मानिसको जन्मसँगै प्रकृतिक रूपमा हाम्रो आँखाको भित्री भागमा हुने पारदर्शी लेन्सले उमेर बढ्दै जाँदा विस्तारै काम गर्न छोड्छ। यसरी आँखाको भित्री भागमा हुने पारदर्शीता लेन्स अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु वा कुनै कुरा छुट्याउन गाह्रो भएमा मोतिबिन्दुको समस्या हुन्छ।
जस्तै: क्यामराको लेन्स भनेजस्तै हाम्रो आँखामा पनि प्रकृतिक एउटा लेन्स हुन्छ। त्यो लेन्स पारदर्शी हुन्छ। पारदर्शी भन्नाले कुनै दाग नभएको बेरङ्ग हुन्छ। त्यसको काम बहिरबाट आएको प्रकाश छिर्न दिनु हो।
लेन्समा यदि दाग भयो, कलर हुँदै आयो अथवा बाक्लो हुँदै आयो भने त्यसलाई नै मोतिबिन्दु भनिन्छ। तर, कहिलेकाहीँ दुर्घटना वा विकीरणको प्रभावमा परेर, जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रियाका कारण पनि यो समस्या देखापर्ने गर्दछ।
जुनसुकै उमेरका मानिसमा मोतिबिन्दुको समस्या देखिन सक्छ। तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना बढी भएको पाइन्छ।
तर, वंशाणुगत रुपमा पनि यो रोगले सताउने कारण जन्मजात मोतिबिन्दुको समस्या देखिन सक्छ।
आँखामा जथाभावी औषधी प्रयोग गर्दा पनि मोतिबिन्दु हुन सक्छ। धूमपान र मदिरापान धेरै गर्ने तथा लामो समयसम्म घामको संसर्गमा रहने व्यक्तिलाई पनि मोतिबिन्दु हुने खतरा रहन्छ।
यो रोग लागेको बेलामा प्रोटिनका स-साना टुक्रा वा पहेंला, खैरा रङ्गका कणहरूले लेन्समा जम्मा भएर आँखामा छिरेको प्रकाशलाई पछाडिको भागमा रहेको रेटिनासम्म पूर्ण रूपमा प्रसारण हुन दिँदैन।
मोतिबिन्दु लाग्नुको कारणहरु?
- मधुमेह तथा हाइपरटेन्सनजस्ता रोगका कारण
- ९९ प्रतिशत कारण बढ्दो उमेर
- आँखामा देखा पर्ने रोग जस्तै: जलबिन्दु
- पोषण तत्वको कमी
- चिनी रोग
- जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रिया
- वंशाणुगत कारण
- बच्चा जन्मनु भन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सनको कारण
- चोटपटक लागेर
- घामको विकीरणले गर्दा
- आँखाको पानीको खराबी
- धूमपानका कारण।
मोतिबिन्दुका लक्षणहरू
- दृष्टि धमिलो भएर जाने
- उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने
- एउटै वस्तु आँखाले दुई वा सो भन्दा बढी देख्ने
- आँखाको नानीभित्र सेतो देखिने
- अँध्यारोमा झन् कम देख्ने
- चश्माको पावरमा परिवर्तन आइरहने
- रंगहरू फरक देखिन थाल्ने
- राति आँखा नदेख्ने
- सवारी साधन चलाउन, पुस्तकहरू पढ्न वा मानिसको अनुहार पहिचान गर्न समस्या हुने।
मोतिबिन्दुको रोकथाम तथा उपचारकसरी गर्ने?
- बाहिर हिँड्दा अथवा घाममा हिँड्दा घामबाट बच्न चश्मा (सनग्लासेस) लगाउने
- धूमपानबाट अथवा निकोटिन वा सूर्तीजन्य पदार्थ सेवन नगर्ने
- पोषिलो खाना, सागसब्जी, तथा फलफूलको नियमित सेवन गर्ने
- आँखाको नियमित अथवा समय समयमा परीक्षण गर्ने
- मोबाइल कम्प्युटरको सीमित मात्रामा मात्र प्रयोग गर्ने
- डाक्टरको सल्लाहबिना औषधी प्रयोग नगर्ने।
- उपचार
मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधीले ठीक हुँदैन। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ।
शल्यक्रिया भनेको पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने हो। आँखामा रहेको लेन्सलाई ढाक्ने र झिल्ली सानो प्वाल पारेर लेन्स निकालिन्छ। यो सानो तर सुरक्षित शल्यक्रिया हो। मोतिबिन्दुको कारण आँखाको दृष्टिमा समस्या भएमा शल्यक्रियाबाट पूर्ण रूपमा ठिक हुन सक्छ।
(लेखिका अञ्चल विश्वविद्यालय गुडगाउँ भारतमा बी अप्टोमेट्री अध्ययनरत् छिन्)