गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले पाल्पाको तानसेनमा मृगौलाको डायलाइसिस सेवा संचालन गरेको छ।
तानसेन नगरपालिकास्थित बन्दीपोखरामा १० वटा अत्याधुनिक मेशिनबाट शुक्रवारदेखी मृगौलाको डायलाइसिस सेवा शुरु गरिएको हो।
पाल्पा जिल्लासंगै गुल्मी, पुर्वी अर्घाखांची र स्याङजाको पश्चिम क्षेत्रका नियमित डायलाइसिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी पाल्पामा मृगौला उपचार सेवा संचालनमा ल्याइएको हो।
पाल्पामा मृगौलासम्बन्धी उपचार नहुंदा बुटवल, भैरहवा, पोखरा र काठमाण्डौं जानुपर्ने बाध्यता थियो। उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलाईसिसको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ।
तानसेन नगरपालिका वडा नंं ५ बन्दीपोखराको लक्ष्मी माध्यमिक विद्यालयको प्रयोग नभएको भवनमा मृगौलाको डायलाइसिस सेवा शुरु गरिएको हो।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले मृगौला डायलाईसिस सेन्टरबाट १ जना मेडिकल अफिसर र १५ जना स्वास्थ्यकर्मीले २४ सै घण्टा सेवा प्रदान गर्ने बताए।
उनले हाल १० वटा मेशिनबाट डायलाईसिस शुरु गरिएपनि आवश्यकताको आधारमा मेशिन थप गर्न सकिने जानकारी दिए।
मृगौला डायलाइसिसको लागि प्रयाप्त शुद्ध र निर्मलीकरण गरिएको पानिको आवश्यकता पर्ने भएपनि नभएकोले पानीको व्यवस्था गर्न उनले तानसेन नगरपालिकासंग आग्रह गरेका छन्।
करिब ५ करोडको लागतमा संचालनमा आएको उक्त सेन्टरबाट दैनिक ३० जना विरामीको नियमित डायलाइसिस गर्न सकिने पाल्पा सामुदायिक डायलाईसिस सेन्टरका संयोजक बाबुराम बोहराले जानकारी दिए।
पाल्पा, गुल्मी र पुर्वी अर्घाखांचीबाट ६४ जना विरामी नियमित रुपमा मृगौलाको डायलाईसिसको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा जाने गरेका थिए।
केही विरामीले पोखरा, काठमाडौं तथा रुपन्देहीका अन्य अस्पतालमा समेत नियमित डायलाईसिस गराउंदै आएका छन्। जिल्लाभित्रै डायलाइसिस सेवा संचालन भएपछि समयसंगै आर्थिक समेत बचत हुने भन्दै विरामीहरु खुशी भएका छन्।
पाँच वर्षदेखि मुटुको उपचार संगै मृगौलाको डायलाइसिस सेवा संचालन गर्दै आएको त्यस अस्पतालमा २० वटा मेसिनबाट मृगौलाका बिरामीहरुको डायलाईसिस हुंदै आएको छ।
त्यो बाहेक गत महिना दाङको लमहीमा १० वटा मेसिन जडान गरी सेवा शुरु गरिएको छ।
केही दिनभित्रै स्याङ्जाको वालिङमा पनि १० वटा मेशिन जडान गरी डायलाईसिस सेवा सुरु गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ।
सरकारले मृगौला रोगीहरुको निःशूल्क उपचार घोषणा गरेपनि बिरामीले जिल्लाका सरकारी अस्पतालबाट समयमा डायलाइसिस सेवा पाउन नसक्दा बाहिर जानुपर्ने बाध्यता थियो।