विश्व स्वास्थ्य संगठनले विश्वले भोगिरहेको मुख्य १० स्वास्थ्य समस्याभित्र एन्टिमाइक्रोवियल रेसिस्टेन्सलाई पनि राखेको छ।
ब्याक्टेरिया, भाइरस फङ्गी र पारासाइटजस्ता सूक्ष्म जीवाणुलाई नाश गर्ने वा वृद्धिलाई रोक्ने औषधीलाई एन्टिमाइक्रोवियल भनिन्छ।
एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल र एन्टिपारासाइटिक औषधी एन्टिमाइक्रोवियलभित्र पर्छन्। एन्टिभाइरल, एन्टिफङ्गल र एन्टिपारासाइटिक औषधीलाई क्रमशः ब्याक्टेरिया, भाइरस, फङ्गी र पारासाइटको लागि प्रयोग गरिन्छ। एन्टिमाइक्रोवियलले ब्याक्टेरिया, भाइरस, फङ्गी र पारासाइटलाई नाश गर्न वा वृद्धिलाई रोक्न नसकेको अवस्थालाई एन्टिमाइक्रोवियल रेसिस्टेन्स भनिन्छ।
अर्थात् एन्टिमाइक्रोवियल रेसिस्टेन्स त्यस्तो अवस्था हो, जुन अवस्थामा सूक्ष्म जीवाणुहरूले आफूलाई मार्ने औषधी पचाएका हुन्छन्। अहिले धेरैको ध्यान एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाले तानेको छ।
मानिस र ब्याक्टेरियाबीच अदृश्य युद्ध चलिरहेको छ र ब्याक्टेरियाले युद्ध जित्लाजस्तो देखिन्छ। हतियारको रुपमा मानिसले एन्टिबायोटिकलाई प्रयोग गरेको छ। तर, ब्याक्टेरिया बलिया बन्दै जाँदा एन्टिबायोटिकहरू काम नलाग्ने हुन थालेका छन्। एन्टिबायोटिक प्रभावहिन हुन थालेपछि विश्वले ब्याक्टेरियाबाट चुनौती महसुस गरेको छ।
एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको संक्रमण बढी गम्भीर खालको हुन्छ। त्यसले गर्दा अस्पतालमा लामो समय बस्नुपर्ने हुँदा खर्च बढी हुन्छ। साथै, त्यस्ता प्रतिरोधी ब्याक्टेरियाको लागि उपलब्ध केही सीमित एन्टिबायोटिकको मूल्य पनि महङ्गो हुन्छ। कुनै अवस्थामा त उपलब्ध सबै एन्टिबायोटिक निष्प्रभावी पनि हुन सक्छन्।
डाक्टरको लापरबाहीले गर्दा बिरामीको ज्यान गयो भन्ने समाचारहरू आइरहँदा कतै ती बिरामीको मृत्यु बहुएन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको संक्रमणबाट पो भएको हो कि? अब ध्यान दिन जरुरी छ।
विश्व बैंकका अनुसार प्रतिरोधी जीवाणुबाट हुने संक्रमणको उपचारले गर्दा सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू गरिबीको रेखामुनि धकेलिन बाध्य हुनेछन्। र, सबैभन्दा बढी प्रभाव नेपालजस्ता कम आय भएका मुलुकमा पर्ने छ।
विश्व बैंककै अर्को रिपोर्ट अनुसार एन्टिमाइक्रोबियल रेसिस्टेन्सले गर्दा विश्वमा २००८ को भन्दा खराब वित्तीय संकट आउन सक्छ।
ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास हुनु प्राकृतिक कुरा हो। क्रमिक विकासको सिद्धान्तबाट हेर्दा ब्याक्टेरियाले त्यस्तो क्षमता विकास गर्नु स्वाभाविक र ब्याक्टेरियाको लागि अपरिहार्य पनि छ। तर, एन्टिबायोटिकको दुरुपयोगले गर्दा प्रतिरोधी क्षमता विकास हुने गतिलाई तीब्र बनाएको छ।
एन्टिबायोटिक निष्प्रभावी हुँदै जाँदा पहिले सजिलैसँग निको हुने रोगहरू जस्तै: निमोनिया, क्षयरोग आदिलाई निको पार्न गाह्रो हुन थालेको छ। उदाहरणको लागि यदि बहुऔषधी प्रतिरोधी ब्याक्टेरियाले क्षयरोग गरेको छ भने २४ महिनासम्म औषधी खानुपर्ने हुन सक्छ।
तर, सामन्य किसिमको ब्याक्टेरियाले हो भने ६-९ महिनामा नै निको हुन्छ। त्यस्तै, एन्टिबायोटिकको सुरक्षामा गर्नुपर्ने सर्जरी तथा अन्य चिकित्सकीय कार्य पनि बढी जोखिममा परेका छन्।
