खोपको महत्व त सबैलाई थाहा छ। तर यीभन्दा अगाडिको खोप स्तनपान हो। स्तनपानले बच्चाहरूलाई धेरै रोगबाट बचाउँछ। यो मात्रै एउटा यस्तो रोकथाम हो, जसले बालमृत्युदर एकदमै घटाउँछ। आमाको दूधले बालमृत्युदर २२ प्रतिशतसम्म कम भएको अनुसन्धानहरूले देखाएका छन्।
स्तनपानले बालबच्चाको बौद्धिक विकासमा अहम भूमिका खेल्छ। यो प्रकृतिले दिएको वरदान नै हो। बच्चालाई पखाला लागेका बेलामा जीवनजल र अरू खानेकुराभन्दा आमाको दूध नै शक्तिशाली हुन्छ। यसले रोगसँग लड्ने क्षमता बढाउँछ।
नेपालको सन्दर्भमा, तीनदेखि चार वर्षका झन्डै ४० प्रतिशत बच्चाको वृद्धि-विकास जति मात्रामा हुनपर्ने हो, त्यति नभएको पाइएको छ। बच्चाको बौद्धिकता विकासका निम्ति आमाको साक्षरता र स्तनपानले ठूलो भूमिका खेल्ने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरेका छन्।
सन् २०१६ मा गरिएको एक अध्ययनका अनुसार ५५ प्रतिशत बच्चाले जन्मेको एक घन्टाभित्रै आमाको दूध खान पाएका छन्। त्यस्तै ६६ प्रतिशत बच्चाले मात्र ६ महिना हुँदासम्म आमाको दूध खान पाएका छन्। जबकि, सन् २०११ मा ६ महिनासम्म आमाको दूध मात्रै खाने बच्चा ७० प्रतिशत थिए।
यो त राष्ट्रियस्तरको तथ्यांक मात्रै हो।
हामीले भक्तपुरका घर-घर गएर समेत अनुसन्धान गरेका थियौं। प्रत्येक साता त्यहाँका आमालाई सोध्दा आफ्नो दूध मात्रै ६ महिनासम्म खुवाउनेहरू १२ प्रतिशत मात्रै भेटेका थियौं। यसबाट थाहा पाउन सकिन्छ, स्तनपानको अवस्था कस्तो छ।
धेरैलाई लाग्छ, बच्चा शल्यक्रिया (सिजरिङ) बाट जन्मिएको छ भने आमालाई स्तनपान गराउन कठिन हुन्छ। यो एउटा धारणा मात्रै हो। शल्यक्रिया गरिएको अवस्थामा पनि केही विशेष तरिकाहरू बुझेर र अपनाएर स्तनपान गराउन खास समस्या हुँदैन। आमाहरूलाई कुनै रोग भएमा वा शल्यक्रियाको घाउले अलि बढी दुःख दिएको छ भने मात्रै दूध कम आउन सक्छ।
हाम्रो समाजमा स्तनपान सम्बन्धी धेरै भ्रम पनि छन्। यस्तै एउटा भ्रम सुत्केरीको दूध नआउने भन्ने हो। कुनै जटिलता नभएकाे भए सामान्य अवस्थामा यस्तो हुँदैन। दूध नआउनुमा शारीरिक भन्दा मानसिक कारण हावी हुन्छ।
कुनै आमाले दूध आउँदैन भनेर सोचिन् भने त्यो सोचको प्रभाव र तनावले शरीरमा आवश्यक हर्मोन उत्पादन हुन दिँदैन। अनि दूध कम गराउँछ। त्यसैले दूध आउँदैन भन्ने सोच राख्नुहुँदैन। मेराे बच्चालाई पुग्ने दूध आउँछ भन्ने सोच राख्यो भने धेरै हदसम्म यो समस्या समाधान हुन्छ। यसका लागि बारेमा स्वास्थ्य संस्थामा गएर स्तनपानबारे जानकारी लिँदा हुन्छ।
यो चिज खाएर, त्यो चिज खाएर दूध आउने वा नआउने भन्ने हुँदैन। जस्तो हामीकहाँ ज्वानो वा यसको झोल खायो भने आउँछ भन्ने मान्यता छ। ज्वानो खुवाउनु गलत होइन। यसले तागत दिन्छ। तर दूध आउने-नआउने प्रक्रियामा यसको प्रत्यक्ष भूमिका हुँदैन। यो एउटा मानसिक सहयोग मात्रै हो। यसले दूध आउँछ भन्ने सकरात्मक सोच ल्याउँछ । यो सोचले आवश्यक हर्मोन उत्पादनमा सघाएपछि दूध बढिनैहाल्छ।
