चितवन मेडिकल कलेजले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरू गरेको छ।
हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलामा प्लाज्मा थेरापी गरिएको हो।
भदौ ११ गते श्वास फेर्न गार्हो हुने र छाती दुख्ने समस्याले अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी ती महिलाको सोही दिन कोरोना परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि कोभिड आइसियूमा उपचार गराइरहेकी महिलामा जिल्लामै पहिलोपटक प्लाज्मा थेरापी गरिएको हो।
बिहीबार राति डा.शितल अधिकारी र डा.दयाराम लम्सालसहितको समूहले प्लाज्मा थेरापी गरेको अस्पतालले जनाएको छ।
अस्पतालले रेम्डिसिभिरमार्फत पनि संक्रमितहरूको उपचार सुरू गरेको जनाएको छ।
चितवनमा बिहीबारबाट प्लाज्मा दान सुरू भएको थियो। पहिलो दिन कोरोना संक्रमणमुक्त तीन जनाले रक्तदान गरेका थिए।
क्षेत्रीय रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक बनाएर आवश्यक बिरामीलाई प्लाज्मा थेरापी गर्ने लक्ष्य राखिएको छ। अहिलेसम्म कोरोना संक्रमण मुक्त भएका १५० जना सम्पर्कमा आइसकेको भरतपुर अस्पतालले जनाएको छ।