कोरोना भाइरसको महामारीले गर्भवती महिलाहरू पनि प्रभावित भएका छन्।
महामारीमा गर्भवती महिलाले कसरी आफ्नो ख्याल राख्ने, कोरोनाबाट जोगिन के गर्ने र लागेमा के गर्ने भन्ने चिन्ताले समेत उनीहरूलाई सताउने गरेको छ।
सुत्केरी महिलाले कसरी आफू र बच्चाको हेरचाह गर्ने अनि यो बेलामा बच्चा जन्माउने योजना बनाउने कि नबनाउनेलगायत विषयमा केन्द्रीत रहेर एभरेष्ट अस्पताल बानेश्वरमा कार्यरत प्रसुति तथा स्त्री रोग एवम् नि:सन्तान विशेषज्ञ डाक्टर दीपमाला कार्कीसँग भिडिओ कुराकानी गरेका छौं।
कुराकानीका मुख्य अंश:
- संक्रमण बढेसँगै गर्भवती महिलाले सबैभन्दा पहिला सरसफाइमा ध्यान दिनुपर्छ। ह्याण्ड स्यानिटाइजरले आफूलाई सुरक्षित गर्नपर्छ। जुनसुकै बेला मास्क लगाउने गर्नुपर्छ भने भीडभाडबाट जोगिनु पर्छ।
- घरको सरसफाइमा पनि ध्यान दिनुपर्छ। जेष्ठ नागरिक र बालबालिकाबाट टाढा बस्नुपर्छ।
-बजार गएर आएपछि साबुन पानीले हात धुनुपर्छ। घरमै पनि नयाँ चीज चलाउँदा हात धोइरहनु पर्छ।
-गर्भवती महिलालाई कोभिड-१९ भयो भने त्यहीअनुसार गर्नुपर्छ। होम आइसोलसेनमा बस्नुपर्छ। खाएका भाडा सफा गर्ने गर्नुपर्छ। साधारण लक्षण छ भने ज्वरो रूघाको सिटामोल लिन सकिन्छ। आफ्नो चिकित्सकसँग सल्लाह लिन सकिन्छ।
- अहिलेसम्मको अनुसन्धानमा पेटको बच्चालाई सर्ने भन्न पाइएको छैन। कतिपय देशमा 'मिस क्यारिज' भएको उदाहरण छन्।
- कतिपय गर्भवती पहिला नै आत्तिने गरेका छन्। तर त्यस्तो गर्नु हुँदैन। सुरक्षित रूपमा अफिस जाने र भौतिक दूरी कायम गर्दा आत्तिनु हुँदैन। सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ।
- गर्भवतीहरू सकेसम्म किनमेलका लागि बजार नगएको राम्रो हो। घरपरिवारका अरू सदस्य जानुपर्छ।
- यो बेलामा बच्चा जन्माउने योजना बनाउने कि नबनाउने भन्नेसमेत चिन्ता छ। यस्तो चिन्ता गर्नु हुँदैन। केही समस्या आउन सक्लान् तर आफ्नो योजनालाई रोक्न जरूरी छैन।
- बच्चा जन्मिएपछि सुत्केरीले बच्चा आउँदा कोरोनाको संक्रमण हुनसक्छ। त्यसैले धेरै मान्छेसँग भेटनु हुँदैन। भेट्दा पनि भौतिक दूरी कायम गरी सुरक्षा उपाय अपनाएर भेटनुपर्छ।