अर्को कुरा, बच्चालाई आमाको दूधले पुग्दैन भन्नेहरू पनि छ। यस्तो सोच्नेहरूले विज्ञापन गरिएका अनेकथरि विकल्पहरूको भर परेको हामीले देखेका छौं। विज्ञापनहरूले हामीलाई बहकाउँछन् पनि। यो गलत हो। सामान्यतया ९९ प्रतिशत आमाको दूधले नै बच्चाको खानकी पुग्छ।
कति आमाले दुई-दुई घन्टामा दूध खुवाउनुपर्छ भनेर खुवाइरहेको पनि पाइन्छ। तर त्यसो गर्न जरुरी छैन। भर्खरै जन्मेको बच्चाले पनि रोएर वा चलमलाएर भोक लागेको संकेत दिन्छ। आमाको दूध मात्रै खाँदा बच्चाले एक दिनमा ६ पटक पिसाब फेरेको छ भने उसलाई खानकी पुगेको मानिन्छ।
त्यस्तै उसको तौल महिनामा कम्तिमा पाँच सय ग्राम (आधा किलो) बढेको छ भने पनि आमाको दूधले पुगेको मान्न सकिन्छ। बच्चालाई छ महिनासम्म आमाको दूध मात्रै खुवाउन सकिन्छ। तर बच्चाले खान खोज्दासम्म दूध खुवाउनु राम्रो हो। कोही बच्चाले एक-डेढ वर्षमै दूध नखान सक्छन् भने कसैले दुई वर्ष पछाडिसम्म पनि खाइरहन्छन्। यसको खास सीमा हुँदैन।
आजकालका धेरै आमाहरू शरीर बिग्रिन्छ कि भनेर दूध कम खुवाउने पनि गर्छन्। यो गलत धारणा र ठीक उल्टो हो।
सामान्यतया, गर्भवती भएपछि शरीरमा बोसो जम्न थाल्छ। सुत्केरी अवस्थासम्म त झनै बढिसकेको हुन्छ। यो बोसो कम गर्ने प्रभावकारी उपाय नै स्तनपान गराउनु हो। स्तनपान गराउँदा शरीरमा जम्मा भएको बोसो पगालेर दूधमा परिणत भएर जान्छ। त्यसैले स्तनपानले मोटोपन कम गर्न सघाउँछ। स्तनपान गराउने आमाभन्दा नगराउनेहरू मोटोपनको समस्या बढी देखिएको अनुसन्धानहरूले पनि प्रमाणित गरिसकेका छन्।
अर्को मुख्य कुरा, स्तनपानले आमाहरूमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट पनि बचाइरहेको हुन्छ।
यी सबैको अर्थ यही हो, स्तनपान गराउँदा आमा र बच्चा दुवैलाई धेरै फाइदा हुन्छ। यसको बेफाइदा अहिलेसम्म देखिएकै छैन।
तर पछिल्लो समय आमाहरूको व्यस्तता र बजारका 'दूध' को भर पर्ने प्रवृत्तिले बच्चा र आमा दुवैलाई नोक्सान पुर्याइरहेको छ। स्तनपानलाई बढवा दिन जनचेतना जरुरी छ।
यसका लागि सबभन्दा बढी पारिवारिक साथ चाहिन्छ। अस्पताल र स्वास्थ्य संस्थामा स्तनपान सिकाउने जनशक्ति राख्न जरुरी छ। स्तनपानका लागि आमाको अवस्था हेरेर केही विशेष तरिका निर्धारण गरिएका हुन्छन्। यो जानेन भने पनि समस्या आउँछ।
विशेषगरी पहिलोपटक आमा भएकाहरूलाई राम्रोसँग सिकाउन नसक्दा हामी चुकेका छौं। अहिले धेरै आमाहरू काममा जान्छन्। फुर्सद नभएपछि स्तनपान गराउन सक्दिनँ कि भन्ने चिन्ता छ। जबकि स्तनपातन भनेको सिधै स्तनबाट मात्रै दूध खुवाउने होइन। आवश्यकताअनुसार दूध संकलन गरेर पनि खुवाउन सकिन्छ।
