नेपालमा विभन्न औषधि कम्पनीले स्यानिटाइजर उत्पादन सुरु गरिसकेका छन्।
हालसम्म २० वटा कम्पनीले स्यानिटाइजर उत्पादन गर्न दर्ता गरिसकेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
उनकाअनुसार अनुसार लोमस फर्मास्युटिकल्स, एमडिएच फर्मास्युटिकल्स, अर्या फर्मा ल्याब, नोभा जेनेटिक फर्मास्युटिकल्ससहित २० कम्पनी स्यानिटाइजर उत्पादन थालेका हुन्।
‘यी कम्पनीले स्यानिटाइजर उत्पादनलाई निरन्तरता दिइरहेका छन्, प्रयाप्त मात्रामा स्यानिटाइजरमा बजारमा प्रयाप्त मात्रामा गइरहेको छ, कतै अभाव भएमा कम्पनीसँग सम्पर्क गरेर लान सकिन्छ’ उनले भने।
नेपालमा ६३ वटा औषधि उद्योग संचालनमा छन् भने ४१ वटाले औषधि व्यवस्था विभागबाट नयाँ उद्योगको अनुमति लिइसकेका छन्।
सरकारी स्वामित्वको एक मात्र औषधि उद्योग नेपाल औषधि लिमिटेडले पनि स्यानिटाइजर उत्पादन गरिरहेको महानिर्देशक ढकालले जानकारी दिए।
लोमश फर्मास्युटिकल्सले एक हप्तादेखि स्यानिटाइजर उत्पादन गरिरहेको कम्पनीका निर्देशक प्रज्जवलजंग पाण्डले बताए।
उनले भने ‘हामीले स्यानिटाइजर बनाउन थालेको एक हप्ता भयो, हालसम्म १० हजार बोतल बनाएर बजारमा पठाइसकेका छौं, यसलाई सकेसम्म निरन्तरता दिइरहन्छौं।’
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार गुणस्तरीय ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको उनले बताए।
गत महिना औषधि व्यवस्था विभागले ह्याण्ड स्यानिटाइजरलाई औषधिय वस्तुमा सूचीकृत गरी तीन महिनाभित्र दर्ता भएर उत्पादन गर्न औषधि उद्योगलाई आह्वान गरेको थियो।
यसअघि दर्ता प्रक्रिया नभएकाले नेपाली कम्पनीले ह्याण्ड स्यानिटाइजर उत्पादन गरेका थिएनन्।
कोरोना भाइरस (कोभिड–१९) फैलिने क्रम बढेपछि भारतले स्यानिटाइजर निर्यातमा रोक लगाएको थियो।
यो महामारिको समयमा स्यानिटाइजर अति आवश्यक वस्तु भएकाले नेपालमा अभाव हुन नदिन विभागले नेपालमै उत्पादन गर्न औषधि कम्पनीलाई आग्रह गरेको थियो।
मापदण्डअनुसार उत्पादन गर्न आग्रह
बजारमा विभिन्न प्रकारका ह्यान्ड स्यानिटाइजर उपलब्ध रहेकोमा कतिपय उत्पादनहरु तोकिएको मापदण्ड विपरीत समेत पाइएको विभागको ध्यानाकर्षण भएको छ।
अल्कोहल बेस इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजरको अल्कोहल कन्टेन्ट कम्तिमा ७०–८० प्रतिशत हुनुपर्ने विभागले बताएको छ।
स्यानिटाइजरमा प्रयोग हुने अल्कोहोलमा इथाइल अल्कोहल वा आइसोप्रोप्यानल अल्कोहल मात्र हुनुपर्ने व्यवस्था छ।
यससम्बन्धि मापदण्ड विभागको वेवसाइटमा राखिएकोे विभागले केही दिनअिघ सूचना जारी गरी जानकारी गराएको थियो।
तर, बजारमा मिथानोल समावेश भएको विषाक्त र अल्कोहल तोकिए वमोजिम नभएको विभागले सूचनामा उल्लेख गरेको थियो।
न्यून गुणस्तरका ह्यान्ड स्यानिटाइजर समेत विक्री वितरणमा रहेको देखिएकाले त्यस्ता स्यानिटाइजर विक्री वितरण नर्गन र नगराउन विभागको आग्रह छ।
विभागको वेवसाइटमा उल्लेखित विवरण लेवलमा एकिन गरेर मात्र खरिद र प्रयोग गर्न सम्पूर्ण उपभोक्ताहरुलाई सुचित गराइएको महानिर्देशक ढकालले जानकारी दिए।