वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने जानकारी दिएका छन्।
मन्त्री दुलालले हेटौंडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताएका हुन्।
उनले त्यहीँ स्वाब संकलन गरेर त्यहाँ परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका लागि व्यवस्था गरिएको बताए।
मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटौंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गरे।
संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेशन कक्ष निर्माण गरिएको छ।
मन्त्री दुलालले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गरे।
(रासस)