यसका निम्ति कसरी संकलन, भण्डारण गर्ने र कति समयसम्म खुवाउन मिल्छ भन्ने लगायतका कुरा जान्न आवश्यक छ। स्वास्थ्य संस्था वा सम्बन्धित चिकित्सकसँग यसबारे बुझ्न सकिन्छ।
बच्चाले खान खोजुञ्जेल दूध खुवाउनुपर्छ। हामी बच्चालाई ६ महिनासम्म आमाको दूध भरपूर खुवाउने भन्छौं। तर हाम्रा कामकाजी महिलालाई यो सम्भव छैन। हामीकहाँ सुत्केरी विदा तीन महिना मात्र छ। यसले गर्दा बाँकीका तीन महिना बच्चालाई पर्याप्त दूध खुवाउन धेरै आमालाई कठिन भएको छ। यसले गर्दा पनि धेरैले बजारिया दूधलाई विकल्प मान्ने गरेका छन्।
बंगलादेशमा सुत्केरी विदा ६ महिना दिइन्छ। भारतका पनि कतिपय राज्यमा यही व्यवस्था छ। त्यसैले स्तनपानलाई बढवा दिने हो भने सुत्केरी विदामा पनि सोच्नुपर्ने हुन्छ।
(बालरोग विशेषज्ञ डा. मेरिना श्रेष्ठ शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत छिन्)
उसो भए कसरी गराउने त स्तनपान?
सुशीला अधिकारी, पेडियाट्रिक्स नर्स
आमा सिधा र सहज भएर बस्ने/सुत्ने र बच्चालाई पनि सिधा गरी समात्ने। बच्चाको मुख आमाको दूधको अगाडि पार्ने। सिधा गरेरै नजिक ल्याउने र 'सी' आकारले (कैंची आकारले होइन) समातेर स्तनको कालो भाग पूरै बच्चाको मुखमा पार्नुपर्छ। अलिकति टुप्पो वा आधा कालो भाग मात्र बच्चाको मुखमा छिराउँदा दूध तान्न समस्या हुन्छ।
दूध खाँदा बच्चाको ओठ तलतिर फर्केको हुनुपर्छ र मुख ठूलो हुनुपर्छ। यस्तो बेला आमाले बच्चालाई नजिकै राखेर राम्ररी समातेको हुनुपर्छ जसले गर्दा बच्चालाई दूध खान सहज हुन्छ।
जब स्तनको कालो भाग बच्चाको मुखमा पर्छ, उसले मुख आँ गर्छ। तर बच्चाले दूध खाइरहेको छैन भने ऊ रुन्छ। बच्चाले जुन स्वाद सुरूमा लिएको छ त्यो स्वाद नै उसले खोज्छ। त्यस्तो बेलामा दूध खुवाउन धेरै नै बल गर्नुपर्छ। बच्चा रुन्छ, मान्दैन। तर आमाको र बच्चाको बसाइ र अवस्था मिल्यो भने उसले राम्रोसँग दूध खान्छ।
कामकाजी महिलाले आफ्नो दूध निकालेर राख्न केही तरिका अपनाउनुपर्छ।
स्तनको कालो भागबाट माथि चार वटा औंलाले थिच्ने र बुढी औंलाले पछाडि थिचेर आफैं दूध निकाल्न सकिन्छ। एउटा दूध खुवाउँदै गर्दा अर्कोपट्टिबाट निकाल्न पनि सकिन्छ।
यसरी निकालिएको दूध ठूलो मुख भएको सफा (तातो पानीमा उमालिएको) बट्टामा ठूलै भाँडोले छोपेर राख्नुपर्छ। यस्तो बट्टालाई तातो पानीमा डुबाएर मन तातो बनाएर सकिन्छ। सिधै तताएर खुवाउनु हुँदैन। सामान्य कोठाको तापक्रममा यस्तो दूध आठ घण्टासम्म राख्न सकिन्छ। यसबीचमा आवश्यकताअनुसार खुवाउन सकिन्छ।
फ्रिजमा राख्नुपर्यो भने २४ घण्टासम्म राख्न सकिन्छ।
(पेडियाट्रिक्स नर्स सुशीला अधिकारी, शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत छिन्)
(स्तनपान सप्ताहको अवसरमा एक वर्षअघि प्रकाशित यो लेख आज पुन:प्रकाशित गरेका छौं।-सम्पादक)