिमल डक्ट’बाट नाक हुँदै घाँटीमा जान्छ।
यदि कुनै कारण उक्त नली बन्द भएमा व्यक्तिमा आँशु झरिरहने समस्या देखापर्छ’, डा. श्रेष्ठले भने। कुनै व्यक्तिमा भने केहि समयपछि बन्द नलीहरु स्वतः खुल्ने डा. श्रेष्ठले बताए।
उक्त कारणबाहेक आँशु बग्नुका अन्य धेरै कारण हुन्छन्। ल्याक्रिमल डक्टको गडबढी भएमा, आँखाको प्वाल र नलीहरु राम्ररी विकसित नभएमा, धुलो र धुँवाका कारण, चिसोका कारण आँखाको एलर्जी तथा संक्रमण, आँखाको घाउ वा इन्फेक्सन भएमा आँशु बगिरहन्छ।
परेलाको रौं आँखा भित्र पसेमा, आँखा सुख्खा हुँदा, बढ्दो उमेर अवस्था, परेलाको डिलभित्रपट्टी फर्कनु (इन्ट्रोपियन) आँखामा चोटपटक लागेमा (इक्रोप्टिन) पनि निरन्तर आँशु झरिरहने डा. श्रेष्ठले जानकारी दिए।
भर्खरै जन्मेका शिशुहरुमा पनि ‘पङ्गटम’ विकास नहुँदा आँशु बगिरहने समस्या देखापर्छ।
रोकथाम
शिशुलाई आँशु बगिरहने समस्या भएमा आँखा वरपर तथा नाकको माथिल्लो भागमा विस्तारै मालिस गर्नुपर्छ।
यसरी मालिस गरे विकास भएर पनि काम नगरेको ‘पङ्गटम एक्जेसिया’को नली खुलेर आँशु बग्न कम हुने डा.श्रेष्ठले बताए।
‘नली नै बन्द भएको बिरामीको कतिपय अवस्थामा शल्यक्रिया नै गर्नुपर्ने हुनसक्छ’ उनले भने।
उनकाअनुसार आँखा स्वास्थ राख्न आफ्नो आँखालाई सधै चिसो र सफा पानीले पखाल्नुपर्छ। आँखामा धुलोका कणहरु पसेमा धेरै मिच्नु हुँदैन। बेला–बेलामा आँखामा चिसो पानीले छ्याप्नुपर्छ।
यससँगै लामो समय कम्प्युटर अघि नबस्न उनले सुझाए। कम्प्युटरको अगाडि बस्नैपर्ने भएपनि समय–समयमा आँखाको मसाज तथा कसरत गर्नुपर्छ। साथै कोठाको तापक्रम घटाउने र गगल्स लगाउनु पर्छ।
यस्ता स–साना कुरामा ध्यान पुर्याउँदा पनि सोही समस्या दोहोरिरहेमा सम्बन्धित चिकित्सको सल्लाह लिएर सोहीअनुसार उपचार गर्न डा. श्रेष्ठले सुझाव दिए।