अब नेपालमै ‘पेडियाट्रीक इम्युनोलोजी र र्युमाटोलोजी’ उपचार!
विज्ञ चिकित्सकको अभावमा नेपालमा हालसम्म रोगक्षमता शक्तिको कमी, गडबडी, असन्तुलन तथा बच्चामा हुने बाथ र बाथजन्य रोगको उपचार भइरहेको थिएन।
सही निदान र उपचार नपाएमा यस्ता रोगले अपांग बनाउने मात्र होइन ज्यान नै लिनसक्छ।
यस्तो रोगको बारेमा शंका लागेमा पनि विदेशमा गएर उपचार गराउनुपर्ने बाध्यता थियो।
तर अब यसको उपचार नेपालमै सम्भव हुने देखिएको छ। हालै नेपालका एक बालरोग विशेषज्ञ डा. धर्मागत भट्टराईले यीनै रोगसम्बन्धि ‘पेडियाट्रीक इम्युनोलोजी र र्युमाटोलोजी’ विषयमा विज्ञता हाँशिल गरेर फर्किएका छन्।
दक्षिण एसियामा ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एवम् र्युम्याटोलोजी अर्थात् ‘रोग प्रधिरोग विज्ञान एवम् बाल बाथजन्य रोग विज्ञान’ मा डाक्टर अफ मेडिसिन अध्यापन हुने एकमात्र संस्था ‘पीजीआई चण्डीगढ’मा बालरोग विशेषज्ञ डा. धर्मागत भट्टराईले यो विषयमा विज्ञता हासिल गरेका हुन्।
नेपालमा ‘पेडीयाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजी’ विषयमा डी. एम. (DOCTORATE OF MEDICINE) हासिल गर्ने उनी पहिलो विशेषज्ञ डाक्टर हुन्। यो सँगै यस्ता रोगको निदान र उपचार नेपालमै हुने बाटो खुलेको छ।
पछिल्ला तीन दशकमा युरोप र अमेरिकाजस्ता देशमा फस्टाएको यो नविनतम् चिकित्सा विज्ञान दक्षिण एसियामै सुरुवाती अवस्थामा छ।
हालसम्म दक्षिण एसियामा यो विषयको विशेष विज्ञता ‘डी.एम.’ अध्यापन भारतको उच्चतम चिकित्सा संस्थान ‘पि.जि.आई.’ चण्डीगढमा मात्र हुँदै आएको छ।
चितवनबाट प्रारम्भिक अध्ययन सकेका भट्टराईले छात्रवृत्तिमा कलकत्ता विश्वविद्यालयबाट एम.बि.बि.एस. र भारतकै ‘पि.जि.आई.’ चण्डीगढबाट ‘पेडियाट्रीक्स्’ मा एम.डी. र ‘पेडियाट्रीक इम्युनोलोजी एवं र्यूमाटोलोजी’मा डी.एम. डिग्री हासिल गरेका हुन्।
‘क्लिनिकल इम्युनोलोजी’ अर्थात् रोग-प्रतिरोधशक्ति विज्ञान शरीरमा रोग-क्षमता शक्ति कोष र प्रक्रियाको विकास र सन्तुलन, अनि तिनमा जन्मजात (बंशानुगत) या जन्मपश्चात् हुने गडबडी, कमी र असन्तुलनले हुने सबै रोगको विज्ञान हो।
यसमा इम्युनशक्तिको कमीका रोगी, एलर्जी, हाइपरसेन्सीटिभिटी, इम्युन-असन्तुलन, लिम्फसम्बन्धि अंगका रोग, बाल-वृद्धिका गडबडी, एच.आई.भी./एड्स्, खोप, खोप-विकास, स्टेम-सेल/ बोन-म्यारो ट्रान्सप्लान्टेसन आदि पर्छन्।
