वर्षौदेखि एक्सरे गर्नका लागि डोल्पाको सदरमुकाम दुनै वा जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य भएको छ।
गाउँपालिकाको आफ्नै लगानीमा एक्सरे र ल्याव सेवा सुरू भएपछि वर्षौदेखिका दुःख हटेका हुन्।
९ वडा रहेको मुड्केचुलामा बीचभागमा पर्ने राजिकम्दस्थित स्वास्थ्य संस्थामा स्वास्थ्य सहायक र सिनियर अहेवकै भरमा दिनरात स्वास्थ्य सेवा प्रवाह भएपछि सर्वसाधारण खुशी भएका छन्।
गाउँपालिकाले स्वास्थ्यकर्मीलाई आफ्नै लगानीमा तालिम तथा अन्य उपकरण उपलब्ध गराएपछि दैनिक गर्भ जाँचदेखि अन्य सेवा प्रभावकारी देखिएको स्थानीयवासी जगबहादुर सिंहले बताए।
गाउँपालिकाले भर्खरै मात्र पाँच शैयाको अस्पताल निर्माण कार्य सुरू गरेको छ। रुकुम, जुम्ला, जाजरकोट र डोल्पाको सिमानामा जोडिएको मुड्केचुला गाउँपालिकाको ९ वटा वडामा अन्य सेवा विस्तार गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।
गाउँमै स्वास्थ्य सेवा प्रभावकारी भएपछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। सुरक्षित रुपमा सुत्केरी गराउने दरसमेत बढेको छ।
गाउँपालिकाको तर्फबाट स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई कुखुरा, शुद्ध पानी पिउने फिल्टर र पोसिलो खानेकुरा उपलब्ध गराइएको अध्यक्ष शाहीले बताए।
फोन सेवा भरपर्दो नभएको मुड्केचुलामा गाउँमा बिरामी हुँदा वा महिलालाई परेको समस्या समाधान गर्न स्वयंसेविकालाई परिचालन गरिएको छ।
(रासस)