डिमेन्सियाले मानिसको सम्झना, सोचाइ, व्यवहार, र दैनिक गतिविधिहरू गर्ने क्षमतालाई असर गर्छ। डिमेन्सिया एक किसिमको बिर्सिने रोग हो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) काअनुसार, विश्वमा करिब ५ करोड मानिसमा डिमेन्सिया भएको चिकित्सा जानकारी तथा समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम मेडिकल न्युज टुडेले लेखेको छ। सन् २०५० सम्म यो आँकडा तीन गुना बढ्न सक्ने अनुमान छ।
अध्ययनका अनुसार डिमेन्सिया जोखिम बढाउनमा हामीले व्यायामका नाममा गर्ने कडा शारीरिक श्रमले पनि भूमिका खेलेको हुन्छ।
समय मिलाएर गरिने शारीरिक व्यायाम–कसरतहरूले यो रोगबाट बच्न केही हदसम्म मद्दत पुर्याउँछ भन्ने पुष्टि भएको छ। यस्ता शारीरिक परिश्रममा सामान्य वर्क आउट, साइक्लिङ र अन्य बाहिरी खेलहरू, जस्तै बास्केटबल, फुटबल पर्छन्।
तर, कडा परिश्रमहरूले ठीक उल्टो असर गर्छ। जस्तै निर्माण कार्य वा अन्य काममा बढी खट्दा यसको उल्टो प्रभाव पार्न सक्ने अध्ययनले देखाएको मेडिकल न्युजले उल्लेख गरेकाे छ।
डेनमार्कको कोपेनहेगन विश्वविद्यालयको नेतृत्वमा रहेका वैज्ञानिकले भनेका छन्, ‘शारीरिक रूपमा काम गर्ने भन्नाले प्रायः लामो समयसम्म उभिरहने, स्थिर बस्ने, भारी सामग्री उठाउने र यही काम फेरि–फेरि पनि दोहोर्याइरहने भन्ने हुन्छ।’
उदाहरणका लागि भारी बोक्ने, ओसार्ने, वेल्डिङको काममा लाग्ने।
यस प्रकारको काममा निरन्तर शारीरिक परिश्रम दिनुपर्ने हुन्छ। थकान मेट्न र शरीरलाई चाहिने आराम पनि पर्याप्त रुपमा मिल्दैन।
फुर्सदमा गरिने शारीरिक व्यायाम प्रायः तीव्र गतिको हुन्छ तर निकै छोटो समयका लागि मात्र गरिन्छ। यस्ता व्यायाममा हाम्रो शरीरको आसन पनि निश्चित ढंगमा मात्र चल्छ।
वैज्ञानिकहरूले प्रमाणसहित लेखेका छन्, ‘फुर्सदको समयमा गरिने व्यायामले मुटुलाई फाइदा पुर्याउँछ। त्यस्तै शरीर वरिपरि सुन्निछ भने त्यो पनि कम गर्छ।’
हलुका शारीरिक व्यायामले मस्तिष्कमा रगत प्रवाह सुधार गर्छ। स्नायुकाे विकासलाई बढावा दिन्छ र दिमागी संरचनाको संरक्षण गर्छ। यस्तोमा मस्तिष्कमा जहाँ ‘मेमोरी इन्कोड’ भएको हुन्छ त्यो भागमा डिमेन्सिया हुनबाट जोगाउँछ।
अर्कोतर्फ दोहोर्याएर गरिने कडा शारीरिक श्रमले मुटु सम्बन्धी रोग बढाउँछ। र, शरीर सुन्निने समस्या बढाउँछ। केही समयअघि गरिएका अनुसन्धानले शारीरिक श्रम धेरै भएमा मुटु रोग र मृत्युदरको उच्च जोखिमबीचको सम्बन्ध देखाएको थियो।
जो व्यक्तिले एकदमै बढी शारीरिक श्रम गर्छ, उसको मुटुको क्रियाकलाप श्रम कम गर्नेको तुलनामा कमजोर हुने देखाइएको छ। र, यसैले डिमेन्सिया हुने सम्भावना पनि बढाउँछ।
‘यो अन्य अध्ययनहरूले पनि प्रमाणित गर्न खोजेको कुरा हो, तर यसलाई विश्वासपूर्वक देखाउन हामी पहिलो भएका छौं,' अध्ययनको नेतृत्व गरेका क्रिस्टिन नाबे–नेल्सेनले भनेका छन्।
क्रिस्टेनका अनुसार फुर्सदमा गरिने शारीरिक व्यायाम–परिश्रम र कामको सिलसिलामा हुने परिश्रमबारे गहिराे अध्ययन अत्यावश्यक छ। यी दुई तरिकामा गरिने परिश्रमको प्रभाव र असर पनि फरक हुन जान्छ।