रेम्डेसिभिर नामक औषधिको पहिलो ब्याच नेपालमा आइपुगेको छ। यतिकेम वितरक प्रालिले कोभिड–१९ संक्रमितलाई प्रयोग हुने उक्त औषधि नेपालमा ल्याइएको घोषणा गरेको हो।
यतिकेमको निगरानीमा सिप्ला लिमिटेडले 'सिपरेमी' नामक ब्रान्डको उक्त औषधि विश्व बजारमा पुर्याउन उत्पादनको भूमिका खेलेको छ।
साे कम्पनीलाई रेम्डेसिभिर औषधि द्रुत गतिमा उत्पादन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग (डिडिए)ले स्वीकृति दिइसकेको छ।
कम्पनीकाअनुसार पहिलो ब्याचको ४८० सिसी बनिसकेको छ। जसको प्रति सिसी (पर भायल) ६ हजार ४ सय रुपैयाँ मूल्य पर्छ।
कम्पनीले सबै संक्रमितको पहुँचमा पुगोस् भन्ने उद्देश्यले सस्तोमा याे औषधि उपलब्ध गराइएको दाबी गरेको छ।
कम्पनीका अध्यक्ष प्रभु आर वैद्यले भने, 'हामीले २ हजार सिसी बनाउन अनुमति पाएका छौं।'
उनका अनुसार यो औषधि तीन ब्याचमा बनाइनेछ। ४८० सिसीको दोस्रो ब्याच सेप्टेम्बर १० सम्म बनिसक्ने र बाँकी १०४० सिसी ब्याच सेप्टेम्बर २५ सम्म बनिसक्ने कम्पनीको भनाइ छ।
नेपाल सरकारले कोभिडका गम्भीर बिरामीलाई यो औषधिको प्रयोग गर्न भर्खरै सुरु गरिसकेको जनाएकाे छ।
जसको प्रयोग गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मापदण्ड र निर्देशन अपनाउनु पर्ने हुन्छ।
साथै परिषद्ले नै तोकेको चिकित्सकको निगरानीमा हुनुपर्छ। यो औषधि हालै मात्र 'फुड एन्ड ड्रग (एफडिए) एडमिनिस्ट्रेसन', युएसले 'इमर्जेन्सी युज अथोराइजेसन उपचारका रुपमा कोभिडबाट संक्रमण पुष्टि भएका बालबालिक तथा युवालाई प्रयोग गर्न स्वीकृति दिएको हो।
'रेम्डेसिभिर' औषधि प्रायजसो कोभिडका गम्भीर बिरामीलाई प्रयोग गरिन्छ। शरीरमा अक्सिजनको मात्रा कम भएर आइसियुमा राखिएका बिरामीलाई पनि प्रयाेग हुन्छ,' डा. अशेष ढुंगानाले भने।