सेन्चुरी बैंकले आफ्ना सबै एटिएम बुथमा स्यानिटाइजर राखेको छ। आफ्ना ग्राहकलाई कोभिड–१९ बाट जोगाउन बैंकले सुरुआती दिनदेखि नै बजारमा पाएसम्म सेनिटाइजर एटिएम बुथमा राखेको बतायो।
‘हामीले ब्रान्चहरुमा त अनिवार्य मास्क, तापक्रम नाप्ने, सेनिटाइजर लगायत कुरामा पहिलो प्राथमिकता दिएका छौं। एटिएम बुथमा पनि लकडाउनदेखि नै सेनिटाइजर राख्यौ,’ बैंकका एक कर्मचारीले भने।
धेरै मान्छेले प्रयोग गर्ने हुँदा एटिएम बुथ संक्रमणको उच्च जोखिममा हुने संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीले बताए।
‘संक्रमितले प्रयोग गरेको एटिएममा अर्को व्यक्तीले छुँदा संक्रमण सर्न सक्छ। त्यस्तै संक्रमितले खोक्दा, हाच्छिउ गर्दा हावामा केहिबेर रहन सक्छ र अर्को व्यक्ति बुथमा मास्क नलगाई जादा संक्रमण हुनसक्छ,’ उनले भने।
एटिएम प्रयोगकर्ता सचेत भए यस्ता जोखिमबाट बच्न सकिने सुवेदीले बताए। कोरोना भइरस आफूबाट अरुलाई र अरुबाट आफूलाई सार्नबाट जोगिन मास्क अनिवार्य रुपमा लगाउनुपर्ने उनले सुझाब दिए।
‘संक्रमितले खोक्दा, हाच्छिउ गर्दा हावामा भाइरस रहनसक्ने हुँदा सकेसम्म एकजनाले एटिएम प्रयोग गरेको केहीबेर ढोका खुल्ला राख्दा राम्रो हुन्छ’ उनले भने ‘ त्यस्तै एटिएममा छिरेपछि बटम दबाउनु भन्दा पहिले र एटिएम प्रयोग गरिसकेपछि आफ्नो हात सेनिटाइज गरेमा कोरोना भाइरस आफूवाट अरुलाई र अरुबाट आफूमा सर्ने सम्भावना न्यून रहन्छ।’