पछिल्लो समय कोरोना भाइरस संक्रमणको लक्षण देखिए पनि परीक्षण नगर्नेको संख्या बढेको छ। यसले गर्दा व्यक्ति स्वयंलाई, परिवारका सदस्य अनि सिंगो समाजलाई असर पार्न सक्छ।
कतिपय अवस्थामा बिरामी सिकिस्तै भएपछि मात्रै अस्पताल पुग्दा उपचारमा समेत कठिन हुन्छ। कोरोना भाइरसका बिरामी घटेको देखिए पनि त्यो यथार्थ नभएको सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाको भनाइ छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सल्टेन्ट समेत रहेका डाक्टर बास्तोला परीक्षण पर्याप्त नहुँदा यस्तो देखिएको बताउँछन्।
यिनै विषयमा केन्द्रित रहेर डाक्टर बास्तोलासँग हामीले भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अंश यसप्रकार छन्ः
- मानिसहरूले यसलाई सहज रूपमा लिएका छन्। कोरोना संक्रमण सामान्य हो, यसले केही गर्दैन भन्ने सोच आएको छ। यो गलत हो।
- कोरोना परीक्षणका लागि लाग्ने रकमले गर्दा पनि सामान्य रुघाखोकी हो भनेर परीक्षणमा नआएको हुन सक्छ। निःशुल्क परीक्षण र उपचार हुने अस्पतालका बारेमा समेत उनीहरूलाई थाहा नभएर यस्तो भएको हुन्छ।
- कोराना लागेपछि समाजबाट अपहेलनामा परिन्छ भन्ने सोच अझै विद्यमान छ। १४ दिन बस्दा के भन्ने हुन् भन्ने सोचले नआएका हुन सक्छन्।
- लक्षण देखिएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गतिलोसँग हुन छाडेको छ।
- लक्षण देखिएर पनि परीक्षण नगर्दा उसले परिवारका सदस्य, साथीभाइ अनि काम गर्ने ठाउँमा समेत संक्रमण सार्ने डर हुन्छ।
- पिसिआरको रिपोर्ट भएन भने उपचारमा ढिलो हुन्छ। लक्षण देखिएर पनि उपचार नगराउने भइरहेको छ।विशेषगरी निम्न वर्गका मान्छेले परीक्षणका लागि खर्च धान्न सकेका छैनन्। सरकारी अस्पतालमा यसको निःशुल्क उपचार हुन्छ भन्ने समेत थाहा पाएका छैनन्।
- सामान्य लक्षण भएका बिरामी अस्पताल आउन छाडेका छन्। गम्भीर बिरामी मात्रै आएका छन्। आइसियुमा बिरामीहरू छन्। अहिले पनि आइसियुका बेड भरिएका छन्।
- कोरोना समुदायमा फैलिएको छ। ८० प्रतिशत हर्ड इम्युमिनिटी नभइ यो रोग मत्थर हुँदैन। अहिले पनि युवाहरू सिकिस्त भएर आएका छन्। जोखिम अझै कायमै छ भनेर बुझ्न जरुरी छ।
- लक्षण देखिएको ८-१० दिनमा बिरामी आउँदा रिपोर्ट नहुने अनि परीक्षण गर्दा नेगेटिभ देखिने भएको छ।एन्टिबडी परीक्षण गरेर लक्षणका आधारमा उपचार गर्नुपर्ने अवस्था छ।
- कोरोनाका कारण विभिन्न असर हुन्छ। यसले मुख्यगरी निमोनिया गराउँछ। निमोनिया भइसकेको अवस्थामा बिरामीको र्याल परीक्षण गर्दा उसको परीक्षण नेगेटिभ आउँछ। त्यस्तो बेलामा उसलाई कोभिड अस्पताल या नन कोभिड अस्पतालमा उपचार गराउने भनेर दुबिधा हुन सक्छ। त्यसैले लक्षण देखिएका व्यक्तिले समयमै परीक्षण गराएमा सहजै उपचार पाउने अवस्था रहन्छ।
प्रस्तुतिः सन्जिब बगाले