कोरोना भाइरस संक्रमण जाँच्न मान्छेको स्वाबलाई प्रयोगशालासम्म लैजान आवश्यक पर्ने 'भिटिएम' को परीक्षण उत्पादन नेपालमै सुरू भएको छ।
वीरगन्जमा रहेको एभरेष्ट प्यारेटेन्टल्स प्रालिले भिटिएमको परीक्षण उत्पादन सुरू गरेको हो। कोरोना परीक्षण गर्न स्वाब संकलन गरेपछि त्यसलाई प्रयोगशाला लैजान भिटिएम प्रयोग गरिन्छ। स्वाबमा भाइरस छ भने त्यसलाई बिग्रन नदिन भिटिएम आवश्यक पर्छ।
कम्पनीले उत्पादन गरेको परीक्षण सफल भएपछि त्यसको जानकारी औषधि व्यवस्था विभागलाई गराएको र थर्ड पार्टी परीक्षणका लागि अन्यत्र पठाइएको एभरेष्ट प्यारेन्टेटल्सका वरिष्ठ फर्मासिस्ट विवेकसिंह महतले सेतोपाटीलाई बताए।
'विश्व स्वास्थ्य संगठनको नियमअनुसार विश्वसनियताका लागि थर्ड पार्टी परीक्षण गर्नुपर्छ। त्यसैले हामीले मान्यताप्राप्त ल्याबमा पठाएका छौ। हाम्रो परीक्षण सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौ', महतले भने, 'परीक्षण सफल भएपछि हामीले दैनिक १५ हजार भिटीएम उत्पादन गर्न सक्छौं। त्यसपछि नेपालले बाहिरबाट भिटिएम ल्याउनुपर्दैन।'
कोराना भाइरस संक्रमण भए-नभएको विश्वसनीय परीक्षण (पिसिआर) का लागि भिटिएम अत्यावश्क पर्छ।पिसिआर मेसिनको नेपालमा अभाव नभए पनि भिटिएम अभावका कारण पर्याप्त परीक्षण हुन सकिरहेको छैन।