के नेपालमा प्रतिदिन १० हजार पिसिआर गर्न सम्भव छ ? जसको उत्तर हो – छ।
अवश्य पनि छ।
तर त्यसको लागि वैज्ञानिक आधार, इच्छाशक्ति र व्यवस्थापनको आवश्यकता पर्छ।
आउनुहोस्, यस विषयमा छलफल गरौं:
१.भि.टि.एम (भाइरल ट्रान्सपोर्ट मिडियम) बाहिरबाट महँगोमा किनेर ल्याउन आवश्यक छैन। भिटिएम आफैं बनाउन सकिन्छ। नेपालको एभरेष्ट फर्मास्युटिकल्स कम्पनीले बनाएको पनि छ। नर्मल सेलिनबाट आफैं पनि सरकारले उत्पादन गर्न सक्छ। यसले गर्दा मुलुकमा भिटिएमको अभाव हुँदैन।
२. नेपालमा कहिलेकाहीँ स्वाब लिने स्टिकको कमीले परीक्षण रोकिन्छ। त्यसको पनि समाधान छ।
३.नेपालमा रहेका थ्रिडी प्रिन्टिङ ल्याबबाट आफैं पनि स्वाब स्टिक बनाउन सकिन्छ र बनिरहेका पनि छन्। अझ, ‘गार्मेन्ट इन्डष्ट्री’लाई यसको जिम्मा दिएको खण्डमा भि.टि.एम निकै ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ।
४.डाइरेक्ट पिसिआर विधिको प्रयोगलाई भ्यालिडेट गरियो भने पिसिआर एक्स्ट्रयाक्सनमा लाग्ने ८–१० घण्टाको सामय बचाउन सकिन्छ।
५.डाइरेक्ट पिसिआर विधिको प्रयोग नहुँदासम्म र भविष्यलाई पनि ध्यानमा राखेर हामीले अटोमेटेड एक्सट्रयाक्सन मेसिन किन्नुपर्छ। जसमा सरकारले पनि तयारी गरेको सुनिन्छ।
६.पुलिङ (१:५) भनेको ५ वटा स्याम्पललाई एकैचोटि चेक गर्नु हो। एनपिएचएलमा गरिएको कुरालाई हरेक पिसिआर ल्याबमा गराउनु पर्यो। यसको आफ्नै चुनौती नभएका होइनन् जस्तै कसैको पोजेटिभ रेट ५ प्रतिशत भन्दा बढी आउन थालेमा, यो गर्नु उचित हुँदैन।
७.पिसिआर ल्याबमा जनशक्तिको उचित व्यवस्थापन गरियो भने परीक्षण २४ घण्टा नै गर्न सकिन्छ। त्यसको लागि ३ सिफ्ट मा टोली बनाउन सकिन्छ।
८.ल्याब क्षेत्रमा एक किसिमको सिन्डिकेट देखिन्छ। त्रिभुवन युनिभर्सिटीबाट (टि.यु) डिग्री पाएका आइओएम अन्तर्गतका माइक्रोबायोलोजिस्टले लाइसेन्स पाउँछन्। साइन्स टेक्नोलोजिस्ट अन्तर्गतका माइक्रोबायोलोजिस्ट, बायोटेक्नोलोजी इन्जिनियर्स (जसले पिसिआर किट्स बनाउँछन्) ले पिसिआर गर्न पाउँदै पाउँदैनन्। जसकारण हाम्रो जनशक्ति बेरोजगार भएका छन् भने कतिपय विदेश पलायन भएका छन्। यो हाम्रो लागि दुर्भाग्यको कुरा हो। यसको तुरुन्त समाधान गरिनु पर्छ।
९.क्षयरोग (टि.बी)को टेष्ट गर्ने जिनएक्सपर्ट ल्याब नेपालमा एक सयभन्दा बढी ठाउँमा छन्। यो ल्याबमा कोभिड–१९ को परीक्षण गर्न सकिन्छ।
१०.कोभिड–१९ परीक्षण गर्ने किट भने अमेरिकाले निर्यात नगर्ने नीतिका कारण ल्याउन असम्भव देखिन्छ। तर, अमेरिकन राजदूतावास अन्तर्गतका जिनएक्सपर्ट ल्याबमा सरकारले पहल गरेमा ल्याउन सकिन्छ कि भन्ने झिनो आशा छ।
११.जिनएक्सपर्ट जस्तै भारतमा बनेको ट्रिउन्याट पिसिआर किट ल्याउन पहल गर्न सकिन्छ। तर वर्तमान अन्तरदेशीय राजनीतिक परिस्थितिले यो असम्भव देखिन्छ।
१२.पिसिआर ल्याबलाई डिजिटलाइज गरियो भने त्यसको रन टाइम, ग्राफ र सिटी भ्यालु हेरेर विज्ञले संसारको जुनसुकै ठाउँबाट पनि सही रिपोर्ट दिनसक्छ। त्यसो गर्नाले समय र स्रोतको मात्र होइन, गलत रिर्पोट प्रकाशित हुनबाट पनि बच्न सकिन्छ।
हरेक पिसिआर ल्याब लाई दिनहुँ एउटा टार्गेट दिएर प्रत्येक दिन अनलाइन अनुगमन गर्न सकियो भने सबै ल्याबको अधिकतम कार्य समापन हुनसक्छ।
महामारीको अवस्थामा सरकारी संयन्त्रले मात्र सक्दैनन् भन्ने बुझेर अन्तत: गैरसरकारी संस्थाले पनि पिसिआर टेस्ट गर्न खुला गरिरहेको छ। जुन स्वागतयोग्य छ। आशा गरौं, गैरसरकारी संस्थाले पनि यसलाई नाफामूलक अवसरभन्दा पनि सेवामूलक उत्तरदायित्वको रूपमा लिनेछन्।
अन्तमा, हामीले कति पिसिआर गर्नुपर्छ भन्ने प्रश्न सधैं आइरहन्छ। वैज्ञानिक हिसाबले दैनिक केस डिटेक्सन रेटभन्दा ३३ गुणाले परीक्षण गर्नुपर्छ। त्यो सकिएन भने, कुनै पनि समुदायको २–३ प्रतिशतलाई गर्नुपर्छ। तर सबैलाई गर्न नसकिने कारणले यसलाई सामान्यता यसप्रकारले प्राथमिकता दिइन्छः रोगको लक्षण भएका बिरामी लक्षण नभएको तर बिरामीको उपचारमा संलग्न, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक , वा सुरक्षा अधिकारी क्वारेन्टाइनमा रहेका व्यक्ति (५ जनाको स्याम्पल लिएर गरिने परीक्षण) गर्न सकिन्छ। यदि त्यो स्थिति नभएमा इलाइजा (ELISA) गर्न सकिन्छ।)
हामीले पिसिआर टेस्ट कति मात्रामा र को–कसलाई गर्ने भन्ने अनुमान गर्न सक्छौं। जुन देशको महामारी कुन तहमा छ र देशको पिसिआर किट्स कुन रूपमा उपलब्ध छ? त्यो आधारमा भरपर्छ। त्यसर्थ, यस सम्बन्धमा इपिडिमियोलोजिस्ट , चिकित्सक र ल्याब विज्ञहरूको निरन्तरको आपसी अन्तर्क्रिया हुनु जरुरी छ र समयअनुसार परिमार्जित गर्दै लानुपर्छ।
(डा. अधिकारी, संक्रमण रोग तथा आई.सि.यू विशेषज्ञ हुन् भने डा. गौतम पिसिआर एक्सपर्टिज हुन्।)