हाल कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलिरहेको अवस्थामा यसको जोखिमबाट बच्न ‘ह्याण्ड स्यानिटाइजर’को माग अत्यधिक बढिरहेको छ।
उक्त भाइरसको जोखिमबाट जोगिन ह्याण्ड स्यानिटाइजर प्रभावकारी हुने चिकित्सकहरू बताउँछन्। हात सफा गर्ने सुरक्षित र सरल वस्तु भएकाले नेपालमा पनि यसको माग बढिरहेको छ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले नेपालमा ‘ह्याण्ड स्यानिटाइजर’को निकासीमा पूर्ण रूपमा रोक लगाएको छ।
भारतले स्यानिटाइजर निकासीमा रोक लगाए पनि स्वदेशी औषधि उत्पादक भने नेपालमै उत्पादन गर्नसक्ने दाबी गरिरहेका छन्।
सरकारले इथानोलको व्यवस्था गरे स्वदेशमै ह्याण्ड स्यानिटाइजर उत्पादन गर्न सकिने औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए।
स्यानिटाइजर इथानोलबाट बनाइन्छ। इथानोल अल्कोहल बनाउन प्रयोग गरिन्छ।
‘चिनी मिलले विभिन्न रक्सी कम्पनीलाई विक्री गर्ने इथानोल औषधि उत्पादक कम्पनीलाई विक्री गर्ने व्यवस्था सरकारले गर्नुपर्छ। हामीले इथानोल पायौं भने स्वदेशमै ह्याण्ड स्यानिटाइजर सजिलै उत्पादन गर्न सक्छौ’, उनले भने।
‘यसका लागि सरकारले चिनी उद्योगसँग सहकार्य गरेर इथानोलको व्यवस्था तत्काल गर्नुपर्छ, हामीले यसमा विषयमा स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयसँग छलफल गरिरहेका पनि छौं, हाम्रो कुरामा सरकार सकारात्मक छ’, उनले थपे।
औषधि उत्पादक संघका पूर्वाध्यक्ष दीपकप्रसाद दाहालले भने स्वदेशमै स्यानिटाइजर उत्पादनको प्रक्रिया ६ महिनाअघि देखि थालिएको जानकारी दिए।
हाल स्यानिटाइजर उत्पादनका लागि चाहिने आवश्यक कच्चा पदार्थ अभाव रहेकाले त्यसलाई जुटाउन लागिपरेको उनले बताए।
अहिले औषधि व्यवस्था विभागले पनि ह्याण्ड स्यानिटाइजरलाई औषधिय वस्तुमा सूचीकृत गरी तीन महिनाभित्र दर्ता भएर उत्पादन गर्न औषधि उद्योगलाई आह्वान गरेको छ।
‘यसअघि दर्ता प्रक्रिया नभएकाले ह्याण्ड स्यानिटाइजर विक्री भएको थिएन, अहिले दर्ता गरेर हामीले पहिला ‘एमडिएच फर्मास्युटिकल्स’बाट उत्पादन गरिसकेका स्यानिटाइजर विक्री गरिरहेका छौं’ उनले भने।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार गुणस्तरीय ह्याण्ड स्यानिटाइजर स्वदेशमै उत्पादन गर्न सक्षम रहेको लोमश फर्मास्युटिकल्सका निर्देशक प्रज्वलजंग पाण्डे बताउँछन्।
‘अहिले ह्याण्ड स्यानिटाइजर केहीले बनाउन थालेका छन्, तर त्यसको गुणस्तरीयतामा ध्यान दिन आवश्यक छ, हामीले बनाउने स्यानिटाइजरको गुणस्तरीयतामा ग्यारेन्टी दिन सक्छौं’, उनले भने।
औषधि व्यवस्था विभागले भनेअनुसार हाल दर्ताको प्रक्रियामा रहेको उनले बताए।
‘हामीले ह्याण्ड स्यानिटाइजर उत्पादन सुरू गरिसकेका छौं, त्यसलाई अस्थाई रूपमा दर्ता गराएर भए पनि चाँडोभन्दा चाँडो बजारमा ल्याउँछौं,’ उनले भने।