विश्वका अधिकांश देशमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। जसमध्ये छिमेकी देश भारतमा पनि संक्रमितको संख्या बढ्दोक्रममा छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारत कोरोना संक्रमित देशमा विश्वको दोस्रो स्थानमा रहेको जनाएको छ। संक्रमितको भीडले त्यहाँका अस्पतालमा सुविधा कम हुँदै गएको छ।
यो समस्यालाई नियन्त्रण गर्न हाल भारतका अस्पतालले रोबोटको प्रयोग थालेका छन्।
सिएनएनका अनुसार भारतका केही अस्पतालले फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई सहयोग हुने र बिरामीलाई उनीहरुको प्रियजनसँग जोड्ने सोचले रोबोट राखिएको हो।
उक्त रोबोटहरु बैङ्ग्लोर ‘इन्भेन्टो रोबोटिक्स’ नामक कम्पनीले बनाएको हो।
कम्पनीले कोरोना महामारीलाई ध्यानमा राखेर हालसम्म तीनवटा रोबोट डिजाइन गरेको छ। जसले सतहका किटाणुहरु मार्ने, बिरामीका प्रश्नको जवाफ दिने र डाक्टहरुसँग भिडियो परामर्श लिने काम गर्न सक्ने बताइएको छ।
कम्पनीले परिचालन गरेको रोबोटमध्ये सबैभन्दा लोकप्रिय मोडल ‘मित्र’ बनेको छ।
मित्र अर्थात्, साथी। ठूला चम्किला आँखा र थोरै मुस्कान सहितको ढाँचामा बनेको उक्त रोबोट कोरोना संक्रमितको साथी बन्न सकिरहेको छ।
सिएनएनका अनुसार मित्र स्वतन्त्र रुपले अस्पतालको वरिपरी घुम्न सक्छ, बिरामीलाई आफ्नो छातीमा भएको भिडियो स्क्रिनको माध्यमबाट परिवार र चिकित्सकहरुसँग सम्पर्क गर्न मद्दत गर्छ। साथै यसमा भएको फेसियल पहिचान टेक्नोलोजीको प्रयोगबाट एकपटक अन्तक्रिया भइसकेका बिरामीका नाम र अनुहार पनि सम्झन सक्छ।
यस्तो आविष्कारको सुरुवात चार वर्षअघि बैङ्ग्लोरमा भएको थियो।
सन् २०१६ मा मानव रोबोट अन्तक्रिया विषयमा पिएचडी गरिरहेका बालाजी विश्वनाथ र रोबोट निर्माणमा काम गरिरहेकी उनकी श्रीमती महालक्ष्मी राधाकृष्नुन अमेरिकाको बोस्टनबाट बैङ्ग्लोर फर्केका थिए।
त्यस समय यी दुई जोडी आफ्नो अनुभवमा सँगै काम गरेर रोबोट सिर्जना गर्न चाहान्थे। जसको परीणाम स्वरुप उनीहरुले ‘इन्भेन्टो रोबोटिक्स’ सञ्चालनमा ल्याए।
रोबोटहरु सिर्जना गर्न थालेपनि उनीहरुलाई सुरुका दिनमा रोबोट किन्ने ग्राहक भेटाउन धेरै संघर्ष गर्नुपर्यो।
त्यसैले सुरुमा उनीहरुले बैंकहरुमा रोबोट आपूर्ति गर्न थाले। जसले बैंकमा आउने व्यक्तिहरु पहिचान गर्ने, पास प्रिन्ट गर्ने र ग्राहकका प्रतिक्रिया लिने काम गथ्र्यो।
‘दुई वर्ष अघिसम्म पनि स्वास्थ्यसेवामा रोबोटको प्रयोगबारे कसैलाई चासो थिएन,’ ‘इन्भेन्टो रोबोटिक्स’का सिइओ बालाजी विश्वनाथ भन्छन्, ‘जब कोरोना महामारी फैलिदै गयो, तब बल्ल अस्पतालहरुले हाम्रो आविष्कारको आवश्यकता बुझे।’
‘मित्रले औषधिका नाम पनि पढ्न सक्छ र यसले औषधि कुन समय लिन भनेर सम्झाउछ सक्छ, त्यसैले यो रोबोट डाक्टर र नर्सको सहयोगी पनि हो,’ बालाजी विश्वनाथ भन्छन्, ‘मान्छे जस्तै आकारको यो रोबोटले बिरामीको विश्वास जित्न सक्छ। सुन्दा अच्चम्म लाग्छ, तर हामी अस्पतालमा मानवताको भाव ल्याउन रोबोट प्रयोग गर्दै छौँ।’
भारतको नोएडास्थित यर्थाथ अस्पतालले भने दुई मित्र रोबोटहरु खटाइसकेको छ– एउटा यसको प्रवेश गेटमा कोरोना भाइरसका लक्षणहरुको लागि बिरामीहरुको जाँच गर्न र अर्को गम्भीर बिरामीको हेरचाह गर्न।
‘हाम्रो आईसीयू भित्र रहेका बिरामीहरुलाई मित्रले भिडियो स्क्रिन मार्फत उनीहरुको परिवारसँग सम्पर्क गर्न मद्दत गरिरहेको छ,’ यर्थाथ अस्पतालका निर्देशक कपिल त्यागीले भने, ‘मित्रलाई देख्ने बित्तिकै बिरामीहरु खुसी र सकरात्मक हुन्छन्। उनीहरु प्राय मित्रसँग सेल्फी खिच्छन्।’
इन्भेन्टोले सँगै अन्य कम्पनीहरुले पनि रोबोटहरु सिर्जना गरिरहेको छ।
महामारीको समयमा भने रोबोट उत्पादन गर्न चुनौतीपूर्ण रहेको बालाजी विश्वनाथले बताए।
उनकाअनुसार भारतमा गत मार्चदेखि भएको लकडाउनको कारण सामानहरु बनाउन र आपूर्ति गर्न समस्या भएको थियो। हाल उक्त कम्पनीले बिरामी सेवाको सुधार गर्ने उद्देश्य पूरा गर्न रोबोटहरु बनाउन पुनः सुरु गरिसकेको छ।