चितवन मेडिकल कलेजले नेपालमै पहिलो पटक स्पेक्ट/सिटी(एसपिइसिटी-सिटी) उपकरणसहितको न्यूक्लियर मेडिसिन सेवा सुरू गरेको छ।
अत्याधुनिक उपकरण स्पेक्ट/सिटी का साथै न्यूक्लियर मेडिसिनको रेडियोधर्मी औषधी बनाउने ल्याब र दक्ष जनशक्तिको साथमा यो सेवा सुरू गरिएको अस्पतालका प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले बताए।
यो सेवा सुरू भएसँगै अब यस अस्पतालमा मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गौला, कलेजो, हड्डीको उपचार उच्च प्रविधिबाट हुने न्यौपानेले बताए।
‘यो प्रविधिबाट उपचार नेपालमामात्रै नभएर एसियामै सुरू भएको छैन, भारतमा पनि अब सुरू हुने चरणमा छ,’ डा.न्यौपानेले भने, ‘हामी काठमाडौंमा उपचार हुन नसकेका बिरामीलाई पनि उपचार गर्न सक्ने भएका छौं।’
न्यूक्लियर मेडिसिन विभागका डाक्टर जीवन पौडेलकाअनुसार यो प्रविधिको प्रयोगले जटिल प्रकृतिका बिरामीको उपचार पनि सहजरुपमा सफल पार्न सकिन्छ।
‘हामीले अहिलेसम्म एनजिओप्लास्टिकबाट मुटुको शल्यकृया गर्दै आएकोमा अब नयाँ प्रविधिको प्रयोग गरी उपचार गर्दैछौं,’ उनले भने, ‘यसले उपचारमा हुनसक्ने जोखिमलाई घटाउने छ।’
यस अस्पतालले अहिलेसम्म एक हजार भन्दा बढी बिरामीको एनजिओप्लास्टिकबाट मुटुको शल्यक्रिया गरिसकेको जनाएको छ।
काठमाडौंको गंगालाल हृदयरोग उपचार केन्द्र पछि सबै भन्दा बढी मुटुका बिरामीको उपचार यही हुने गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. न्यौपानेले बताए।
न्यूक्लियर मेडिसिन विभागका डाक्टर अरुण गुप्ताकाअनुसार रेडियोधर्मी औषधी बिरामीको नशामा दिएपछि त्यसबाट निस्कने गामा विकिरणलाई स्पेक्ट-सिटीको माध्यमबाट परीक्षण गरी शरीरका विभिन्न अंगको बारेमा जानकारी लिन सकिन्छ।
यसअघि यस्तो परीक्षणका लागि एमआरआई नै सबैभन्दा स्तरीय प्रविधि थियो।
यो प्रविधिको प्रयोगले थाइराइडका गलगाडको बिना शल्यक्रिया सफल उपचार गर्न सम्भव हुने डा.पौडेलले बताए।
यस उपचारका लागि आवश्यक पर्ने औषधीहरू विदेशबाट आयात गरिने उनले बताए। उक्त अस्पतालले थाइराइडको क्यान्सरलगायत जुनसुकै समस्याको उपचार गर्नसक्ने गरी थाइराइड क्लिनिक सञ्चालन गर्न लागेको उनले बताए।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले १४ करोड रुपैयाँ लगानीमा न्यूक्लियर मेडिसिन सेवा सुरू गरिएको जानकारी दिए।
‘अमेरिका, बेलायत, क्यानडाजस्ता देशहरूमा पनि सबै अस्पतालहरूमा यो सेवा पाइँदोरहेनछ। हामीले नेपालका बिरामीलाई उपचारका लागि अन्यत्र जानु नपरोस् भनेर यहीँ यो सेवा सुरू गरेका छौं,’ उनले भने, ‘हामी यसको पढाइ पनि यही कलेजमा सुरू गर्ने तयारी गर्दैछौं।’
यो सेवा लिनका लागि ७ हजार ५ सय देखि २४ हजार रुपैयाँसम्म खर्च लाग्ने देवकोटाले बताए। यस अस्पतालमा वार्षिकरुपमा करिब चार लाख जनाले ओपिडी सेवा लिने गरेका छन्।
न्यूक्लियर मेडिसिन सेवा दैनिक १५ जनासम्मलाई दिन सकिने उनले बताए।