भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबार बिहानसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ३३ हजार ७६१ नयाँ संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमित ९५ लाख ३४ हजार ९६४ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ ।
भारतमा पछिल्लो २४ घन्टामा ३८ हजार ३ सय ६ जना निको भएका छन्। योसँगै हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्।
विगत २४ घण्टामा ५२६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो सहित भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६५७ पुगेको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १४ करोड ३५ लाख ५७ हजारभन्दा बढी नमूना परीक्षण गरिएको जनाएको छ।
भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो पटक गत नोभेम्बर ७ मा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए ।
यसैबीच, विश्वभर कोरोनाबाट ६ करोड ४८ लाख ४४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये १४ लाख ९९ हजार ३४६ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड ४३ लाख संक्रमित भएकामध्ये २ लाख ७९ हजार ८६५ जनाको मृत्यु भइसकेको छ ।
तेस्रो सर्वाधिक असर परेको ब्राजिलमा ६४ लाख ३६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका र त्यसमध्ये एक लाख ७४ हजार ५३१ जनाको मृत्यु भएको छ।
यस्तै नेपालमा २ लाख ३६ हजार २४६ जना संक्रमित भएका छन्। यसमध्ये २ लाख १८ हजार १६१ जना निको भएर घर फर्किएका छन्। नेपालमा हालसम्म १५३८ जनाले ज्यान गुमाइसकेका छन्।