आफूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर अन्यौलमा हुनुहुन्छ?
तपाईंहरूलाई अब यस्तो अलमल नहोस् भनेर ‘हेल्थ एट होम’ ले सजिलो बनाएको छ। हेल्थ एट होमले कोभिड–१९ पोजेटिभ वा शंकास्पद लक्षण देखिएका बिरामीलाई घरमै गएर सेवा दिने भएको छ।
दश जना चिकित्सकको टिमले कोभिडका कुनै पनि शंकास्पद बिरामीलाई अलमल नहोस् भन्ने उद्देश्यले यस्तो सेवा सुरू गरेको सोही टिमका एक जनरल फिजिसियन डा. विशाल ढकालले जानकारी दिए।
‘यस्तो सेवा दक्षिण एसियामै पहिलोपटक हो। कोभिड–१९ संक्रमित वा शंकास्पद बिरामी जो होम आइसोलेसनमा हुनुहुन्छ। उहाँहरू हाम्रो सम्पर्कमा आएमा सजिलै घरमा गएर सेवा दिन्छौं। उहाँहरूलाई यसले सहयोग पुग्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘धेरै मानिस अन्यौलमा हुन सक्नुहुन्छ। यसको समाधान हुनुपर्छ, केही हदसम्म हामी गर्न सक्छौं भनेर नै यो सेवा सुरू गरेका हौं,’ उनले थपे।
यसअघि होम आइसोलेसन कार्यक्रम समेत चलाइरहेको उक्त टिमले यो सेवा आइतबारदेखि सुरू गरेको हो।
होम आइसेलेसनमा भएकालाई १० देखि १५ जनाले सहयोग गर्नेछन्। जसअन्तर्गत, चिकित्सक, विशेष चिकित्सक, नर्स, कार्डियोलोजिस्ट, नाक, कान, घाँटीका डाक्टर लगायत छन्।
डा. ढकालका अनुसार चिकित्सकले यसरी सेवा दिएवापत शुल्क भने तिर्नुपर्छ। सर्वसाधारणले यो सेवा लिन ९८१८३६०१६६ मा सम्पर्क गर्न सक्छन्। साथै ह्वाट्स एप, भाइवरबाट पनि जानकारी दिन/लिन सक्ने बताइएको छ।
१२ वर्ष अघिदेखि सञ्चालनमा रहेको हेल्थ एट होमले यसअघि देखि नै सम्पर्कमा आउने बिरामीलाई घर–घरमै गएर सेवा दिँदै आएको जनाएको छ।