सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड-१९ (कोरोनाभाईरस)को संक्रमण रोकथाम तथा उपचारमा सघाउने उद्देश्यले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
यी व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेका सेभ द चिल्ड्रेनले जानकारी दिएको छ।
"हाम्रो प्राथमिकता कोभिड-१९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकाहरुसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने रहेको छ । नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा सेभ द चिल्ड्रेन निरन्तर क्रियाशिल रहने, स्वाथ्यकर्मीहरूलाई जीवन बचाउका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउने र सहयोग गर्ने कार्यमा प्रतिबद्ध रहेको छ," सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले भनिन्।
सेभ द चिल्ड्रेनले थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को खरिद प्रक्रियामा पनि रहेको जानकारी दिएको छ।
योसँगै संस्थाले क्वारेन्टाइन केन्द्रहरु बनाउन सहयोग गर्ने, स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु उपलब्ध गराउने, स्वाब संकलनका बारेमा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मीहरुका लागि सहायक सामग्रीहरु जस्तै इन्फ्रारेड थर्मोमिटर, एन-९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसिजी मेसिन लगायत उपलब्ध गराइएको जानकारी दिएको छ।