एक वर्षअघिसम्म थाहा नभएको कोभिड-१९ को लागि विश्वभरका अनुसन्धानकर्ताहरूले ५५० भन्दा बढी नवीन उपचार र खोप विकास गरिराखेका छन्।
खोप प्रयोगको लागि अनुमति पनि पाउन थालेका छन्। र, केही समयपछि ५०-६० वटा खोप बजारमा उपलब्ध हुँदैछन्। तर, वर्षौंदेखि रहिआएका र झनै बढिरहेका एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको लागि हाल जम्मा ५० वटा एन्टिबायोटिकहरू क्लिनिकल पाइपलाइनमा छन्। तर, तीमध्ये जम्मा दुई वटा मात्र बहुऔषधी प्रतिरोधी ब्याक्टेरियाको लागि प्रभावकारी छन्।
र, धेरैजसो नयाँ एन्टिबायोटिक ‘पुरानै क्लास’का एन्टिबायोटिकलाई नै परिमार्जन गरी बनाएको हुनाले ब्याक्टेरियाले चाँडै नै प्रतिरोधी क्षमता विकास गर्ने निश्चित नै छ।
एउटा नयाँ एन्टिबायोटिक बजारमा आइपुग्न १०-१५ वर्ष लाग्छ। तर, ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास हुने गति भने त्यो भन्दा तीव्र छ।
सन् १९८७ मा पत्ता लागेको ड्याप्टोमाइसिन भन्ने एन्टिबायोटिकले २००३ मा औषधी नियामक संस्थाबाट स्वीकृति पाएपछि त्यस्तै अर्को ‘पूर्ण रुपमा नयाँ क्लास’ को एन्टिबायोटिकले स्वीकृति पाउन सकेको छैन।
यस क्षेत्रका विज्ञहरूले एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई महामारीकै संज्ञा दिन थालेका छन्। अहिलेको आँकडा हेर्दा वर्सेनि सात लाख जनाको ज्यान औषधी प्रतिरोधी जीवाणुको संक्रमणबाट गएको छ।
तर, विश्वमा औषधी प्रतिरोधी जीवाणुहरूलाई अहिलेकै डरलाग्दो तरिकाले बढ्न दिने हो भने सन् २०५० मा क्यान्सर र डाएबिटिजबाट भन्दा बढी अर्थात् एक करोड मानिसको ज्यान औषधी प्रतिरोधी जीवाणुको संक्रमणबाट जाने विभिन्न अध्ययनले देखाएको छ।
तीब्र रुपमा एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया बढ्नुमा अनुपयुक्त र अनावश्यक रुपमा एन्टिबायोटिकको प्रयोग हुनुलाई मुख्य कारण मानिएको छ। अहिलेको कोभिड-१९ महामारीले पनि एन्टिबायोटिकको दुरुपयोगलाई बढाएको छ।
एउटा अध्ययन अनुसार हस्पिटल भर्ना भएका दुई हजार बिरामीमध्ये ७५ प्रतिशतले एन्टिबायोटिक लिएका थिए। तर, ब्याक्टेरियाको संक्रमणको कारणले एन्टिबायोटिक लिनैपर्ने बिरामी भने जम्मा ८ प्रतिशत मात्र थिए।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार अमेरिकामा महामारी नभएको सामान्य अवस्थामा पनि ५० प्रतिशत एन्टिबायोटिक त अनावश्यक रुपमा प्रेस्कृप्सन गरिने रहेछ।
भारतको दिल्लीमा गरिएको एक अध्ययनमा जीवनजलले नै ठिक हुने झाडापखालाका ७० प्रतिशत बिरामीलाई एन्टिबायोटिक दिइएको पाइयो।
आधारभूत ज्ञानको कमीले पनि एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया विकास हुनलाई सहयोग गरेको छ। उदाहरणको लागि सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले १२ देशमा गरेको सर्वेक्षणमा ६४ प्रतिशत मानिसहरूले एन्टिबायोटिकले भाइरसको संक्रमणजस्तै मौसमी फ्लू र सामान्य रुघाखोकीको लागि पनि काम गर्छ भनेका थिए।
जबकि, एन्टिबायोटिकलाई ब्याक्टेरियाको संक्रमणको लागि प्रयोग गरिन्छ र यसले भाइरसको लागि कुनै काम गर्दैन।
घरायसी प्रयोजनको लागि उत्पादन हुने सामानहरू जस्तै: साबुन, डिटर्जेन्टलाई ‘एन्टिब्याक्टेरियल’ बनाउँदा पनि प्रतिरोधी क्षमता बढाउनलाई सहयोग गरेको छ।
आजकल बिरामी हुँदा अस्पताल जानुको सट्टा गुगलमा खोजेर एन्टिबायोटिक प्रयोग गरेर पनि दुरूपयोग बढेको छ।
