फोटोनको नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले नेगेटिभ प्रेसर एम्बुलेन्स ल्याउने तयारी थालेको छ।
नेपालमा कोरोना संक्रमण दैनिक रुपमा बढ्दै गइरहेको र फोटोनले यस्ता एम्बुलेन्स बनाएर अन्य देशमा संचालनमा समेत ल्याइसकेकोले एमएडब्लुले पनि नेपाल भित्राउन लागेको हो।
चीनको वुहानबाट जब कोरोना ‘आउटब्रेक’भएपछि चिनियाँ सरकारले त्यहाँका १० वटा मुख्य अटोमेकर र दुई वटा मेडिकल उपकरण उत्पादकलाई विशेषखाले एम्बुलेन्सको उत्पादन गर्न आग्रह गरेको थियो।
त्यही विशेष एम्बुलेन्सलाई एम्बुलेन्स ‘नेगेटिभ प्रेसर एम्बुलेन्स’ भनिन्छ। यसले कोरोनाका बिरामीलाई सुरक्षित रुपमा संक्रमण नफैलाइकन अस्पताल लग्न मद्दत गर्छ।
नेगेटिभ प्रेसर एम्बुलेन्सबारे जान्नुअघि नेगेटिभ प्रेसर भनेको के हो त्यो बुझ्न जरुरी छ।
‘आइसोलेसन’ भन्नाले त्यस्ता कोठा वा युनिट जहाँ संक्रमित हावाको दिशा बदल्ने काम (रिरुट) गरिन्छ ताकि अन्य बिरामी वा अस्पतालका कर्मचारीसम्म त्यो हावा नपुगोस्।
यसका लागि सामान्यतया निगेभिट प्रेसर रुम बनाइन्छ जहाँको तल्लो वायु चापका कारण बाहिरबाट हावा भित्र त जान्छ तर त्यो कोठाबाट निस्कने हावालाई फिल्टरका माध्यमबाट मात्र बाहिर पठाइन्छ।
त्यसैगरी, पोजिटिभ प्रेसर रुममा चाहिँ उच्च वायु चाप कायम गरिन्छ। यहाँ सफा छानिएको हावा पम्प गरेर भित्र पठाइन्छ।
यस्ता रुमहरु विशेषगरी कम प्रतिरक्षा प्रणाली भएका बिरामीका लागि प्रयोग गरिन्छ भने नेगेटिभ प्रेसर रुम संक्रमण फैलनबाट रोक्न प्रयोग गरिन्छ ताकि ताप, भेन्टिलेसन वा एअर कन्डिसनका माध्यमबाट संक्रामक किटाणु बाहिर नफैलियोस्।
अस्पताल र त्यहाँका कर्मचारीका लागि कोरोनाका बिरामीको व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण काम हो। बिरामीलाई अस्पताल पुर्याउँदा होस् या कोरोनासँग हारिसकेका मृत व्यक्तिलाई अन्तिम संस्कारका लागि लग्नु निकै कठिन कार्य हो।
यहिँ सिद्धान्तमा आधारित रहेर नेगेभिट प्रेसर एम्बुलेन्सको निर्माण गरिएको हुन्छ। यस्ता एम्बुलेन्समा विशेष उपकरणहरु हुन्छ जसले कोरोनाजस्ता संक्रामक रोग भएको बिरामीलाई सुरक्षित रुपमा उपचार गर्न वा अन्यत्र लान सहयोग गर्छ। यस्ता एम्बुलेन्सको मुख्य विशेषता भनेको नेगेटिभ प्रेसर फिल्टरिङ र डिस्इन्फेक्ट सिस्टम हो।
यसले एम्बुलेन्सभित्र नेगेटिभ प्रेसर जोन निर्माण गर्छ र यहाँबाट निस्कने हावालाई फिल्टर गरिन्छ ताकि संक्रमण बाहिर नफैलियोस्। यसबाट रोग मेडिकल स्टाफमा फैलने सम्भावना कम हुन्छ।
नेगेटिभ प्रेसर एम्बुलेन्समा भेन्टिलेटर, एईडी, ईसीजी मोनिटर जस्ता अत्याधुनिक मेडिकल उपकहरणहरु, अल्ट्राभायलेट स्यानिटाइजिङ ल्याम्प, रेस्पिरेटर, डिफाइब्रिलेटरसहित कम्प्लिट रेस्क्यु इक्विपम्न्ट हुन्छ। त्यसैले यस्ता एम्बुलेन्सहरुलाई ‘मोबाइल एन९५ मास्क’ पनि भनिन्छ।