सेभ द चिल्ड्रनले नेपाल सरकारलाई सात ओटा भेन्टिलेटर सहयोग गरेको छ।
संस्थाले ग्लोबल फन्ड परियोजना मार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो। यी भेन्टिलेटरको मूल्य पौने दुई करोड पर्ने संस्थाले जानकारी दिएको छ।
सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फण्ड प्रोजेक्टले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सात ओटा भेन्टिलेटर हस्तान्तरण गरेको थियो।
ग्लोबल फण्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेस मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वष्ठि विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए।
‘आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथामको प्रयासलाई थप बलियो बनाउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं । यी भेन्टिलेटर खासगरी महिला तथा बालबालिका र पिछडिएको समूदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ’ सेभ द चिल्ड्रनका निमित्त डेपुटी राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले भने।
यसैबीच कोभिड–१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन) पनि उपलब्ध गराएको छ । यसका साथै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको छ ।