कोरोना कहरकै बीचमा दादुरा रुबेला खोप अभियान सम्पन्न भएको छ।
दुई चरणमा सम्पन्न अभियान लक्ष्यभन्दा धेरै कभरेजसहित सम्पन्न भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए।
विश्व नै कोरोना महामारीले आक्रान्त भएर विभिन्न क्षेत्रमा व्यापक असर पारिरेहको अवस्थामा दादुरा रुबेला खोप अभियानमा लक्ष्यभन्दा १५ हजार ५०० बढी बालबालिकालाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको तथ्यांकमा उल्लेख छ।
९ महिनादेखि ५ वर्ष मुनिका २५ लाख ४८ हजार ३३६ बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ विभागले अभियान सुरु भएको थियो। अभियानमा कुल २५ लाख ६३ हजार ८१० जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जानकारी दिएको छ।
यसमा पहिलो चरण फागुन १ देखि ३० सम्म प्रदेश १, २ र ५ मा खोप लगाइएको थियो। त्यस्तै दोस्रो चरण चैत १ देखि ३० सम्म सुरु गर्ने योजना भएपनि लकडाउनका कारण २०७७ को असार २३ गतेसम्म लम्बिएको थियो।
प्रदेश १ मा ४ लाख १४ हजार ६९४, प्रदेश २ मा ७ लाख १७ हजार २४३, बागमती प्रदेशमा ४ लाख ५ हजार ३१८ र गण्डकी प्रदेशमा १ लाख ८३ हजार ४७३ बालबालिकाले खोप पाएका छन् । त्यसैगरी कर्णाली प्रदेशमा १ लाख ६० हजार ८४८ र प्रदेश ५ मा ४ लाख ४९ हजार ५०९ र सुदूरपश्चिममा २ लाख ३२ हजार ७२५ बालबालिकाले खोप लगाएका स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ।
परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले असहज परिस्थितिका बाबजुद सरकारले लागू गरेको सुरक्षा मापढण्ड अपनाई लक्ष्य अनुसार खोप कार्यक्रम सम्पन्न गर्न सफल भएको बताए ।
अभियानमा ९ हजार स्वास्थ्यकर्मी, १ लाख स्वयमसेवक, ५ हजार सुपरभाइजर सहभागी भएका थिए। यो अभियानमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत जनचेतना अभिवृद्धि तथा प्रचार प्रसारमा सहभागिता जनाएको थियो।
दादुरा रुबेला खोप अभियानमा तराईका १९ जिल्लामा पोलियो थोपा पनि खुवाइएको गौतमले जानकारी दिए। १६ लाख ३७ हजार २६५ बालबालिकालाई थोपा खुवाइएको उनले बताए।
नेपालमा पहिलोपटक सन् २००४ देखि दादुरा रुबेला खोप सञ्चालन भएको थियो । त्यस यता प्रत्येक ४/४ वर्षमा खोप अभियान हुँदै आएको छ । सन् २००४ मा लक्ष्यको १०४ प्रतिशत, २००८ मा ९३ प्रतिशत, २०१२ मा १०१ प्रतिशत, २०१५ मा १४ भूकम्प प्रभावित जिल्लामा ९१ र २०१६ मा बाँकी ६१ वटा जिल्लामा १०१ प्रतिशत बालबालिकाले खोप पाएका थिए।
सन् २०१९ मा नेपालबाट दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिए पनि बालबालिकाहरु दादुरा रुबेला खोपबाट छुटेपछि लक्ष्य पूरा भएको थिएन। अब सरकारले सन् २०२३ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य लिएको छ।