औषधि व्यवस्था विभागले अहिले देशभरि नै अत्यावश्यकीय औषधिहरूको अभाव नरहेको जनाएको छ।
तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरू समयमा ढुवानी हुन नसक्दा समस्या देखिए पनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाइ छ।
अहिले देशका कुनै पनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए।
नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरू आउनेक्रममा केही ढिला हुँदा समस्या देखिए पनि अभावको अवस्था नभएको उनको भनाइ छ।
उनले भने,‘आवश्यक औषधि उपलब्ध छन्। कुनै निश्चित औषधि अभाव भएको सूचना आएको छैन। कुनै पनि औषधिहरू निश्चित क्षेत्रमा अभाव भयो भन्ने रिपोर्टिङ भए पनि व्यवस्थापन गरिएको अवस्था छ।’
नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरू आउने क्रममा केही ढिलाइ हुँदा बजारमा नपाएको भन्ने कुरा आएपछि क्लोज नेटवर्कमार्फत् काम हुने गरेको उनले बताए।
‘कुनै समस्या पर्यो भने एउटै फोरम भित्रबाट पनि समाधान हुन्छ। अभाव देखिए पनि अवस्था समाधान भएको पाइएको छ,’उनले भने।
चिकित्सकहरूको सल्लाहबिना अनावश्यक रूपमा औषधि सेवन गर्नेहरूको संख्या बढेकोमा उनले चिन्ता व्यक्त गरे।
औषधि सेवनले सधैं स्वास्थ्यलाई फाइदा नपुग्ने उल्लेख गर्दै उनले अनावश्यक रूपमा औषधि सेवन नगर्न आग्रह गरे।
उनले भने,‘आवश्यकताभन्दा बढी औषधि दिएर व्यापारिक फाइदा त होला तर यसले शरीरलाई हानी पुर्याउँछ। कतिपय अवस्थामा ज्यान पनि जान सक्छ। अनावश्यक रूपमा सेवन गर्नु हुँदैन र विक्री पनि गर्नु हुँदैन भन्ने सबैले बुझ्नुपर्छ।’
कोरोना भाइरसविरूद्ध नेपालमा प्लाज्माको अनुमति दिइएको उनले बताए।
आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उनले रगतको प्लाज्मा निकालेर गम्भीर अवस्थाका बिरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘एसटी’ नामक आयुर्वेदिक औषधिको उपयोगिताका बारेमा पनि अध्ययन गरिरहेको सूचना आफूले पाएको उनको भनाइ छ।