राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित जाँच्ने चिकित्सकले लगाउने पिपिई बनाउन थालेको छ।
केन्द्रका प्रमुख महावीर पुनले मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालाले डिजाइन ठीक छ भनेपछि उत्पादन सुरू गरेको बताए।
'पहिले त हामीलाई पिपिई भनेको के हो भन्ने थाहै थिएन। टिचिङ अस्पताल र वीपी कोइराला मेमोरियल धरानका डाक्टरहरूले माग गर्नु भो। अनि टिचिङ अस्पतालले पिपिईको डिजाइन यस्तो हुन्छ भनेर स्याम्पल पठायो,' उनले भने, 'हामीले त्यही डिजाइन हेर्दै पिपिईको डिजाइन गर्यौं र डाक्टर भगवान कोइरालालाई देखायौं। उहाँले हाम्रो डिजाइन हेरेर संकटका बेलालाई यो गजबै छ भन्नुभो अनि उत्पादन सुरू गरेका छौं।'
पिपिई सिलाउन काठमाडौंको चप्पल कारखाना र पेप्सीकोलामा भएका दुइटा गार्मेन्टलाई जिम्मा लगाएको उनले बताए।
एउटा २ लेयरको वाटरप्रुफ टफेटा, चेन र इलास्टिक अनि थ्रिडी प्रिन्टिङको चस्मा-फ्रेममा प्लाष्टिकको सिट हालेर पिपिई बनाइने छ। गार्मेन्टले गाउन बनाइसकेपछि ३ डि प्रिन्टिङमा चस्मा फ्रेमको स्क्रिन हालिने उनले बताए।
'गाउन बनाउन हामीले आवश्यक सामग्री दिइसकेका छौं उनीहरूले उपलब्ध कालिगढ खोजेर आजैदेखि सिलाइ सुरू गरेका छन्,' पुनले भने, 'कालिगढ पाउनै मुश्किल छ। अहिले ६/७ जना भेटिएका छन्।'
पहिलो चरणमा ४ सय वटा पिपिई बनाइने उनले बताए।
एकजना कालिगढले दिनमा ८ वटा पिपिईको गाउन बनाउन सक्ने उनले बताए।
'कहिलेसम्म पहिलो चरणको पिपिई बनाएर सकिन्छ भन्न सकिन्न सुरू भयो अब एउटा कालिगढले दिनमा ८ वटा बनाउन सक्ने रहेछ। बन्दै जान्छ हामीले बाँड्न सुरू गरिहाल्छौं,' उनले भने।
अहिले बजारमा सामान पाउन पनि मुश्किल भएको उनले बताए। ४ सय पिपिईका लागि सामान भेटिएको उनले बताए।