कोरोना भाइरस महामारी नियन्त्रणका लागि खोपबाहेक विकल्प नरहेको अध्ययनहरूले बताउँदै आएका छन्। खोप बनाउन विभिन्न देशहरू लागिपरेका छन्।
रूसले कोरोना खोप बनाएको दाबी गरे पनि विश्वव्यापी चिकित्सा विशेषज्ञहरूले यसलाई पूर्ण रूपमा स्वीकारेका छैनन्। अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक रिचर्ड पेटोले समेत कोरोना भाइरस खोप बनाउने दौडमा कमजोर खोप बनाए ठीक नहुने चेतावनी दिएका थिए।
यसरी बनाएको खोपले भाइरसको प्रतिरोधात्मक क्षमता नघटाउने तर परिणामस्वरूप संक्रमण जोखिम बढाउन सक्ने उनको भनाइ हो। उनकाअनुसार प्रभावकारी खोप भने तयार हुन आवश्यक छ।
यसै विषयमा बजार अनुसन्धाता कम्पनी 'इप्सोस मोरी'ले कुन–कुन देशका नागरिक कोरोना भाइरस खोपको प्रतीक्षामा छन् भन्ने जान्न एक सर्वेक्षण गरेको छ।
सर्वेक्षण अनुसार चीनमा ९७ प्रतिशत मानिसहरू खोप तयार हुन उत्सुक छन्। ब्राजिलमा ८८ प्रतिशत मानिस उत्सुक छन् भने भारतमा ८७ प्रतिशत मानिस कोरोना खोपको प्रतीक्षामा छन्।
रुसले कोरोना भाइरस विरुद्ध खोप 'स्पुतनिक–भी' आविष्कार गरेको भन्ने भए पनि यहाँको जम्मा ५४ प्रतिशत मानिस खोपका लागि उत्सुक देखिन्छन्। त्यस्तै फ्रान्समा ५९ प्रतिशत जनसंख्या खोप लगाउन आतुर छन्।
महामारी नियन्त्रणका लागि आवश्यक खोपको परीक्षण विभिन्न देशमा भइरहँदा संसारका अधिकांश मान्छेको प्रतीक्षा भने यी खोपमा भएका विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।
१. अक्सफोर्ड–एस्ट्राजेनका खोप
अक्सफोर्ड विश्वविद्यालय र फार्मा कम्पनी एस्ट्राजेनकाले संयुक्त रूपमा कोरोना भाइरसविरुद्ध खोप बनाउँदै छ। विभिन्न देशमा यो खोपको परीक्षण तेस्रो चरणमा हुँदैछ।
२. चीनबाट निर्मित खोप
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार चीनबाट बनिरहेको कोरोना भाइरस खोप तेस्रो चरणको परीक्षणमा छ। यसमा सिनोभाक, वुहान इन्स्टिच्युट अफ बायो प्रोडक्सनर सिनोफार्म, केनसिनो बायोलोजिकल र बेजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी समावेश छन्।
३. रुसको स्पुतनिक खोप
रुसबाट तयार भइरहेको स्पुतनिक–भी खोपमा पर्याप्त प्रतिरोधात्मक क्षमता विकास भएको एक रिपोर्टले जनाएको छ।
मस्कोको गाम्ल्याया अनुसन्धान संस्थानका प्रमुख अलेक्ज्याण्डर गिटन्बर्गका अनुसार यो खोप सुरक्षित रहेको छ भन्नका लागि पर्याप्त उदाहरण छन्। उनले यो पनि रोग प्रतिरोध क्षमता बढाउन यसको अतिरिक्त डोजको आवश्यक पर्नसक्ने बताएका छन्।
४. कोभ्याक्सिन
भारतीय बायोटेक, आइसीएमआर र नेशनल इन्टिच्युट अफ भाइरोलोजीले संयुक्त रुपमा खोप निर्माण गर्दैछ। र, उनीहरूले बनाइरहेको यो खोपमा पनि विकास देखिरहेको छ।
५. नोभाभ्याक्स
अमेरिकी फर्म नोभाभ्याक्सले परीक्षण गरिरहेको कोरोना खोप पनि तेस्रो चरणको परीक्षणमा पुगेको छ।
यी खोपबाहेक जोन्सन एन्ड जोन्सनले बनाइरहेको खोप पनि अन्तिम चरणको परीक्षणमा पुगेको बताइएको छ।
(भारतीय सञ्चारमाध्यम जागरणको सहयोगमा)