कोभिड-१९ को प्रकोप बढिरहेको छ। हाम्रो सतर्कता भने घट्दै गएको छ। जाडोको समयमा रूघा, खोकी र इन्फ्लुएन्जाजस्ता समस्या पनि देखिने भएकाले थप सतर्कता अपनाउनु पर्ने विज्ञहरूको सुझाव छ। दीर्घ रोग भएकाहरू अझै बढी सचेत हुनुपर्छ।
यिनै विषयमा केन्द्रित रहेर ह्याम्स अस्पतालमा कार्यरत पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञ डा रक्षा पाण्डेसँग हामीले भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंश:
-जाडोमा कोरोनाभाइरस नहुँदा पनि भाइरस इन्फ्लुएन्जाका साथै अरू भाइरस बढी देखिन्छ। किनकी भाइरसले चिसो र सुक्खा मन पराउँछ। त्यसैले जाडोमा यस्ता रोग बढ्ने सम्भावना बढी हुन्छ।
-जाडोमा घरभित्र धेरै बसिन्छ। झ्याल ढोका बन्द गरेर परिवारका सदस्यहरू एकै ठाउँमा बस्छन्। त्यस्तो अवस्थामा कोभिड भएकाले सार्ने सम्भावना हुन्छ। अर्को त यस्तो बेलामा भाइरस नै बढी सर्कुलेट हुन्छ।
- हामीले जाडो र गर्मी दुबैमा सचेतता अपनाउनु पर्छ। भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हात सफा गर्नुपर्छ। घरमा ढोका ढ्यामढुम्म पारेर बस्नुभन्दा खुला ठाउँमा बस्नुपर्छ। काठमाडौंमा दिउँसो घाम पनि लाग्छ। त्यसैले कोठाभन्दा बाहिर समय बिताउनु पर्छ। घरभित्र भएमा सकेसम्म झ्याल ढोका खुला राख्नुपर्छ। जाडो छ भन्दैमा भित्रै बस्ने होइन। न्यानो कपडा लगायो भने बाहिर बस्यो भने केही हुँदैन।
- घरमा कसैलाई कुनै लक्षण देखिनासाथ यो मौसमी रूघाखोकी होला भनेर बेवास्ता गर्नु हुँदैन। किनकी मौसमी रूघाखोकी इन्फ्लुएन्जा र कोभिड-१९ को लक्षण उस्तै छन्। त्यसैले लापरबाही गरे परिवारमा अरूलाई सर्छ। टेस्ट, आइसोलेट र ट्रिट गरे फैलिन कम हुन्छ।
-खानेकुराले कोरोना हुने वा बढ्ने हुँदैन। पोषणयुक्त खाना खानुपर्छ। अहिले अरू बेलाभन्दा अझै बढी हेरचाह गर्नुपर्छ किनकी महामारी फैलिएको छ। फलफूल र हरियो सगपात खानुपर्छ। साकाहारी छ भने गेडागुडी बढी खानुपर्छ। तारेका खाना कम खानुपर्छ।
- कोभिड भन्दैमा आफ्नो शरीरलाई राम्रोसँग हेर्ने नहुँदा हेलचक्रयाइँ गर्ने भन्ने हुँदैन। यो समयमा कुलतलाई छोड्ने हो। चुरोट रक्सी छोड्नुपर्छ। तातो र झोलिलो पदार्थ खानुपर्छ।
- जाडोमा इन्फ्लुएन्जा फ्लू लागेको हुन्छ। हरेक वर्ष बिरामीलाई असजिलो पारिरहेको छ। यस्तो बेलामा कोभिड-१९ को समेत संक्रमण भयो भने अरू अफ्ठ्यारो पर्न सक्छ। त्यसैले इन्फ्लुएन्जा र फ्लूको खोप लिन सकिन्छ। कसले कस्तो खोप लगाउने भनेर चिकित्सकसँग सल्लाह लिनुपर्छ।
-कलेजो, मुटु, डाइबेटिज, किड्नीलगायत समस्या भएकाहरू अनि चुरोट खानेहरू खतरामा हुन्छन्। उनीहरूलाई पनि जाडोमा अरू बेलामा पनि अफ्ठ्यारो पर्थ्यो। त्यसमाथि कोरोना संक्रमण भयो भने थप समस्या हुनसक्छ। त्यसैले सचेत रहन जरूरी छ।
-प्रदुषणका कारणले पनि कोभिड-१९ को संक्रमणमा असर परेको छ। कोभिड संक्रमण भएकालाई प्रदुषणले असर गरिरहेको छ। यी दुईको सिधा सम्बन्ध नभए पनि कोभिड लागेका व्यक्तिलाई प्रदुषणले सिकिस्त बनाउन सक्छ।
- एउटा व्यक्तिले पनि यो महामारीमा योगदान गर्न सक्छ। धेरैलाई कोभिड पचिसकेको जस्तो लागिरहेको छ। कोरोना यस्तै हो भनेर यसै नछोडौं। भ्याक्सिन पनि आउन लागेको छ। त्यसैले सचेत बनौं। लक्षण देखिए परीक्षण गरौं। ठूलो भीडमा नजाऔं।