कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ।
यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरूले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन्।
उनीहरूले कोरोनाका कारण समस्या सृजना भएका धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन्।
यस अध्ययनमा कोरोना भाइरसबाट अति प्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितहरूलाई समेटिएको थियो।
अध्ययनमा सहभागीहरू अस्पताल भर्ना भएका १५० जना विरामी नै थिए। उनीहरू अप्रिल २९ देखि जुन ९ सम्म अस्पताल बसेका विरामी हुन्। सुरूमा ८६ विरामीमा सर्वेक्षण गरिएको थियो।
अस्पतालबाट डिस्चार्ज भएपछि छ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरूमाथि अध्ययन गरिएको थियो। उनीहरूको अध्ययन गर्नेक्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टहरूलाई विश्लेषण गरिएको थियो।
त्यसैगरी रगतमा अक्सिजन र कार्बनडाइअक्साइड, फोक्सोको कामको अवस्थाको परीक्षण, सिटी स्क्यान र इकोकार्डियोग्रामको समेत विवरणहरूलाई हेरिएको थियो।
यी सबै विवरणहरूका आधारमा पहिलो पटकको नतिजा हेर्दा झण्डै ८८ प्रतिशत विरामीमा फोक्सोको समस्या देखिएको थियो।
त्यसैगरी डिस्चार्ज भएको १२ औँ हप्तामा दोस्रो पटकको परिक्षण विवरण हेर्दा ५६ प्रतिशतमा मात्रै त्यस्तो समस्या देखिएको अध्ययनकर्ताहरूले बताएका छन् ।
यसरी जति पछि हुँदै गयो, त्यति धेरै विरामीका मुटु र फोक्सोको समस्यामा कमी हुदै गएको देखिएको अध्ययनकर्ताहरूको भनाइ छ।
(एएनआई)