डायबेटिज भएकाले आँखाको हेरचाह विशेष किसिमले गर्नुपर्छ।
डायबेटिजको उपचार भइसकेपछि मुख्य गरी आँखाको पर्दा जाँच्नुपर्छ। यसमा आँखाको दृष्टिमात्र नभई आँखा फुलाउने गरेर रेटिनाको समेत जाँच गरिन्छ।
यसपछि मात्रै डायबेटिज भएकालाई आँखामा असर गरेको छ कि छैन भनेर थाहा पाउन सकिन्छ। यो विशेष जाँच गर्नु आवश्यक छ।
पहिला हामीले यो जाँच किन गर्ने त भनेर बुझ्न जरूरी हुन्छ। शरीरमा डायबेटिज देखिसकेपछि त्यसले गर्ने असर जुन छ, त्यो दिनानुदिन बढ्दै जान्छ। जुन आँखाको हकमा पनि लागु हुन्छ।
जस्तो, डाइग्नोसिस भएको १ वर्षदेखि ५ वर्षसम्म यसको लक्षण देखिँदै जान्छ। ५ वर्ष १० वर्षसम्म यसको देखिने रेट अझै बढ्छ।
सुरूमा यसले आँखामा असर गर्दा आँखाको पर्दाभित्र भएका मसिना धमनीमा देखिन्छ। त्यसबाट रगत लिक हुने र नसाबाट सुक्ष्म रूपमा रक्तश्राव हुन्छ।
त्योसँगै दृष्टिमा कमी आउने अथवा आँखाभित्रको अक्सिजनमा कमी आएर रगतको नसा झांगिएको हुन्छ।
यस्तो बेला आँखाभित्र पुरै ब्लिडिङ भएर देखिरहेको आँखा पुरै बन्द हुने खतरासमेत रहन्छ। त्यसैले डायबेटिज डाइग्नोसिस भएपछि आँखा जाँच्न एकदमै जरूरी छ।
डायबेटिजले रगतमा परिवर्तन ल्याउँछ। रगतको नसाको धमनीकै भित्तामा ल्याउने परिवर्तनले गर्दा कोषिकाभित्र बग्नुपर्ने रगत त्योभित्र मात्रै नबग्ने हुन्छ। त्यसकै कारणले अक्सिजनको पनि कमी हुन्छ।
यसले धमनीबाट रगत पनि बाहिर निस्किने र आँखाको पर्दाका लागि सञ्चार हुनु पर्ने रगतको कमी हुँदा रगतको नयाँ नसा एकदम कमजोर हुन्छन्। जुन जन्मबाट आउने नसाभन्दा धेरै फरक र कमजोर हुन्छ। त्यो कमजोर नसा फुटन सक्ने हुनाले सचेत हुन जरूरी छ।
आँखामा पर्ने असर सधैँ देखिन्छभन्ने मात्रै होइन। डायबेटिजले असर पारे अनुसार आँखामा पनि असर पार्दै जान्छ। यसलाई बेवास्ता गरे देख्नै नसकिने अवस्थामा पुग्न सक्ने सम्भावना पनि हुन्छन्।
त्यसैले डायबेटिज देखिनसाथ आँखाको चिकित्सकसँग जँचाउन पर्छ। आवश्यकताअनुसार ६ देखि ९ महिना र चिकित्सकको सल्लाहअनुसार आँखा जँचाउनु पर्छ।
आवश्यकताअनुसार उपचार पनि गर्नुपर्छ। आँखामा लेजर राख्नेदेखि सुइसम्म लगाउनु पर्छ। कतिपय अवस्थामा अपरेशनसमेत गर्नुपर्छ।
आज सुगर भयो ४-५ वर्षपछि आँखा जचाउलाभन्दा आँखाको दृष्टि फर्काउन नसकेको उदाहरण पनि छ। धेरै ढिलो भयो भने आँखाको पर्दा च्यातिएर उपचार गर्न कठिनसमेत हुन्छ।
समयमै उपचार गरेमा डायबेटिजबाट जुन अन्धोपन हुन्छ, त्यसलाई रोक्न धेरै हदसम्म रोक्न सकिन्छ।
सुगरका बिरामी बढेसँगै आँखामा असर पनि बढेको छ। विकासोन्मुख देशमा पनि यसको संख्या बढेको छ। यो रोग २०३० सम्म महामारीको रूपमा आउँछ भनेर अनुसन्धान भएको छ। सुगरका बिरामी बढ्नु भनेको आँखाको रोगी पनि बढ्नु हो।
कसैलाई ढिलो देखिएला कसैलाई चाँडो देखिएला तर अधिकांशलाई असर देखिन्छ। त्यसैले सुगर नियन्त्रणमा छ भन्दैमा हुँदैन किनकी सुगर नियन्त्रणमा रहे पनि आँखामा असर पर्ने सम्भावना हुन्छ।
तिलगंगा आँखा अस्पतालमा कार्यरत डा शर्मासँग यस विषयमा हामीले विस्तृतमा भिडिओ कुराकानी गरेका छौं।