धेरैजसो मानिसहरूका लागि कोरोना भाइरस खतरनाक रोग होइन तर केही मानिसहरूलाई यसबाट पूर्ण रूपमा निको हुन गाह्रो भइरहेको छ।
उनीहरू महिनौंदेखि थकान, दुखाइ र सास लिन गाह्रो हुनेजस्ता समस्या जुधिरहेका छन्।
यस परिस्थितिलाई ‘लङ कोभिड’ भनिन्छ। बिरामीमा यसको नराम्रो प्रभाव परिरहेको छ। यस्ता मानिसहरू थोरै मात्र हिँड्दा पनि थकित हुने गर्छन्।
महामारीका बेला सबै ध्यान मानिसको ज्यान बचाउनमा थियो तर अब कोरोनाले लामो समयसम्म पार्ने प्रभावका बारेमा चर्चा सुरू हुन थालेको छ।
यसबारेमा थुप्रै महत्वपूर्ण प्रश्नहरू छन्, जसको जवाफ मिलिसकेको छैन। जस्तै ‘लङ कोभिड’ किन हुन्छ र शरीरमा यसको असर के हुन्छ? जस्ता प्रश्नको उत्तर अझै पाइएको छैन।
के हो लङ कोभिड?
‘लङ कोभिड’को कुनै चिकित्सकिय परिभाषा छैन र सबैमा यसको लक्षण एउटै पनि हुँदैन। ‘लङ कोभिड’सँग लडिरहेका दुई मानिसमा यो विल्कुलै फरक हुनसक्छ।
तर, अधिक थकाइ लाग्नु एउटा साझा लक्षण भने हो।
सास लिन गाह्रो हुने, लगातार खोकी लाग्नु, मांशपेशी तथा ‘जोइन्ट’हरूको दुखाइ, टाउको दुख्ने, सुन्निने र हेर्न गाह्रो हुने, सुँघ्ने शक्ति कम हुने र स्वाद हराउनु जस्ता लक्षण ‘लङ कोभिड’मा देखिन सक्छ।
यसका अलावा मुटु, फोक्सो र मिर्गौलामा नोक्सान हुनसक्छ। ‘लङ कोभिड’सँग जुधिरहेका कैयौं मानिसहरूमा डिप्रेसन र एन्जाइटीको गुनासो पनि छ। यसले मानिसको दैनिकीमा नराम्रो असर पार्न सक्छ।
‘मलाई यस किसिमको थकान महशुस कहिले भएको थिएन,’ लङ कोभिडको सामना गरिसकेकी जेड ग्रे क्रिस्टी बताउँछिन्।
लङ कोभिडसँग जुध्न संघन उपचारमा रहेका मानिसले मात्र नभई सामान्य लक्षण भएका मानिसले पनि यस्तो समस्याको सामना गर्नुपर्ने हुनसक्छ।
‘लङ कोभिड छ भन्ने कुरामा कुनै शंका छैन,’ एक्सटर विश्वविद्यालयका प्रोफेसर डेविड स्टर्न भन्छन्।
कस्तो हुन्छ लङ कोभिड?
रोमको एक ठूलो अस्पतालबाट डिस्चार्ज भएका १ सय ४३ जना मानिसमाथि गरिएको एक अध्ययन अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित भएको छ।
सो अध्ययनका अनुसार ८७ प्रतिशत मानिसमा दुई महिनापछि पनि कोरोनाको एउटा न एउटा लक्षण पाइयो। यसका आधा मानिसले थकान हुने गरेको बताएका थिए।
यद्यपि, यो अध्ययन अस्पतालमा भर्ना भएका मानिसहरूमा मात्र केन्द्रित हुन्छ।
४० लाख मानिसले प्रयोग गर्ने ब्रिटेनको कोभिड सिम्टम ट्र्याकरको आँकडा अनुसार ३० दिनपछि पनि १२ प्रतिशत मानिसमा कोरोनाको लक्षण पाइयो।
हाल प्रकाशित नभइसकेको तथ्यांक अनुसार २ प्रतिशत मानिसमा ९० दिनपछि पनि लङ कोभिडको लक्षण भेटिएको छ।
के गम्भीर कोभिड भएमात्र लङ कोभिड हुन्छ?