बिरामीले एन्टिबायोटिकको पूरा मात्रा सेवन नगर्दा पनि एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया विकास हुने सम्भावना बढ्छ। पैसाको अभावले गर्दा पनि सन्चो भएजस्तो लागेपछि जति दिन एन्टिबायोटिक खानुपर्ने हो, त्यति दिन नखाई बीचमै छोडिदिन्छन्।
हाम्रोजस्तो बिरामी र डाक्टरको अनुपात बढी भएको देशमा एन्टिबायोटिकको सही प्रयोगबारे बिरामी र बिरामीको आफन्तलाई बुझाउन प्रयाप्त समय पनि हुँदैन।
यसैगरी, सरसफाइ र स्वच्छ खानेपानीको अभावले गर्दा नेपालजस्ता गरिब देशहरूमा संक्रामक रोगहरू बढी छन्।
संक्रामक रोग बढी भएपछि एन्टिबायोटिकको प्रयोग पनि बढी हुन्छ। एन्टिबायोटिकको प्रयोग बढी भएपछि प्रतिरोधी ब्याक्टेरियाको विकास पनि चाँडै हुन्छ।
नेपालको धेरै ठाउँमा रोग निदान गर्ने संयन्त्र नै छैनन्। औषधी विक्रेताले अनुमानकै भरमा एन्टिबायोटिक दिन्छन्। मुख्य सहरका केही अस्पतालले रोग निदान गरे पनि एन्टिबायोटिकको प्रभावकारिता जाँच नगरिकनै एन्टिबायोटिक सिफारिस गर्ने चलन छ।
सम्भव भएसम्म रोगको सही पहिचान र त्यो रोगको लागि कुन एन्टिबायोटिक बढी प्रभावकारी हुन्छ भनेर एन्टिबायोटिकको प्रभावकारिता जाँच गरेर मात्र एन्टिबायोटिक सिफारिस गर्नुपर्छ। तर, यस्तो गर्ने अस्पताल एकदमै कम छन्।
सबै अस्पतालहरूमा एन्टिमाइक्रोबियल रेसिस्टेन्ससम्बन्धी ज्ञान भएका माइक्रोबायोलोजिस्टहरूलाई नियुक्त गरी एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको निगरानी बढाउन अब ढिलाइ गर्न हुँदैन।
पशुपंक्षीमा अनियन्त्रित रुपमा हुने गरेको एन्टिबायोटिकको प्रयोगले पनि एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया विकास हुनको लागि टेवा दिएको छ।
युरोपियन युनियन तथा पश्चिमा मुलुकले पशुपालनमा तौल तथा उत्पादन वृद्धिका लागि भनी प्रयोग गरिने एन्टिबायोटिकको प्रयोगलाई कानुनी रुपमा निषेध गर्न सुरू गरेका छन्।
त्यस्तै, बिरामीको उपचारको लागि अन्तिम अवस्थामा मात्र प्रयोग गरिने कोलिस्टिन एन्टिबायोटिकको विरुद्धमा प्रतिरोधी क्षमता विकास गरेका ब्याक्टेरिया तीव्र रूपमा फैलिन थालेपछि छिमेकी देश भारत र चीनले पनि पशुपंक्षीमा कोलिस्टिनको प्रयोगलाई प्रतिबन्ध लगाएका छन्। नेपालमा पनि कोलिस्टिन प्रतिरोधी ब्याक्टेरिया देखिन थालिसकेकोले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ।
ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास हुनु प्राकृतिक कुरा भएकोले यसलाई हामीले रोक्न भने सक्दैनौं।
तर, एन्टिबायोटिकको विवेकसंगत प्रयोग गर्ने हो भने एन्टिबायोटिकले काम गर्ने समय केही बढाउन भने सक्छौं। साथै, संक्रामक रोग नियन्त्रणका उपायहरू कडाइको साथ पालना गर्ने गराउने गर्नुपर्छ।
यसैगरी, अस्पतालहरूले जतिसक्दो चाँडै प्रतिरोधी ब्याक्टेरिया पहिचान गरी थप फैलिनबाट रोक्नको लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्छ।
वैज्ञानिक अनुसन्धानमा पनि लगानी बढाउनुपर्छ। अस्पतालहरूले अब चाँडै नै एन्टिबायोटिकको समुचित प्रयोग गर्ने प्रणाली विकास गर्नुपर्छ।
ब्याक्टेरिया, एन्टिबायोटिक, र एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको बारेमा विद्यालयको पाठ्यपुस्तकमा राखेर पनि एन्टिबायोटिकको अनावश्यक प्रयोगमा कमी ल्याउन सकिन्छ।
(लेखक नेपलिज फार्मिङ इन्स्टिच्युटका रिसर्च अफिसर हुन्।)