कान्तिपुर डेन्टल कलेज टिचिङ एण्ड रिसर्च सेन्टरले सिएडी-सिएएम (कम्प्युटर एडेड डिजाइन तथा कम्पियूटर एडेड म्यानुफ्याक्चरिङ) प्रविधि भित्राएको छ।
बुधबार १३ औं वार्षिकोत्सव मनाउँदै आफूले नयाँ भित्राएको जानकारी उसले दिएको हो।
प्रविधिको प्रयोगले यसअघि कृतिम दाँत बनाउने काम (क्राउन ब्रिज)लाई सजिलो बनाउनेछ। यसअघि कृतिम दाँत राख्दा राख्नुपर्ने दाँतको नाप लिन झन्झटिलो एल्जिनेट इम्प्रेसन प्रयोग गरिन्थ्यो।
अब यी सबै काम कम्प्युटरको सहायतामा स्क्यानरले गरिनेछ जसका कारण २-३ घण्टामा नै कृतिम दाँत लगाउन सकिनेछ। यसअघि साता दिनसम्मको समय लाग्ने गर्थ्यो।
यो प्रविधि नेपालका केही अस्पतालमा उपलब्ध भएपनि कलेजमा भने पहिलोपटक ल्याइएको अस्पतालका प्रमुख डा. बुद्धिमान श्रेष्ठले बताए।
आफूहरूले ल्याएको प्रविधि सजिलो र विरामीका लागि झन्झटरहित भएको उनको भनाइ छ।
त्यसैगरी अस्पतालले 'ओरल एण्ड म्याक्सिलोफेसियल ट्रमा सेन्टर'बाट विरामीहरूलाई सेवा दिदैं आएको छ।
सेन्टरले सडक दुर्घटना, लडेर हुने दुर्घटना, खेलकुद दुर्घटना, घरेलु हिंसा तथा खुँडेपनको अत्याधुनिक उपचार गर्नेगर्छ।