यस्तो नै हुन्छ भन्ने छैन।
डबलिनका पचास प्रतिशत मानिसमा १० हप्तापछि पनि कोरोनाको लक्षण पाइयो। एक-तिहाइ मानिस आफ्नो काममा फर्किन सक्षम भएका थिएनन्।
यद्यपि, एकदमै धेरै थकान लङ कोभिडको एउटा लक्षणमध्येको एक हो।
लिसेस्टर विश्वविद्यालयका क्रिस ब्राइटलिंग्स कोरोनाबाट पीडित मानिसलाई अध्ययन गर्ने एक परियोजनामा काम गरिहेका छन्।
उनका अनुसार जो मानिसलाई निमोनिया भइसकेको छ, उनीहरूले पछि पनि कैयौं समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। किनकि, उनीहरूको फोक्सोमा नराम्रो असर परेको हुन्छ।
लङ कोभिड किन भइरहेको छ?
यसका बारेमा विभिन्न भनाइ भए पनि कुनै निश्चित उत्तर भने अहिलेसम्म भेटिएको छैन।
हुनसक्छ, भाइरस शरीरको ज्यादा हिस्साबाट बाहिर निस्किसकेको हुन सक्छ तर केही सानो ठाउँमा भने बसिरहेको पनि हुन सक्छ।
किङ्स कलेज अफ लन्डनका प्रोफेसर टिम स्पेक्टर लामो समयसम्म पखाला भएमा आँतमा भाइरस भेटिनसक्छ, यदि सुघ्ने शक्ति धेरै दिनसम्म हराएमा, यो नसामा हुनसक्छ र यसैले समस्या गराइरहेको हुनसक्ने बताउँछन्।
कोरोना भाइरसले शरीरका कैयौं प्रकारका कोशिकामा सिधैं हमला गरेर एक अति सक्रिय प्रतिरोधी प्रतिक्रियालाई आक्रमण गर्नसक्छ, जसले हानी हुनसक्छ।
अर्को तर्क यो पनि हुनसक्छ- कोभिडपछि प्रतिरक्षा प्रणाली सामान्य नहुन सक्छ जसका कारण स्वास्थ्यमा असर पर्नसक्छ।
संक्रमणले अंगको काम गर्ने तरिकालाई फेर्न सक्छ। यस्तै परिवर्तन सार्स वा मेर्सका विरामीको फोक्सोमा देखिएको थियो। दुवै रोग एक प्रकारको कोरोना भाइरसका कारण हुन्छ।
कोभिडले मानिसको मेटाबोलिज्ममा पनि परिवर्तन गर्नसक्छ। यस्ता केसहरू आएका छन्, जसमा मधुमेहका विरामीमा कोभिड भएपछि सुगर नियन्त्रण गर्न कठिन भएको छ। सार्स भएकाको शरिरको फ्याट प्रोसेसिङको तरिका करिब १२ वर्षसम्मका लागि परिवर्तन भएको छ।
दिमागमा पनि परिवर्तनको केही सुरूवाती संकेतहरू भेटिएका छन्। कोभिडले रगतमा पनि परिवर्तन ल्याउन सक्छ।
के यो असामान्य हो?
भाइरल ज्वरो वा खोकीका कारण थकान हुनु आम कुरा हो। कैयौं प्रकारका इन्फेक्सनको असरबाट निस्कन पनि प्रशस्त समय लाग्ने गर्छ।
केही ज्वरोको असर पनि शरीरमा महिनौंसम्म रहनसक्छ।
प्रोफेसर ब्राइटलिंगका अनुसार कोरोनाको लामो समयसम्मका लक्षणहरू देखिइरहेका छन् र यसका पीडितहरूको संख्या पनि बढिरहेको छ।
यद्यपि, पूरै दृश्य सार्वजनिक नभएसम्मका लागि यी सबै अहिलेका लागि अनुमान मात्र हुन् र निश्चितरूपमा केही भन्न सकिँदैन।