नेपालमा भेन्टीलेटर लगायत अन्य स्वास्थ्य उपकरणको अभावले कोरोना भाइरससँगको युद्ध लड्न कठिन हुने अवस्था आंकलन गरिएको छ।
यसकारण भविष्यमा हुनसक्ने जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी भेन्टीलेटर बैंकको “नेपाल भेन्टीलेटर सर्भिस” नामक परोपकारी संस्था संस्थापना गरिएकाे छ।
परोपकारी संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उद्देश्य नेपालमा भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने हो।
साथै दुरदराजका अस्पतालहरु सम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको छ।
यस संस्थाले नेपालका सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा भेन्टिलेटर लगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने बताएको छ।
कोभिड -१९ महामारीको अवस्थामा नेपाल सरकार संगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्न सकिने गरी संस्थाले समन्वय गर्दै छ।
यस संस्थाले नेपालका औद्योगिक तथा व्यवसायिक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ संस्था लगायतका व्यक्तिहरुलाई संस्थाको उद्देश्य पुरा गर्न हातेमालो गर्न आग्रह गर्ने बताएको छ। र एउटा कोष खडा गरी सो कोषमा जम्मा भएको रकमलाई भेन्टीलेटर खरिद गर्न, भेन्टीलेटरको मर्मत सम्मार गर्न खर्च गर्ने बताइएको छ।
संस्थाको संस्थापना पूर्व नै यसले थालेको सार्वजनिक उपयोगिता, परोपकारी र कल्याणकारी कार्यको सरहाना गरी विभिन्न संघ, संस्था र व्यक्त्तिहरुले भेन्टीलेटरहरु लगायत नगद सहयोग गरेका छन्। धेरैले सहयोग गर्ने प्रतिबद्दता जनाएका छन्।
हाल यस संस्थासँग कोभिड-१९को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टीलेटरहरु सहित, हाइफ्लो न्याजल क्यनुला,बाइप्याप, लगायतका ३० वटा उपकरणहरु जम्मा भैसकेका छन्।
कोभिड-१९ उपचारको लागि संसारभर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजल क्यनुला नेपालमै पहिलो पटक यस संस्थाले उपलब्ध गराउने भएको छ।
कम्पनीले थप उपकरणहरुको खरिद प्रक्रिया सुचारु गरिसकेको जानकारी गराएको छ।
संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुचारु गरिसकेको छ। यस संस्थाले भविष्यमा तिनै तहका सरकारसँग समन्वय गरी नेपालमा भेन्टीलेटरको संचालन र व्यवस्थापन गर्ने उदेश्य राखेको छ।
कम्पनीले हाल प्रदेश नं ३ मा भेन्टीलेटरलाई केन्द्रिकित गर्ने र कालान्तरमा नेपालका सातैवटा प्रदेशमा शाखा विस्तार गरी सो प्रदेशलाई आवश्यक भेन्टीलेटर सोही प्रदेशकै शाखाबाट उपलब्ध गराउने सस्थाको भनाइ छ।