इम्युन-शक्तिको कमिले बालबालिकामा बारम्बार बिभिन्न अङ्गको संक्रमण भइरहने, गाँठागुँठी देखिने, अंगको अनावश्यक आकार बढ्ने, बारम्बार पिला-खटिरा, निमोनिया, पखाला, सघन बिमारी भइरहने, उमेर अनुरुपको वृद्धि नहुने, आन्तरिक अंगमा पिप जम्ने, लामो समय कुनै लक्षण प्रस्ट कारणबिना रहिरहने हुन्छ।
सामान्यदेखि बोन-म्यारो ट्रान्सप्लान्टेसनसम्मका उपचार सम्भव भएका यी रोग जानकारी र चेतना अभावले कति निदान नै भएका छैनन् भने कति निदानका निम्ति नै विदेश जान बाध्य छन्।
अब विज्ञ चिकित्सक आएसँगै नेपालमै यसको निदान र उपचार सम्भव हुने आशा गर्न सकिन्छ।
त्यस्तै पेडियाट्रीक र्युमाटोलोजी अर्थात् ‘बाल-बाथजन्य विज्ञान’, जोर्नीका रोग, भास्कुलाईटिस, कनेक्टिभ तन्तुको रोग, अटो-इम्युन रोग इत्यादिको विधा हो।
बयस्कका बाथ विज्ञ नेपालमा भए पनि बाल-बाथजन्य रोगविज्ञको अभावमा यी रोगका बिरामी पर्याप्त रूपमा निदान, उपचार र फलो-अप हुन पाएका छैनन्। बच्चाकै र्युमाटोलोजीष्टको सुविधाले यी बिरामी अब त्यो सुविधाबाट बन्चित हुनुपर्ने छैन।
यी रोगमा जोर्नी, छाला, मांशपेशी, रक्तनली, लिम्फ ग्रन्थी, इत्यादिमा सुजन हुने, दुख्ने, सुन्निने, काममा गडबडी आउने, मुख, छाला र म्युकस अंगमा घाउ हुने सुन्निने, बदलाव आउने, लामो समय ज्वरो आइरहने, मुटु, मृगौलाजस्ता अङ्गमा गम्भीर असर पने जस्ता थुप्रै निदान गर्न गाह्रो, सघन तथा दिर्घ-रोग पर्छन्।
अहिलेसम्म यी र्युमाटोलोजिकल बिमारीका अधिकांश औषधि उपलब्ध गर्न सकिने खालका भए पनि निदान नै नहुनाले बिरामीहरू सही उपचार र फलोअपबाट बन्चित हुनुपरेको अवस्था छ।
इम्युन तथा बाथजन्य रोगहरू सघनदेखि दीर्घरोग अनि बहुआंगिक र बहुप्रणालीगत असर गर्ने खालका हुन्छन्। यो विधाको कुनै निर्दिष्ट अंग नभएकाले नै यी बिमारीको निदान चुनौतिपूर्ण हुन्छ। समयमै निदान भएमा चाँही उपचारसँगै यी बिरामी सन्चो या पूर्ण नियन्त्रणमा रहन्छन्।
इम्युनोलोजीसम्बन्धी बिरामीको नेपालमा जानकारी अत्यन्त न्युन छ। विज्ञ भएसँगै उच्च अध्ययन संस्थानमै यी विषयलाई महत्व दिने, वैज्ञानिक पूर्वाधारहरू उपलब्ध गर्ने तथा जनचेतना जगाउने लगायतका चुनौती हाम्रासामू छन्।
‘विज्ञ र पूर्वाधारको अभावले गर्दा यसका बिरामी अहिलेसम्म उचित निर्क्यौलसहितको उपचार, फलोअप नपाउने, भौंतारीरहने, निदान नहुने या त्यसका लागि विदेश जानुपर्ने बाध्यता छ’, डाक्टर भट्टराईले भने, ‘यसै विषयका बिज्ञ हामीकहाँ हुँदा यी रोगका बिमारी लाभान्वित हुने त छँदैछ। संसारमा उदाउँदा यी विधाको नेपालमा पनि विकास गर्न बाटो खुल्ने आशा गर्न सकिन्छ।’