जाडो भर्खरै सकिएर गर्मि महिना सुरु भएको छ। गर्मीको मौसमसँगै छालामा विभिन्न समस्याहरू देखिन थाल्छन्। जसमध्ये पिलो एक हो।
छालाको सङ्क्रमण हुनु नै पिलो हो। यसलाई खटिराको रूपमा लिइन्छ। खटिराको मध्यभागमा मुख हुन्छ। त्यसैको वरिपरी पिप जमेको देखिन्छ।
हाम्रो छालामा भएका रौंको जरा वा तेल ग्रन्थीमा ब्याक्टेरियामार्फत हुने संक्रमणका कारण पिलो आउने छालारोग विशेषज्ञ डा. सविना भट्टराई बताउँछिन्।
जुन ठाउँमा बाक्लो, कालो घुमुर्केको कपाल हुन्छ, त्यही ठाउँमा पिलो आउँछ। पिलो प्राय अफ्ठायारो ठाउँमा आउँछ।
यसकारण अफ्ठ्यारो महशुस हुन्छ र असाध्यै दुख्छ।
डा. श्रेष्ठकाअनुसार कुनै–कुनै पिलो एकभन्दा बढी मुखको हुन्छ। यो भनेको एकभन्दा बढी रौंका जराहरू वा तेलग्रन्थीहरूमा सङ्क्रमण हुनु हो। विशेषगरी पुरुषहरूमा धेरैवटा मुख भएको पिलो आउने गरेको पाइन्छ।
पिलो साधारणतया किशोर–किशोरीहरू तथा बयस्कहरूमा आएको पाइन्छ। कुनै व्यत्तिलाई पटक–पटक पनि पिलो आउने गर्छ।
के कारण गर्मीमा बढी आउँछ पिलो?
पिलो नाकमा, ढाडमा, मलद्वारमा, काखीमा, गुप्ताङ्गमा, घाँटीको पछिल्लो भागमा आउँछ। अझै गर्मी मौसमा शरीरका यी अंगमा बढी पसिना आउने, आद्रता बढेर धुलो टाँसिने हुँदा त्यस्ता अंगका कपालमा लिसो बस्छ।
त्यसकारण किटाणु बढी सक्रिय भएर संक्रमण हुन्छ। त्यस्तो अवस्थामा शरीरका ती अंगहरुमा सरसफाई नगरेमा पिलो आउने डा. श्रेष्ठले जानकारी दिइन्।
कस्ता व्यक्तिमा आउँछ पिलो?
किशोरकिशोरीहरूमा हर्मोनको प्रभावले गर्दा छालामा रहेका तैलीय ग्रन्थीहरूबाट धेरै तैलीय पदार्थ निस्किएर फोहोर हुन्छ।
सोहीकारण त्यस्ता उमेर समूहका व्यक्तिहरूमा पिलो आउने समस्या धेरै देखिनसक्ने डा. श्रेष्ठले बताइन्।
‘कहिलेकाहीँ केमिकलयुक्त पदार्थहरूका कारण पनि पिलो आउँछ। जस्तैः कस्मेटिकहरुको प्रयोगले। यससँगै खानपानमा ध्यान नदिने, अत्याधिक मद्यपान गर्ने व्यक्तिहरू र लागूऔषध प्रयोग गर्ने व्यक्तिहरूमा पनि पिलो आउने सम्भावना धेरै हुन्छ।’
यसैगरी, जोसँग रोगसँग लड्ने क्षमता कमजोर हुन्छ, ती व्यक्तिलाई समेत पिलो आउनसक्छ।
‘पटक–पटक पिलो आइरहने व्यक्तिमा मधुमेह, थाइराइड, कुपोषणको भएको हुनसक्छ’, उनले भनिन् ‘शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थाहरू जस्तै: एड्स, क्यान्सरजस्ता रोगहरू र स्टेरोइड भएका औषधिको प्रयोग गरिरहेका व्यक्तिमा पनि पिलो आउनसक्छ।’
पिलोलाई ठट्टा नगरौं
पिलो हेर्दाखेरि डरलाग्दो, पीप भरिएको, तातो, रातो र ठूलो हुन्छ। जो व्यक्तिलाई पिलो आएको छ उसलाई एकदमै दुख्छ। तर पनि कतिपयले पिलोलाई कहिलेकाहीँ ठट्टाको रूपमा लिने गरेको पाइन्छ।
सुरुमा पिलो आउँदा रौंका जरा वरिपरि सुन्निएको जस्तो हुन्छ। विस्तारै यो ठूलो हुन्छ, पाक्छ र पीप निस्किन्छ। पिलो आएदेखि पूरै निको हुन करिब दुई हप्ता लाग्छ।
पिलोलाई हातले छुनुभन्दा अघि र छोइसकेपछि साबुनपानीले हात धुनुपर्छ। यसलाई जबर्जस्ती निचोर्दा यसवरिपरिको छालामा चोट पुग्न गई सक्रमण भएर शरीरको अन्य भागमा सर्ने तथा रगतमा जाने खतरा हुने डा. श्रेष्ठले सुझाइन्।
‘नाक तथा मुखवरिपरिको पिलो त कहिले पनि निचोर्नुहुँदैन। ती ठाउँमा आएका पिलोबाट संक्रमण सरेर मस्तिष्कमा समेत फैलने खतरा हुन्छ’, उनले भनिन्।
पिलोबाट पिप बगेमा सफा कपडाले विस्तार पुछ्नुपर्छ। पिलोलाई किटाणुनाशकयुक्त औषधि भएका साबुनले नुहाउँदा राम्रो हुन्छ।
‘पिलोमा जथाभावी झारपात जडीबुटीहरू राख्न हुँदैन। चिकित्सकको सल्लाहविना घरायसी उपचार गर्ने, मनलाग्दि निचोर्ने गरेमा संक्रमण भएका किरा मर्दैनन्। त्यसकारण किराको संक्रमण अन्य ठाउँमा फैलिएर पटक–पटक पिलो आउँछ’,उनले जानकारी गराइन्।
घरेलु उपचारले किरा नमर्ने हुँदा परीक्षण गरी कुन किटाणुको संक्रमण भएको हो, सोहीअनुसारको औषधि सेवन गर्न डा. श्रेष्ठको सुझाव छ।
चिकित्सकको सल्लाहाअनुसार एन्टिवाइटिक खाएमा पिलो अर्को ठाउँमा सर्न सक्दैन। पिलो आएका व्यक्तिले खानेकुरामा भिटामिन 'ए' युक्त खानेकुराहरू प्रशस्त खानुपर्छ। जस्तैः फर्सी, मेवा, सागपातजस्ता खानेकुराहरू।
चिल्लो तथा मसलादार खानेकुरा कम खानुपर्छ। बिरामीले प्रयोग गरेको साबुन, ओछ्यान, रुमाल, कपडा, कस्मेटिक सामानहरू पनि अन्य व्यक्तिले प्रयोग गर्नु नहुने डा. श्रेष्ठले सुझाइन्।