विश्वभर फैलिएको कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतमा लकडाउन भएपछि आपूर्ति प्रणालीमा समस्या देखिन थालेको छ। यसको प्रभाव औषधिको उत्पादन तथा वितरणमै समस्या पर्ने उत्पादकहरुले बताएका छन्।
लकडाउनपछि भारतबाट औषधिको कच्चापदार्थ आपूर्तिमै समस्या भएपछि औषधि उत्पादनमा समस्या आउने उत्पादनकहरुले चेतावनी दिएका छन्।
करिब दुई महिनालाई पुग्ने कच्चा पदार्थ भएपनि आयातमा अवरोध आइरहे औषधि उत्पादनमा समस्या पक्का रहेको औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले बताए।
‘हरेक उद्योगले दुई/तीन महिनालाई पुग्ने कच्चापदार्थ राखेका छन्, अहिलेलाई त समस्या छैन’ उनले भने ‘यही समस्या लम्बिए औषधि उत्पादनमा समस्या पक्का छ।’
भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि चैत ११ गतेदेखि लकडाउन गरिएको थियो। यसकारण रक्सौलमा आएका कच्चापदार्थसमेत रोकिएका अध्यक्ष क्षेत्रीले जानकारी दिए।
‘रोकिएका कच्चापदार्थमध्ये दुई/तीन ट्रक ल्याउन सफल भएका छौ, बाँकी त्यहीं अड्किएको छ।’
गत महिना (फागुन २०) भारत सरकारले कोरोना भाइरसको सम्भावित असरलाई ध्यानमा राखेर २६ किसिमका औषधि र कच्चा पदार्थ निर्यात रोकेको थियो।
भारतले निर्णय रोकेको पर्सिपल्ट (फागनु २३) गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल आउने कुनै पनि औषधि भारतले नरोक्ने बताएका थिए।
अहिले सबैतिर यातायात ठप्प हुँदा भारतबाट कुनै पनि औषधि र कच्चापदार्थ भित्र्याउन नसकिएको क्षेत्रीले बताए।
औषधि अत्यावश्यक वस्तुमा पर्ने भएकोले यसलाई आउन दिनुपर्ने लोमश फर्मास्युटिकल्सका निर्देशक प्रज्जवलजंग पाण्डे बताउँछन्।
औषधिको कच्चापदार्थ आयातमा सरल व्यवस्था गर्न भारतसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयले तत्काल पहल गरी सहज गर्नुपर्ने पाण्डेले बताए।
‘यसका लागि हामीले सरकारसमक्ष पहल गरेका छौं, तर मन्त्रालयबीच नै समन्वयनको कमी देखिन्छ, कसले के गर्ने भन्ने अन्यौल हुँदा समस्या भइरहेको छ।अहिले पनि केही विग्रेको छैन, तर स्वास्थ्य मन्त्रालय, उद्योग मन्त्रालय र परराष्ट्रबीच समन्वयन बढाएर काम गरिहाल्न आवश्यक छ’ उनले भने।