टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कोरोना भाइरसका शंकास्पद व्यक्तिको मात्र जाँच गरिने भएको छ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अब अस्पतालमा कोरोना भाइरसका शंकास्पद विरामीको मात्र जाँच हुने बताए।
उनले त्यहाँ रहेका एचआइभी संक्रमित विमारीलाई वीर र टिचिङ अस्पतालमा सारिने बताएका छन्।
'हामीले झन्डै ४० विमारीलाई यहाँबाट वीर र टिचिङमा रिफर गर्दैछौं। आजसम्म सबैलाई पठाइसक्छौं,' उनले भने।
अस्पतालमा उपलब्ध रेबिजविरूद्धको खोप सेवा पनि काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयबाट दिइनेछ।
सरकारले टेकु अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने भएपछि अहिले सोही अनुसार काम भइरहेको छ।
निर्देशक राजभण्डारीका अनुसार अहिले अस्पतालमा १७ वटा आइसियू बेड राख्ने र आइसोलेसन विस्तार गर्ने काम भइरहेको छ।
'आजसम्म आइसियू बेड राख्ने काम सकिन्छ। त्यसपछि अस्पतालमा २० वटा आइसियू र २५ वटा आइसोलेसन बेड हुनेछ,' उनले भने।
यसअघि अस्पतालमा तीन वटा आइसियू र पाँच वटा आइसोलेसन बेड मात्रको व्यवस्था थियो।
सरकारले केही दिन अगाडि टेकु लगायत उपत्यकाका ६ वटा अस्पताललाई २० वटा आइसियू बेड बनाउन निर्देशन दिएको थियो।